
बागलुङ, १२ जेठ ।
बागलुङ नगरपालिका बागलुङमा जनप्रतिनिधिले कार्य जिम्मेवारी सम्हालेको शुक्रबार दुई वर्ष पुगेको छ ।
२० वर्षको रिक्तता पछि पदवहाली भएका जनप्रतिनिधिसँग जनताको धेरै आसा र अपेक्षा थिए । बागलुङ नगरपालिकामा जनप्रतिनिधि आए पछि नीति निर्माणदेखि विकास निर्माणको कामलाई तुलनात्मक रुपमा गति प्रदान गरेको पाईन्छ ।
जनप्रतिनिधिको उपस्थितले नगर क्षेत्रका नागरिकले अपेक्षा अनुरुपको काम सम्पन्न नभए पनि सुधार हुने संकेत देखिएको छ । जनप्रतिनिधिहरु पनि अझै अलमलमा परे जस्तो देखिएको छ । बदलिएको संरचनामा पुरानो मानसिकताका कर्मचारीबाट नगरपालिकाले अपेक्षा अनुरुप काम गर्न नसकेको नगर प्रमुख जनकराज पौडेको भनाई छ ।
२० वर्ष पछि निकै उत्साह र तामझामका साथ नगर प्रवेश गरेका जनप्रतिनिधिले अझै पनि विगतलाई निरन्तरता दिएको जस्तो देखिन्छ । नगरवासी भने निरन्तरतामा क्रमभंगताको पखाईमा छन् ।
नगरपालिकामा कार्यजिम्मेवारीमा वहाली भएको दुई वर्ष पुगेको अवसरमा शुक्रबार पत्रकार सम्मेलन मार्फत नगर प्रमुख जनकराज पौडेलले पूर्वाधार विकासका १५, आर्थिक विकासका १०, सामाजिक विकासतर्फ ७, वातावरणका ४, खेलकुद तर्फका ५, पर्यटनमा ५, शिक्षाका १५, स्वास्थ्यका ९ र नक्सापासका १० महत्वपूर्ण योजना, नीति, नियम निर्माणको काम सम्पन्न भएको जानकारी दिनुभयो ।
दुई वर्षको अवधीमा सम्पन्न ४ वटा नगरसभा ४० वटा कार्यपालिका बैठकल ११ वटा ऐन, २ वटा नियम, १४ वटा कार्यविधि तथा २ वटा निर्देशिका पारित गरिएको छ । नगरपालिकाले बृहत्तर बागलुङ बसपार्क निर्माण, बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि कुश्मा नगरपालिका– १ पाङ अदुवावारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण आरम्भलाई प्रमुख उपलब्धीको रुपमा प्रस्तुत गरेको छ ।
यो अवधिमा बानपा– ४ उपल्लाचौरदेखि नाग्लीवाङ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि आवश्यक सर्वे सम्पन्न भएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । सडक निर्माणलाई दीर्घकालिन बनाउँनका बानपा–. १, २, ३, ४, ६, ७, ८, ९, १३ र १४ का मुख्य, शाखा तथा भित्री गरी एक किलोमिटर सडक ढलान तथा कालोपत्रे भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बागलुङ बजारको खानेपानी समस्या समाधानको लागि काठेखोला लिफ्टिङ प्रविधिको खानेपानी आयोजना निर्माण गर्न नगरपालिकाको सहलगानीमा निर्माण कार्य सुरु, बागलुङ नगरपालिका वडा नं. ४ को कुँडुले, तल्लोपाखाथर, रमेटार, बा.न.पा. ३, ४ को उपल्लो भेग र वडा नं. ६ को तल्लो भेग तीनतले, रातमाटा लमगाउँ पाखाथरमा लिफ्टिङ प्रविधिबाट एक घर एक धाराको अभियान अन्र्तगत खानेपानी आयोजना निर्माणको प्रक्रिया सुरु भएको मेयर पौडेलको भनाई छ ।
यस्तै नगरपालिकाको एक घर एक धारा खानेपानीको व्यवस्थापन गर्दै जाने अभियान अनुरुप वडा नं. ४ कुँडुले, वडा नं. ६ को लहरेपिपल, वडा नं. १३ को रोकापालामा योजनाको काम भैरहेको र बा.न.पा ८ को लामिचौर तथा वडा नं. ३, वडा नं. ७ र वडा नं. ९ का खानेपानी आयोजनाको डिपिआर तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।
नगरपालिकाले आर्थिक विकास तर्फ पशु स्वास्थ्य उपचार प्रयोगशाला संरचना निर्माण, कृष प्राविधिक क्याम्पस संचालनको प्रयास, बानपा–२ रुद्रेपिपलमा आधुतिक सिट भण्डार र बानपा–१२ मा कृषि उपज संकलन तथा विक्री केन्द्र निर्माण गर्ने तयारी गरेको छ ।
नगरलाई सुन्तला उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न जातका चार हजार फलफूलका विरुवा तथा ९ हजार सुन्तलाका विरुवा वितरण गरी बगैचा सुन्तला खेतीको सुरुवात गरिएको र चालु आर्थिक वर्षमा विरुवा खरिद गरी कृषकलाई वितरण गर्ने प्रक्रिया सुरु गरिएको मेयर पौडेलको भनाई छ । एक वडा एक उत्पादनमा जोड दिने नीति अनुरुप वडा नंं ८, ९, १० र १३ लाई सुन्तला जोन र वडा नं. ११ लाई बाख्रा स्रोत केन्द्रको रुपमा रुपमा विकास गर्ने कार्य थालनी गरिएको छ ।
सामाजिक विकास तर्फ नगरपालिकाल माझी वस्तीको व्यवस्थापन, अल्पकालिन महिला सेवा केन्द्र संचालन तथा मानव सेवा आश्रमको अभिभावकत्व ग्रहण, बजार क्षेत्रका चोकहरुमा रहेका सिसी क्यामेराको मर्मत तथा नयाँ सिसी क्यामेरा जडान गर्न बजेट व्यवस्थापनलाई मुख्य उपलब्धीको रुपमा समावेश गरेको छ ।
नगर क्षेत्रमा ट्राफिक व्यवस्थापनका गर्न वनसाईड पार्किङ्ग, कालिका भगवती गुठी र बागलुङ नगरपालिकाको सहकार्यका कालिका मन्दिर परिसरमा कालिका वन्यजन्तु संरक्षण पार्क निर्माण, वडा नंं १ र २ मा रहेको शहिद स्मृति पार्क र उद्यान व्यवस्थापन गर्न प्रभु बैंकसँग सम्झौता गरी निर्माण कार्य सुरु भएको मेयर पौडेलको भनाई छ ।
बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला निर्माण गर्न संघीय सरकारसँग पहला, व्यवस्थित क्रिकेट तालिम मैदानका लागि बागलुङ नगरपालिकाकै आर्थिक लगानीमा तालिम केन्द्र निर्माण,
बागलुङ नगरपालिका वडा नं. ४ को वडारचौरमा बहुउद्देश्यीय खेलकुद मैदान, दारेगौडामा क्रिकेट मैदान, वडा नं. ८ को बौडेचौर, वडा नं. ९ को आलेखर्क, वडा नं. १० को निफन्नी तथा भकुण्डे खेल मैदानलाई नगरस्तरीय खेल मैदानको रुपमा विकास गर्न थालिएको छ ।
बानपा–१४ मा रहेको धौलागिरी अञ्चलको एक मात्र विमानस्थल सञ्चालनमा ल्याउनका लागि नगरपालिकाको तर्फबाट भएको पहल अनुसार संघीय सरकारबाट विमानस्थल कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढेको उहाँको भनाई छ ।
कर्मचारी समायोजन पछि बागलुङ नगरपालिकाको कृषि र शिक्षा शाखामा कर्मचारी अभाव भएको निमिक्त प्रमुख प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । कर्मचारी नहुँदा अन्य शाखाका कार्मचारीको सहयोगले कृषि शाखा चलाएका छौँ उहाँले भन्नुभयो–‘ यसरी नै कर्मचारी अभाव रहेमा ससर्त तर्फको बजेत कार्यान्वयनमा समस्य हुने देखिएको छ ।’
संघीय सरकारले आवश्यकता अनुसार प्रशासन तथा प्राविधिक कर्मचारी उपलब्ध नगराउने तथा नगरपालिकाले आफै कर्मचारी राख्न पाउने अख्तियारी नहुँदा बजेट कार्यान्वयनमा समस्या हुँदै भएको उहाँको भनाई छ । कार्यक्रमको संचालन प्रेस संयोजक गणेश पौडेलले गर्नूभएको थियो ।










