कार्कीको राष्ट्रिय टिमबाट खेल्ने हुटहुटी

अर्जुन कार्की
बागलुङ, २० जेठ ।
नेपाल फुटबल संघ (एन्फा)ले एन्फा एकेडेमीको लागि छनौट गरेको अन्डर १३ (थटिन)मा परेका बागलुङका सरोज कार्कीले भविश्यमा राष्ट्रिय टिमबाट खेल्ने चाहना व्यक्त गरेका छन् ।
काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका १३ वर्षिय सरोज कार्की जिल्ला, प्रदेश र काठमाडौंमा भएको छनौट चरण पार गर्दै एन्फा एकेडेमीको लागि ५२ खेलाडी भित्र छनौट भएका हुन् ।


सानै उमेरदेखि फुटबल खेल्दै आएका कार्की एकेडेमीको लागि छनौट हुँदा खुसी देखिए । एकेडेमिको लागि छनौट भएपछि उनी अध्ययनरत अमर आदर्श आवासिय माध्यमिक विद्यालयले कार्यक्रम गरी शिक्षक, अभिभावक र विद्यार्थी साथीहरु विच बधाई तथा विदाई गर्दै गर्दा कार्की खुसीको साथै केहि नर्भस देखिएका थिए । अमर आदर्शमा कक्षा ७ पास गरी हाल ८ मा अध्ययनरत रहेका कार्की सानै उमेरदेखि टोलमा फुटबल खेल्ने गरेपनि १० वर्षको उमेरदेखि फुटबलको प्रशिक्षण लिन सुरु गरेको बताए । २ वर्ष अगाडी जिल्ला फुटबल संघ बागलुङले ११ वर्षमुनिका बालबालिकाको लागि प्रशिक्षणको लागि आव्हान गरेपछि प्रशिक्षणमा गएर मन लगाएर फुटबल सुरु गरेको कार्कीले बताए ।
उनलाई एन्फाका प्रशिक्षक भिम बोहोरा र विद्यालयका फुटबल प्रशिक्षक प्रमेश थापाले प्रशिक्षण दिँदै आएका थिए । टेलिभिजनको पर्दामा फुटबल हेरेर खेल्न सुरु गरेका कार्की प्रशिक्षण सुरु गरेको २ वर्षभित्रमा एन्फा एकेडेमीमा छनौट हुनुमा प्रशिक्षकहरुको र घरपरिवारको ठूलो साथ रहेको बताए ।


‘फुटबलको प्रशिक्षण सुरु गर्दा एक दिन राष्ट्रिय टिमबाट खेल्ने सपना देखेको छु,’ कार्कीले भने–‘अहिले एकेडेमीमा छनौट हुँदा म पनि गर्नसक्छु र सपना पुरा हुन्छ भन्नेमा विश्वस्त छु । एकेडेमी छनौटको बारेमा भने आफुले पहिले केहि नसोचेको बताए । मैले कहिलै एन्फा एकेडेमीमा पुगेर प्रशिक्षण लिन पाउछु भन्ने सोचेको त थिइन तर अहिले छनौट भएर प्रशिक्षणको लागि जान पाउँदा खुसी छु । कार्कीले आफ्नो फुटबलको सुरुवात बल्ल सुरु भएको बताउँदै अब आफुलाई प्रमाणित गर्ने बेला आएकाले त्यसको सदुपयोग गर्ने बताए ।
अन्तराष्ट्रिय खेलाडी लुका म्याडिडलाई फलो गर्ने कार्की मध्यपंक्तिमा खेल्ने गर्दछन् । घरमा ममिले पढ्नुपर्छ खेलबाट केहि हुँदैन भन्नुहुन्थ्यो तर मलाई खेलेर नै आफ्नो भविश्य बनाउने सोचेर अगाडी बढेको थिए अहिले एकेडेमीमा छनौट हुँदा खुसी लागेको छ । कार्कीले एकेडेमीको लागि छनौट भएपछि अब आफ्नो भविश्य फुटबलमै देखेको छु त्यसै अनुसार प्रशिक्षण लिँदै अगाडी बढ्ने बताए ।


कार्कीले भने–‘एकेडेमी आफ्नो खेल निर्खाने ठाउँ भएकाले मन लगाएर प्रशिक्षण गर्नेछु र एक दिन नेपालको राष्ट्रिय जर्सि लगाएर देशको लागि खेल्ने ठूलो सपना पुरा गर्नेछु ।’
खेलाडीहरुको मेहेनतले नै उनीहरु एकेडेमीको लागि छनौट भएको एन्फा प्रशिक्षक भीम बोहोराले बताए । सरोजको फुटबल प्रतिको चासो र खेलप्रतिको मेहेनतले एकेडेमीको छनौट भएको र एक दिन नेपालको प्रतिनिधित्व गरेर खेल्न सक्ने आशा रहेको बताए ।
प्रशिक्षक प्रमेश थापाले सरोज जिल्लामा उसको उमेर समुहकै उत्कृष्ट खेलाडी रहेको र प्रशिक्षणको बेला मन लगाएर गर्ने गरेको बताए । ‘उसले पानी परेर खेलमैदान हिलाम्मे हुँदा समेत प्रशिक्षणको लागि आउने गर्दथ्यो,’ प्रशिक्षक थापाले भने–‘सरोजको स्कील र आफ्नो पोजिसनबाट उत्कृष्ट खेल्ने गरेकाले जिल्लाको पछिल्लो स्टारको रुपमा उसलाई हेर्न सकिन्छ ।’ प्रशिक्षक थापाले एकेडेमीमा पुगेपछि ठूलो खेलाडी भैयो भनेर स्टारडम नदेखाएर प्रशिक्षण गर्ने र सधै खेलप्रति लगाब भएमा सरोजलाई एक दिन राष्ट्रिय टिमबाट खेलेको हेर्न सकिने बताए ।
यस्तै खेलाडी सरोजकी आमा गीता कार्कीले छोराले सानैदेखि खेल्न मात्र चाहने गरेको बताउँदै पढ्नको लागि गाली गर्ने गरेको बताइन । खेलेर केहि हुँदैन भन्ने सोचेकी थिए कार्कीले भन्नुभयो–‘छोराले फुटबलमा लागेर अहिले प्रशिक्षणको लागि देशभरीका खेलाडीहरुसँग प्रतिस्पर्धा गरेर एकेडेमीमा छनौट हुँदा आफ्नो सोच गलत रहेको पाए ।’ उहाँले अब छोरालाई खेल्नको लागि हौसला प्रदान गर्ने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here