ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर

नारायण रिजाल
जेठ, १६ बागलुङ ।
जिल्लाको काठेखोला गाउँपालिका–१ पाला करिनाकी ८२ बर्षिय नन्दकली किसान लौरो टेकेर आफ्ना नाति सँग विहिबार गाउँपालिकाको अक्षेते बजारमा आईन । हातमा लौरी नातिको साहारामा उनी आफ्नो स्वास्थ्य जाँच गर्नका लागि त्यहाँ आएकी थिईन ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिकका लागि लक्षित गरि संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा किसानले आफ्नो स्वास्थ्य जाँच गराईन । उनलाई आँखा र पेटमा समस्या थियो आफ्नै घर आगनमा शिविर संचालन भएर डाक्टर समक्ष आफ्ना समस्या राख्न पाउँदा निकै हसिर्ष देखिन्थीन । आँखा जाँच पश्चात चस्मा पनि लिएकी छु उनले भनिन, ‘बागलुङ बजारको अस्पतालमा जानका लागि समस्या थियो निःशुल्क जाँच गर्न पाउने भए पछि नाति केटालाई लिएर आएको छु । मेरो आखाको समस्या बाहेक अन्य कुनै पनि छैन भनेर डाक्टरले भन्नु भएको छ । बेलैमा आफ्नो स्वास्थ्य अवस्था बारे थाहा पाए ।’ ‘अबत ढुक्क छु ’
विपन्न समुदायकी किसान स्वास्थ्य जाँचका लागि हजारौं खर्च गरेर सदमुकाम धाउनुपर्ने थियो तर गाउँमा नै शिविर सचालन भयो आफुले स्वास्थ्य जाँच गर्न पाउँदा उनलाई बल्ल देशमा विकास भएको महशुस भएको बताईन ।
गण्डकी प्रदेश सरकारले बागलुङको काठेखोला गाउँपालिकामा मात्र हैन प्रदेश भित्रका १० जिल्लामा जेष्ठ नागरिकका लागि लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । मन्त्रालयले मनाङ बाहेकका अन्य जिल्लामा शिविर संचालन गरेको स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले जानकारी दिए ।
मन्त्रालयको आर्थिक सहयोग र ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेश र हरेक जिल्लाका स्वास्थ्य कार्यालयको समन्वयमा शिविर संचालन गरिएको सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत सुशिला आचार्यले बताईन ।
कास्की जिल्ला बाट सुरु गरिएको अभियान अहिले सम्म सात जिल्लामा सम्पन्न भै सकेको छ । म्याग्दी पर्वत र मुस्ताङमा पनि जेठ २० गते भित्र शिविर संचालनका लागि तयारी भै रहेको आचार्यले बताईन । प्रदेश सरकारको ज्येष्ठ नागरिक लक्षित बजेट बाट हरेक जिल्लाका ज्येष्ठ नागरिकहरुलाई उपचारमा केही सहज पु¥याउने उद्देश्यले मन्त्रालयबाट शिविर संचालन गरिएको हो ।
हाल सम्म शिविर संचालन भएको सात जिल्लामा १ हजार ५ सय ४० ज्येष्ठ नागरिकहरुको उपचार गरिएका छ । शिविरमा नाक, कान, घाँटी, मुटु, आँखा र सामान्य चिकित्सक सेवा प्रदान गरिएको थियो । विहिबार बागलुङमा ३ सय जना विरामीले सेवा लिएका थिए । ति मध्ये १ सय जनालाई चस्मा वितरण गरिएको थियो । शिविरमा अधिकाशं विरामी प्रेसर, सुगर, नाककान र आँखाका रहेका गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य निरिक्षक मोहदत्त ढकालले जानकारी दिए ।
ज्येष्ठ नागरिकहरु समाजको धरोहर भएका कारण उनिहरुको स्वास्थ्य प्रति परिवार र समाजले चासो लिनुपर्ने काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । उनले उमेर ढल्कँदै जाँदा ज्येष्ठ नागरिकहरुमा हरेक स्वास्थ्य समस्या बढदै जाने हुँदा स्वास्थ्यको ख्याल गर्नका लागि उपस्थित आमाबाबुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य दिपक प्रसाद तिवारी, ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष गुमानसिंह कार्की, सदस्य नरेन्द्र थापा, लगायतले बोलेका थिए । कार्यक्रम काठेखोला गाउँपालिका—२ वडा अध्यक्ष विद्यापती शर्माको अध्यक्षता गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत सुशिला आचार्यको स्वागत र अधिकृत छैठौं देवी शर्माको संचालनमा सम्पन्न भएको थियो । शिविरमा धौलागिरी अञ्चल अस्पतालका डाक्टर रञ्जित सापकोटा, डा. शर्मिला ढकाल, गलकोट प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुजु जम्मरकट्टेल, र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. लक्ष्मी अर्याल लगायतका चिकित्सकहरु उपचारमा सहभागी रहेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here