बागलुङ, २ जेठ
नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी बागलुङका सदस्यहरुले विहिबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
जिल्ला कमिटीले आयोजना गरेको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रममा जिल्ला कमिटीका १४१ सदस्यलाई नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सपथ ग्रहण गराउनुभएको हो ।
सपथ ग्रहण पछि बोल्दै (नेकपा) गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले समाजवाद उन्मुख क्रान्तिको मुख्य बाधक दलाल पूँजीपति र नोकर साही वर्ग रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री गुरुङ्गले समाजवाद उन्मुख राष्ट्र निर्माणको लागि कम्युनिष्ट पार्टीले उदारवाद अर्थनीति पक्षधरसँग निरन्तर संघर्ष जारी राख्नुपर्ने बताउनुभयो । उदारवाद अर्थ नीतिले राष्ट्रिय पूँजी निर्माणमा अवरोध खडा गर्ने उहाँको भनाई थियो ।
क्रान्तिको आगमी कार्यभार पुरा गर्न कम्युनिष्ट पार्टी भित्र वैचारिक एकताको खाँचो रहेको उल्लेख गर्नुभयो । ‘ विगतमा फरक फरक बाटो अप्नायौँ, फरक स्कुलिङ्गबाट प्रशिक्षीत भयो’ उहाँले भन्नुभयो–‘ एकतालाई चिनी पानीको घोल जस्तो बनाउँदै कार्यशैलीमा समेत एक रुपता ल्याउनु आवश्यक छ ।’
‘नेकपा दुध हो, जसमा उच्च गुणस्तरीय तत्व छ’ उहाँले भन्नुभयो, दुधलाई दारको ठेकीमा राखेर थप गुणस्तरीय बनाउँ, तामाको भाँडोमा राखेर विष बनाउनु हुन्न ।’ क्रान्तिको मुख्य चरणमा नेतृत्वको विशेष अर्थ र भूमीका रहने उहाँको भनाई थियो ।
‘तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीचमा भएको एकताले मुलुकमा समृद्धि ल्याउनका लागि ठूलो योगदान पुर्याउने उहाँको विश्वास छ । ‘नेपालको कम्युनिष्ट एकता संसारको लागी प्रेरणा बनेको छ’ पार्टी इन्चार्ज गुरुङ्गले भन्नुभयो–समाजवादी क्रान्तिको नेतृत्वले जनवादी शैलीमा पार्टी गतिविधि संचालन गर्नुपर्छ ।’
सामाजिक रुपमा पछि परेको समुदायलाई राज्यको मुल प्रवाहीकरण तथा आर्थिक विकासमा सहभागी नगराए कम्युनिष्ट पार्टीको लक्ष्य पुरा नहुने उहाँको भनाई थियो । ‘हामी व्यक्तिगत स्वतन्त्रता मात्रा होईन, सामाजिक न्याय सहितको समाज निर्माणको पक्षमा छौँ उहाँले भन्नुभयो–‘जनताको आकांक्षा, भावना र समस्यालाई बुझन नसके नेपाली कम्युनिष्टी आन्दोलन विघटीत सोभियतसँग जस्तो हुनेछ ।’
‘माक्सवाद सुत्र होईन व्यवहारिक सिद्धान्त हो’ पार्टी इन्चार्ज गुरुङ्गले भन्नुभयो–‘ मुलुकको वर्ग संघषर््ा अनुरुपको नीति अबलम्बन गर्नूपर्छ ।’ नेपालीको समाजवादी क्रान्ति कम्युनिष्ट नेतृत्वबाट मात्रै सम्भव रहेको उहाँले दावी गर्नुभयो ।
जिल्ला कमिटीको बैठकमा देखिएको मर्यादाको विषयमा बोल्दै मुख्यमन्त्री गुरुङ्ग कम्युनिष्ट पार्टीमा न्युनतम बैठकको मर्यादा पालन गर्ने क्षमता हुनुपर्ने टिप्पणी गर्नुभयो । ‘पार्टी बैठकमा एक छिन बस्दा खटपट, भित्र बाहिर, मोवाईलमा कुरा, कानेखुसी यो के हो ? उहाँले थप्नुभयो– केही समय धैर्य गर्न नसक्ने नेतृत्वले कसरी जनताको सेवा गर्छ ।’
बैठकले पाँच सदस्य जिल्ला कार्यालय गठन गरेको छ । कार्यालय सदस्यमा पार्टी अध्यक्ष इन्द्रलाल सापकोटा, सचिव ज्ञामनाथ गैरे, कृष्ण पाठक, लालबहादुर थापा, विष्णु भुषाल रहनुभएको छ ।
दुई सदस्य पछि थप गर्ने बताइएको छ । बैकठले जिल्लाका ८५ वटै वडा कमिटीको नेतृत्व टुङ्गो लगाएको छ । विगतमा पार्टी संयन्त्रले तयार गरेको नेतृत्वलाई पहिलो बैठकले अनुमोदन गरेको पार्टी अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सांसद देवेन्द्र पौडेल मनकुमारी केसी, नेकपा गण्डकी प्रदेश कमिटी सचिव गोविन्द नेपाली, केन्द्रीय सदस्य बलावती शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन सचिव ज्ञामनाथ गैरे अनिलले गर्नुभएको थियो ।










