इन्टरनेट र विद्युतको समस्याले सेवा प्रवाह छिटो हुन सकेन्

बागलुङको काठेखोला गाउँपालिका–४ तग्राम जनजाति समुदायको बाहुल्यता रहेको वडा हो । उक्त क्षेत्रलाई मगर संस्कृतिको धनी क्षेत्र पनि मानिन्छ । अधिकांश क्षेत्रमा सडक संजाल पुगेको तंग्राममा दुई वटा माध्यमिक विद्यालय पनि संचालनमा रहेका छन् । तुलनात्मक रुपमा बसाईँ सराई कमी रहेको तग्रामको विकास र निर्माणको काम कसरी अगाडी बढेको छ भन्ने बारेमा वडाध्यक्ष केशब थापासँग खबरवे अनलाईनको टिमले गरेको संक्षिप्त कुराकानी ।
दुई वर्षको कार्य अवधिलाई कसरी मूल्याङ्गकन गर्नु हुन्छ ?
– मैले दुई वर्षलाई मुल्यांकन गर्दा बास्तवमा काम गर्न सजिलो रहेन्छ । तंग्राममा झन्टै ४४ सय ३८ जनासंख्यामा ८०% मगर, १२% दलित र २% अन्य जातजाती भएको ठाउँ हो । विविधताले भरिपूर्ण ठाउँमा उनीहरुको अपेक्षाहरु धेरै हुँदा रहेछन् र बजेट कमी हुँदा अपेक्षा अनुसार काम गर्न सजिलो रहेन्छ । मलाई विश्वास गरेर र जुन अपेक्षाले मतदान गरेर जिताएर अध्यक्ष बनाए त्यो अपेक्षामा सन्तुष्ट पार्न सकिनकी भन्नेमा दुःख लागेको छ । मेरो २ वर्ष कार्यकाल जसरी पुरा हुनुपर्नेहो त्यो नभएपनि जनताहरुको अपेक्षा धेरै थोरै पुरा चित्त बुझाए जस्तो लाग्छ ।
आधारभूत जनताले महशुस हुने गरी तपाई आए पछि सुधार भएका कामलाई उल्लेख गर्दा के लिनु हुन्छ ?
– मैले आफ्नो योजनाहरु बनाउने बेलामा हरेक टोल र हरेक वस्ति बस्तिमा पुगेर योजना बनाएको छु । सबै जनताको सुःख दुःखमा सहयोग पुग्ने गरेर योजना बनाएको छु । मेरो २ वर्षको कार्यकालमा सडक सञ्जाल अफ्ठयारो रहेकोमा अहिले हरेक टोलटोलमा सजिलैसँग गाडी जान मिल्ने भएको छ । त्यस बाहेक शिक्षा, स्वास्थ्य, खानेपानीको व्यवस्थापन भएको छ । तंग्रामका विद्यालयहरुमा इन्टरनेट जडान गरिएको छ र सबै कक्षा कोठाहरु व्यवस्थापनसँग संचालन गरिएका छन् ।
विशेष गरी उपभोक्ता समिति गठन एक दलिय भयो भन्ने गुनासो छ ? विकासमा सहभागीताको महत्व हराउला नी ?
– मैले एक दलिय रुपमा उपभोक्ता समिति गठन गरेको छैन । हामीले जुन शिर्षकमा योजनाको उपभोक्ता समिति गठन गर्ने भनेर १५ दिने सूचना अग्रिम प्रकाशित गरिन्छ । सूचना प्रकाशित भएपछि इच्छुक साथीहरु भेलामा आउने गर्नुहुन्छ । भेलामा उपस्थित हुनुभएकाहरुबाट सबैलाई समेटेर उपभोक्ता समिति गठन गरिन्छ । आफ्नो २ वर्षे कार्यकालमा अहिलेसम्म आफ्नो पार्टीको कार्यकर्ता भनेर उपभोक्ता समितिमा राख्ने गरेको छैन र मेरो अझै ३ वर्षे कार्यकालमा पनि गर्नेछैन ।
सेवा प्रवाहलाई छिटो छरितो बनाउन के के पहल गर्नुभएको छ ?
– अहिले नयाँ संरचनामा र कर्मचारी संयोजनले गर्दा सचिवहरु छैनन् । मलाई पहिले सेवाग्राहिहरुले सचिवहरुबाट अफिसमा नबस्ने कमजोरी छ भन्नुभएको थियो । त्यो अन्त्य भएको थियो । अहिले काठेखोला गाउँपालिकामा इन्टरनेटबाट काम गर्ने र गराउने भन्ने निर्णय भएकाले काम सुरु गरेका थियौ । तर इन्टरनेटले समयमै काम नगर्ने गर्दा सेवाग्राहीहरुलाई मर्का पर्ने गरेको छ । हामीले सेवाग्राहीहरुलाई जतिसक्दो चाडो सेवा प्रवाह गर्नको लागी परिरहेका छौं । कर्मचारी नहुँदा पनि उक्त काम वडाअध्यक्षले गर्न नपाउने भएकाले जनताहरुलाई अहिले अल्लि दुःख भएको छ । तर मैले सेवाग्राहीहरुलाई अहिलेसम्म दुःख दिएको छैन । सेवाग्राहीहरुले फोनबाट सम्पर्क गर्दा उहाँहरु नै भएको ठाउँमा गएर पनि सेवा प्रवाह गरेको छु ।
तपाईले काम गर्दा भोग्नु परेको समस्याहरु कस्ता छन् ?
– अहिले इन्टरनेटबाट वडा कार्यालयले गरेका कामहरुको रिपोर्ट पठाउनुपर्ने भएकाले त्यो अहिले गाह्रो भएको छ । भनेको बेलामा इन्टरनेट नहुँदा धेरै दुःख भोग्नुपरेको छ । धेरै सिफारिस गर्नुपर्दा झमेला हुने गर्दछ । अहिले साना साना कुरामा पनि सिफारिस गर्नुपर्दा झमेलाको साथै धेरै गाह्रो भएको छ तर जनताको काम गर्न पाउँदा धेरै खुसी छु ।
जनताको गुनासोहरु कस्ता प्रकृतिका आउने गरेका छन् ?
– जनताहरुले जुनखालको अपेक्षा गर्दछन् सबै पुरा गर्न सकिदो रहेन्छ । सेवाग्राही आएको बेलामा कहिलेकाँही राम्रोसँग इन्टरनेट नआउने र बिद्युत नहुँने गर्दा सेवाग्राहीहरुलाई भनेको बेला र भनेको समयमा सेवा प्रवाह गर्न उहाँहरुले पहिले जस्तै हातले लेखेरै काम गर्दा राम्रो र चाडो हुने थियोकी भन्ने सुझाव आएका छन् ।
वडा भित्र सडक संजाल विस्तार र स्तरोन्तीको काम के कसरी भएको छ ?
– सडकको सबै योजनाका काम सकिएको छ । अहिले शसक्तिकरणको र सकरात्मक सोचको कार्यक्रम हुँदैछन् । निर्माणका कामहरु झन्डै सकिसकेको छ । यो वर्ष १ करोड १० लाख ७८ हजारको काम गरिरहेका छौं । पहिले ७७ लाख २८ हजारको काम गर्यो । अहिले पुरक बजेटबाट फापारखेत–धम्जाहुँदै म्याग्दी जोड्ने सडक २३ लाख ५० हजारको काम सुरुहुँदैछ । यस्तै १३ लाख पुरक बजेटबाट अहिले तंग्राममा सामुदायिक पाहुँना घर सुरु गरेका छौं, संसारघाटको लागि ७ लाखको योजना पुरक बजेटबाट परेकाले काम सुरु हुँदैछ ।
यस वर्षको बर्खामा पनि तंग्रामका सवै क्षेत्रमा सडक संचालन हुन्छन् ?
– तंग्रामको वडा कार्यालयबाट काठेखोला गाउँपालिकामा जाने २ ओटा खोला तर्नुपर्दछ । गत आर्थिक वर्षमा हिमपाइपको पुल बनाएका थियौं । उक्त पुल बर्खाको भेलले विगारेको थियो अहिले बर्खाको बेलामा पनि संचालन गर्नको लागि गाउँपालिकासँग सहकार्य भइरहेको छ । गाउँपालिकाको बैठकबाट बर्खामा पनि गाउँपालिका र वडा कार्यालयबीचको सडक संजाल संचालनको लागि निर्णय हुनेछ भन्ने आशा छ । तंग्राममा अहिलेको बर्खामा पनि सवारी आवात जावतमा गर्ने गरी काम हुनेछन् ।
आधारभूत जनताको जीवन परिवर्तन हुने कार्यक्रम के हुन त ?
– सवै जनता उद्यमशिल बन्नुपर्छ र व्यवसायीक बन्नुपर्छ भन्ने उद्देश्यले शसक्तिकरणको कार्यक्रमहरु संचालन गरेका छौं । तंग्रामका विपन्न र दलित परिवारहरुको आयस्रोत वृद्धिको लागि यस वर्ष २८ ओटा भेडा, बाख्रा वितरण गरेका छौं । अरु निम्न परिवारहरुलाई पनि उद्यमी बनाउनको लागि योजनाहरु बनाउँदै छौं ।
गाउँपालिकाको सहयोग कति पाउनुभएको छ ?
– गाउँपालिकाको सहयोग अहिलेसम्म धेरै राम्रो पनि छैन र धेरै नराम्रो पनि छैन । म प्रतिपक्ष भएको कारणले पनि होला । मैले जे सोचेको थिए त्यो अहिलेसम्म राम्रो पाएको छैन । हरेक काम गर्ने क्रममा अफ्ठयारो, टिकाटिप्पणी भएका छन् । सोचे अनुरुप सहयोग प्राप्त भएको छैन ।
जनताको दवाव र कर्मचारी प्रशासनको प्रक्रियालाई कसरी झेल्नुभएको छ ?
– स्थानिय तहमा १५ वर्षसम्म कर्मचारीहरुले एकलौटी शासन चलाएको र अहिले जनप्रतिनिधि आएपछि अफ्ठयारो परेको आफुले महशुस गरेको छौं । कर्मचारीहरुलाई अहिले अध्यक्षको अन्डरमा बसेर काम गर्दाखेरी अल्ली फरक मैले पाएको छु । जनताहरुलाई हिजो आफुहरुले चुनावमा भोट माग्दा गरेका बाचा पुरा नगर्दाखेरी र उनीहरुले भनेको बेलामा भनेअनुरुप काम गर्न नसक्दा दबाब आइनै हाल्छन् । तर पनि मैले जति सक्दो जनताहरुलाई चित्त बुझ्दो काम गरेको छु ।
विपक्षीको साथ र सहयोग आलोनात्मक छ की रचनात्मक ?
– तंग्राममा प्रतिपक्ष, विपक्षीहरुले काम गर्न अफ्ठ्यारो पार्नुभएको छैन । अहिलेसम्म राम्रै गर्नुभएको छ । उहाँहरुसँग सरसल्लाह गरेरै योजनहरु बनाउने र काम गर्ने काम भईरहेको छ । प्रतिपक्ष र विपक्षी पार्टीबाट रचनात्मक सहयोग प्राप्त भएको छ ।
हजुर धेरै बजारमा बस्ने र गाउँमा नबस्ने गर्दा जनतालाई सेवा पाउन गाह्रो हुने गरेको गुनासो सुनिन्छनी ।
– म पहिले पनि दैनिक रुपमा वडा कार्यालय आउने र जनताको काम गरिनै रहेको थिए । कार्यालय समयमा जनताको काम सम्पन्न भएपछि बजारमा जाने गरेको हो । म बजारमा हुँदा पनि जनताको सेवाको लागि मालपोत, प्रशासनमा अफ्ठयारो पर्दा आफै गएर सहयोग गर्ने र बजारबाटै पनि सिफारिस गर्ने गरेको थिए । पहिले बजारमा मेरो व्यवसाय भएको कारण पनि दैनिक बजार आउत जाउत थियो तर अहिले जनताको लागि आफुले व्यवसाय नै बेचेर गाउँमै बस्ने गरेको छु । पहिले पनि पहिलो प्राथमिकता जनतालाई दिएको नै थिए र आफुलाई दैनिक आवातजावतमा गाह्रो भएपछि व्यवसाय छोडेर जनताको सेवामा लागेको छु ।
अन्तमा हाम्रो धारणा सार्वजनिक गर्ने अवसरका लागि धेरै धेरै धन्यवाद ।

२०७६ जेठ २१ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here