
बागलुङ, २६ जेठ
शनिबारदेखि सुरु भएको क्विस कप अन्तरस्कुल स्तरीय फुटबल प्रतियोगितामा अमर आदर्श आवासिय माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ ।
आईतबार बिहान भएको छात्र तर्फको पहिलो खेलमा अमर आदर्श आवासिय माविले युएस एकेडेमीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा अमर आदर्शको लागि एक मात्र गोल पहिलो हाफको २८ औं मिनेटमा आरोज सुनारले पेनाल्टीबाट गरेका थिए ।
युएस एकेडेमीका खेलाडीले डिबक्स भित्र फलगरेपछि अमर आदर्शले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै सुनारले टिमलाई विजयी गराए ।
प्रतियोगिता अन्तरगत आज (आईबार) दिउँसो १ बजे न्यू ओयसिस एकेडेमी विरुद्ध फ्युचर ब्राइटर बोर्डिङ स्कुल, २ः३० बजे चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल विरुद्ध धौलागिरी आवासिय मावि र ४ बजे अमृत आदर्श बोर्डिङ विरुद्ध गणेश माध्यमिक विद्यालय बलेवाका विच हुने प्रतियोगिताको प्रचारप्रसार उपसमिति संयोजक सुर्य लामिछानेले जानकारी दिए ।
अखिल नेपाल फुटबल संघ एन्फाको बार्षिक क्यालेन्डर अन्तरगत भएको प्रतियोगितामा छात्र तर्फ २५ विद्यालयले सहभागिता जनाएका छन् । छात्र तर्फको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने ।
यस्तै चार ओटा विद्यालयले सहभागिता जनाएको छात्रा तर्फको खेलमा सिदार्थ शिक्षा सदन र न्यू एभरेष्ट एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल ३२ गते हुने जिल्ला फुटबल संघ बागलुङले जनाएको छ । छात्रा तर्फको विजेताले ५ हजार रुपैयाँ र उपविजेताले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।










