क्विक्स कप इलाका छनौट फुटबलको उपाधि रत्नलक्ष्मी माविलाई

बागलुङ, २१ जेठ ।
गल्कोट नगरपालिका वडा नम्बर ११ रिघामा भएको क्विक्स कप अन्तरस्कुल स्तरीय इलाका छनोट फुटबल प्रतियोगिताको उपाधि रत्नलक्ष्मी माविले जितेको छ ।
जिल्ला फुटबल संघ बागलुङको आयोजना र रत्नलक्ष्मी मावि, धर्मापोखरी युवा क्लब र रिघा खेलकुद विकास समितिको सह–आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा मंगलबार रत्नलक्ष्मी मावि रिघाले नवप्रभात बोर्डिङ स्कुललाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगिताको विजेता रत्नलक्ष्मी माविले नगद १० हजार रुपैयाँ र २५ गतेदेखि जिल्ला सदरमुकाम बागलुङ बजारमा हुने क्विक्स कप अन्तरस्कुल स्तरीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छभने उपविजेता नवप्रभाव बोर्डिङ स्कुलले ५ हजार रुपैयाँ प्राप्त गरेको जिल्ला फुटबल संघ बागलुङका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई गल्कोट नगरपालिकाका उपप्रमुख रणु काउचाले पुरस्कार वितरण गर्नुभएको थियो ।
५ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा रत्नलक्ष्मी माविले त्रिभुवन नमुना माविलाई र नवप्रभाव बोर्डिङले न्यू लाईफ बोर्डिङ स्कुललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को बार्षिक क्यालेन्डर अन्तरगतको प्रतियोगिता विगतका वर्षहरुमा जिल्ला सदरमुकाममा मात्र हुने भएपनि यस वर्ष जिल्लाको पश्चिम भेगको लागि इलाका छनौट सुरु गरिएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।
जिल्लामा मात्र केन्द्रित रहँदा गाउँ–गाउँमा रहेका खेलाडीहरुको प्रतिभामाथि अन्याय गरेको अनुभुति भएकाले यस वर्षदेखि गल्कोट भेगको लागि इलाका छनौटका रुपमा स्कुलस्तरीय प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने आशा रहेको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here