
बागलुङ, २७ जेठ ।
बागलुङ बजारमा जारी क्विक्स कप अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा धौलागिरी विरेन्द्र माध्यमिक विद्यालय विजयी भएको छ ।
सोमबार विहान भएको समुह चरणको खेलमा धौलागिरी विरेन्द्र माविले न्यू एभरेष्ट एकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
धौलागिरीको लागि अंकित थापाले खेलको ३४ औं मिनेटमा पेनाल्टीबाट गरेको गोल नै जितको लागि निर्णय बन्यो । न्यू एभरेष्टका संगम विकले डिबक्स एरिया भित्र ह्यान्ड गरेपछि धौलागिरीले पेनाल्टी प्राप्त गरेको थियो ।
प्रतियोगितामा आज (सोमबार) नै अमृत आदर्श बोर्डिङ विरुद्ध गणेश मावि बलेवा, त्रिभुवन मावि बलेवा विरुद्ध आदर्श विद्यामन्दिर मावि, रेश नुन्थला मावि विरुद्ध अमर मावि विहुँ र गरिमा आवासिय मावि विरुद्ध रुद्रेपिपल मावि विच खेल हुने प्रतियोगिता प्रचारप्रसार उपसमिति संयोजक सुर्य लामिछानेले जानकारी दिए ।
अखिल नेपाल फुटबल संघ एन्फाको बार्षिक क्यालेन्डर अन्तरगत भएको प्रतियोगितामा छात्र तर्फ २५ विद्यालयले सहभागिता जनाएका छन् । छात्र तर्फको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने । विजेता टिमले पोखरामा हुने गण्डकी प्रदेशस्तरीय क्विक्स कप फुटबल प्रतियोगितामा भाग लिने जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङले बताए ।
यस्तै चार ओटा विद्यालयले सहभागिता जनाएको छात्रा तर्फको खेलमा सिदार्थ शिक्षा सदन र न्यू एभरेष्ट एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल ३२ गते हुने जिल्ला फुटबल संघ बागलुङले जनाएको छ । छात्रा तर्फको विजेताले ५ हजार रुपैयाँ र उपविजेताले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।










