‘धम्जाको विकासको लागि व्यवसायिक कृषिलाई प्राथमिकतामा राखेका छौं’

काठेखोला गाउँपालिका–३ धम्जाका वडाध्यक्ष याम बहादुर श्रीससँग वडावासीले विकास निर्माण, सुशासन र आर्थिक विकासका क्रियाकलप तिव्र रुपमा संचालन हुने अपेक्षा गरेका छन् । वडाध्यक्षको रुपमा निर्वाचित भए पछि दुई वर्षको अवधिमा वडाभित्र के कस्ता काम भैरहेका छन् वडाध्यक्ष याम बहादुर श्रीससँग बखरवे अनलाईनको टिमले गरेको संक्षिप्त संवादः
दुई वर्षको कार्यअवधिलाई स्वमूल्याकन गर्दा कसरी लिनु हुन्छ ?
– दुई बर्षे कार्यकाल सुरुमा गाह्रो भएको तर अहिले राम्रोसँग चलिरहेको छ । मलाई जनताको काम गर्ना पाउँदा खुसी लागिरहेको छ । मेरो व्यक्तिसमस्या भन्दा समाजको समस्याको लागि काम गरिरहेको छु । मैले कसैलाई पनि आफ्नो र अर्कोको नभनिकन सवैलाई आफ्नो सम्झेर काम गरिरहेको छु ।
वडा भित्र यो काम गरे भनेर सम्झने काम के हो ?
– मैले अहिलेसम्म आफैले गर्भ गर्ने काम गरे जस्तो लाग्छ । धम्जा काठेखोलाको दुर्गाम वडा हो । अहिले सडक सञ्जालले जोड्नुपर्ने सोचले कच्ची सडकको स्तोरउन्नतीको काम भईरहेको छ । अहिले परम्परागत कृषि पेशा लोभ भइरहेकोमा म चिन्तीत छु । त्यसलाई सामुहिक तथा व्यवसायिक कृषि पेशालाई अगाडी बढाउने सोचमा रहेको छु । अहिले बसाईबराईले कृषि योग्य जग्गा जमिन बाँझो रहने बढी रहेको छ त्यसको अन्त्यको लागि व्यवसायिक रुपले चिया खेती, अलैचि खेती गर्ने सोचले अगाडी बढीरहेका छौं ।
बजेट छर्ने काम भयो भन्ने गुनासो छ, अबका दिनमा कसरी सुधार गर्ने सोच बनाउनुभएको छ ।
– बजेट छर्ने कुरामा म पनि सहमत छु । बजेट छर्न हुन्न भन्ने मान्यता म पनि राख्छु तर पनि बाध्यताले छर्ने पर्ने बाध्यता रहेको छ । जनताको माग, समुदायको मागले छर्नेपर्ने बाध्यता देखिएको हो । हामीले अझै पनि साना भन्दा ठूलो योजनालाई प्रथमिकतामा राखेर काम गर्ने र साना तिना योजनाहरुलाई अल्ली कम गर्दै बजेट छर्ने कामको अन्त्य गर्न तर्फ लागेका छौं ।
सेवा प्रवाहलाई छिटो छरितो बनाउन के के पहल गर्नुभएको छ ?
– अहिले नागरिक वडापत्र राखेका छौं । वडापत्रबाट कुन कामलाई के के कागजतपत्र आवश्यक पर्छ भन्ने जानकारी दिने गरेका छौ त्यसले सेवा प्रवाहमा छिटो छरितो बनाउन सहयोग पु¥याएको छ । अहिले इन्टरनेटको माध्यमबाट सवै काम गर्नुपर्ने भएपनि बेला–बेलामा नेट नआउँदा समस्या भइरहेको छ । तर त्यसको अन्त्यको लागि वडा कार्यालयले काम गरिरहेको छ । जनताहरुलाई छिटो सेवा प्रवाहको लागि जनप्रतिनिधिहरु आफै कार्यालयमा आएर काम गर्ने र कर्मचारीहरुलाई पनि सोहि अनुसार काम गर्न आग्रह गरेकाले सेवा प्रवाह छिटो छरितो नै रहेको छ ।
तपाईले काम गर्दा भोग्नु परेको समस्याहरु कस्ता कस्ता छन् ?
– सुरुमा हामीलाई कर्मचारीको अभावले गर्दा काम गर्न धेरै गाह्रो भएको थियो । त्यो समस्या अहिले धम्जामा दुर भएको छ । अहिले धेरै काम इन्टरनेटबाट गर्नुपर्ने भएकाले कहिले काहि नेट नआउँदा समस्या हुने गरेको छ ।
जनताको गुनासोहरु कस्ता प्रकृतिका आउने गरेका छन् ?
– विकासको कुरामा गुनासो आउने गरेका छन् । मुख्य कुरा धम्जामा भेगिए कुराले मलाई पिरालो बनाइरहेको छ । अहिले पनि स्थानियहरुमा वल्लो भेग र पल्लो भेग, मेरो समाज, उल्लो समाज भनेर भन्ने गरेको र बजेट विनियोजित गर्दा हामीले कहाँको आवश्यकता के हो भनेर बजेट विनियोजित गर्ने गरेपनि मेरो ठाउँमा नगरेर उसकोमा गर्यो भन्ने मानसिकताले गर्दा गुनासो आउने गरेका छन् । बौद्धिक व्यक्तिहरुले पनि बजेट विनियोजित गर्दा धेरै थरिका कुरा गर्ने गरेका छन् तर वडाले समस्याको मुल्याकन गरेर बजेट विनियोजित गरेर काम गरिरहेको छ ।
गाउँपालिकाको सहयोग कति पाउनुभएको छ ?
– काठेखोला गाउँपालिकाबाट संचालित सम्पूर्ण योजना तथा सेवा प्रवाहका कामहरु अत्यन्तै पारदर्शी र सरल तरिकाबाट इमेल, इन्टरनेट, वेभसाइट, सामाजिक सञ्जालहरुको माध्यमबाट र पुस्तक पत्र पत्रिकाहरु प्रकाशन गरेर, बढी भन्दा बढी जनताहरुलाई जानकारी गराउँदै कार्यक्रमहरु संचालन गर्ने गरिएको छ । गाउँकार्यपालिकाको निर्णयका आधारमा विधिवत तरिकाबाट प्राप्त हुन सक्ने सहयोगहरु प्राप्त भै रहेका छन् । अहिले गाउँपालिकामा प्राविधिक कम हुँदा योजनाहरुको कामलाई तिब्रगतिमा अगाडी बढाउन सकिएको छैन । हामीले सोचे जतिका चाहना र आकांक्षाहरु पुरा हुन र सहयोग प्राप्त हुन गाउँपालिकामा प्रयाप्त श्रोत पनि हुनुपर्ने हुन्छ ।
बढी मात्रामा उपभोक्ता समिति गठनमा राजनीति भयो भन्ने गुनासो आउने गरेका छन् ?
– हामीले सवै पक्षलाई समेटर उपभोक्ता समिति गठन गरेका छौं । हामीले उपभोक्ताको छनौटमा राजनीतिक दललाई नहेरी सवैलाई समेटेका छौं । अहिले सम्म उपभोक्ता समितिको विषयलाई लिएर एक लौटी गर्यो भन्ने गुनासो आएको छैन । विकास निर्माणका कामहरु संचालन गर्ने सवालमा सर्वदलिय, सर्वपक्षिय भेलाहरु गरेर, टोल बस्तीस्तरबाट योजना छान्न लगाएर, वडास्तरमा प्राथमिकिकरण गरेर, योजना छानेर, उपभोक्ताहरुलाई नै योजना छान्न, उपभोक्ता समिति गठन गर्न, सम्झौता गर्न, कार्यान्वयन गर्न, फरफारक गरि भुक्तानी गर्न सवै स्टेपहरुमा संलग्न गराई उपनत्वको जिम्मेबारी दिइएको छ ।
जनताको दवाव र कर्मचारी प्रशासनको प्रक्रियालाई कसरी झेल्नुभएको छ ?
– जनताको दबाव एकातरि र कर्मचारी प्रशासनको समस्या अर्को तिर हुँदा ठ्याक्कै उल्टो हुने गरेको छ । पहिले जनताको सोच र कर्मचारीको काम फरक हुने गरेको थियो । अहिले त्यो समस्याको अन्त्य भएको छ ।
विपक्षीको साथ र सहयोग आलोनात्मक छ की रचनात्मक ?
– धम्जामा अहिले विपक्षीहरुको साथ सहयोग रहेको छ । विपक्षीहरु पनि उपभोक्ता समितिमा बस्नुभएको छ । अहिले मिलेर काम गरिरहेका छौं । आलोचनात्मक सहयोग रहेको छ । उहाँहरुले आलोचना गरेपनि विकास निर्माणको काममा समस्याको सिर्जना गर्ने काम गर्नुभएको छैन । त्यसले वडाको विकासमा मिलेर अगाडी बढेका छौं ।
वडालाई विकासको निर्माणको रुपमा कसरी अगाडी लैजाने सोच्नु भएको छ ?
– वडालाई विकास गर्नको लागि शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई प्राथमिकतालाई राखेर अगाडी बढेका छौं । धम्जामा अहिले बसाइसराईको क्रम बढिरहेको छ । बसाईसराई बढ्नुमा शिक्षाको प्रमुख भुमिका छ जस्तो लाग्छ । शिक्षालाई स्थानिय तहमा केही गरेर नसकिने भएको र शिक्षाको समस्या समाधानको लागि राष्ट्रिय शिक्षा नीति कस्तो हुन्छ भन्ने हो । राष्ट्रिय शिक्षा नीतिले अहिले गाह्रो भइरहेको छ । यस्तै स्वास्थ्यको समस्याको लागि धम्जामा भेगिए द्वन्द्वको अन्त्यको लागि दुई स्थानमै स्वास्थ्य चौकी निर्माण अगाडी बढाएका छौं । धम्जाको सडकको लागि बजेटको सहि सदुपयोग गर्दै गाउँपालिका, प्रदेश सरकार र केन्द्रिय सरकारबाट आएको सडकको बजेटलाई सदुपयोग गर्दै काम अगाडी बढाएका छौं ।
धम्जालाई पर्यटकीय क्षेत्र बनाउने काम के हुँदैछ ?
– धम्जालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि म्याग्दीसँग जोडिएको बेलढुंगालाई अगाडी सारेका छौं । बेलढुंगाबाट दर्जानौं हिमश्रृखलाहरु देखिनुका साथै म्याग्दीका विभिन्न स्थान र काठेखोलाका धेरै ठाउँहरु देखिने हुँदा पर्यटकीय विकासको लागि बेलढुंगा पुग्ने पदमार्ग निर्माण अगाडी बढाएका छौं । अहिले धम्जाको ओखलेमा सुरु भएको होमस्टेदेखि बेलढुंगा पुग्न २ लाख बजेट विनियोजित गरि पदमार्ग निर्माणको काम भईरहेको छ ।
यस पालिको बर्खामा धम्जाबासीले सामाजिक सञ्जालमा गाडी फसेको फोटो हाल्ने अवस्था हुन्छ की हुँदैन् ?
– हामीले सकेसम्म त्यो अवस्थजा दुर गर्ने सोचमा रहेका छौं । गाउँपालिकाले पनि १२ महिनै सडक संचालन गर्ने योजना बनाएकाले अहिले पनि सडकको स्तोरउन्नतीको काम भईरहेको छ । बर्खा लाग्न केहि महिना सुरु भएकोले अहिले अफट्यारो बाटोमा मर्मतसम्भारको काम भईरहेको छ ।
गाउँपालिकाले एक वडा एक पहिचान अन्तरगत धम्जामा कृषि भन्ने कार्यक्रम थियो अहिले त्यो कार्यक्रम के भईरहेको छ ।
– धम्जालाई गाउँपालिको कृषि पहिचानको रुपमा अगाडी बढाउने योजना बनाएको छ । त्यस अन्तरगत अहिले धम्जामा आलुको पकेट क्षेत्रको रुपमा विकास गर्नको लागि आलु भण्डारण तथा चिस्यान केन्द्रको काम सुरु गरिएको छ । उक्त भण्डार तथा चिस्यान केन्द्रमा आलुको विऊँहरु संरक्षण गरिने छ । चिस्यान केन्द्रको काम यस आर्थिक वर्षमा सम्पन्न गर्नेछौं ।
धम्जाको बसाईसराईको अन्त्यको लागि के सोच बनाउनुभएको छ ।
– बसाईसराईको अन्त्यको लागि शिक्षा र स्वास्थ्यलाई सुधार गर्ने योजना रहेको छ । शिक्षा क्षेत्रको सुधार गरी गुणस्तरिय शिक्षाको लागि वडामा समिति गठन गरिएको छ । वडाभित्र रहेका स्कुलहरुमा गुणस्तरिय शिक्षा प्रदान गर्ने र नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य चौकीमा विशेषज्ञ सेवाहरुको विस्तार गर्दै बसाईसराईको अन्त्यको योजना बनाएका छौं ।
हजुरको मनमा लागेको केहि कुरा भन्नुपर्ने छ की ?
– मैले धम्जाको विकासको लागि कसरी हुन्छ अगाडी बढाउने सोचमा रहेको छु । अहिले धम्जाको विकासको लागि व्यवसायिक कृषिलाई प्राथमिकता दिइएको छ । धम्जाको बाँझो जग्गालाई प्रयोग गरी आलु खेती, चिया खेतीहरु गर्नको लागि अहिले समिति निर्माण गरी काम अगाडी बढाएका छौं । उक्त काममा सवै वडाबासीको साथ सहयोगको आशा गरेको छु ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here