
बागलुङ, ३१ बैशाख ।
स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको अवसरमा जिल्लाको काठेखोला गाउँपालिका–१ ले विविध सामग्री हस्तान्तरण गरेको छ ।
वडा कार्यालयले धिमि करिना माविमा एक कार्यक्रमको आयोजना गरी गर्भवती महिलाहरुलाई कुखुराको चल्ला, तरकारीका बीउ, विद्यालयमा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड, पञ्चेबाजा समुहका लागि पोशाक र विद्यालयमा अक्षयकोष स्थापनाका लागि नगद १८ हजार प्रदान गरेको छ ।

हजार दिनका आमा र बच्चाको स्वास्थ्यका लागि अण्डा र मासु उत्पादनका लागि हरेक गर्भवती महिलालाई १० वटा कुखुराको चल्ला र प्रतिव्यक्ति १० किलो दाना प्रदान गरिएको हो । ‘हामी हाम्रो समाजमा उर्जाशील युवाको खोजी गरिरहेका छौं,’ काठेखोला—१ पालाका वडाध्यक्ष खडक थापाले भने,–‘त्यसका लागि हामीले आमा र बच्चामा लगानी गर्नुपर्छ भनेर यो कार्यक्रम ल्याएका हौं । आमा र बच्चाको पोषणका लागि अण्डा र खुकुराको मासुले निकै ठूलो भूमिका खेल्छ ।’ उक्त अवसरमा गर्भवती महिलाका लागि ताजा र तागतिलो तकारी उतपादन गरेर सेवन गर्नका लागि तरकारको बीउ समेत प्रदान गरियो ।
थापाले हरेक वर्षको एक महिनाको तलबबाट विद्यालयमा शैक्षिक अक्षय कोष स्थापना गर्ने घोषणा अनुसार धिमि करिना माविमा अक्षयकोष स्थापनाका लागि एक महिना बराबरको तलब १८ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । ‘मैले मेरो कार्यकालमा हरेक वर्ष एक महिनाको तलबाट एउटा विद्यालयमा शैक्षिक अक्षयकोष निर्माण गर्ने घोषणा गरेका थिएँ,’ उनले भने,‘यो वर्ष धिमि करिना माविले पालो पायो, आगामी वर्षमा अरु विद्यालयमा पनि स्थापना गर्नेछु । यो सानो रकम हो, जनप्रतिनिधि समाजको प्रेरक पनि भएकाले अरुलाई पनि प्रेरणा होस् भनेर या काम मैले गरेको हुँ ।’

धिमि करिना माविमा अध्ययनरत छात्राहरुका लागि सहज होस् भन्ने हेतुले विद्यालयलाई सेनेटरी प्याड पनि प्रदान गरिएको छ । महिनावारी विद्यालय नआउने समस्या अन्त्यका लागि यो उपयुक्त हुने देखेर वितरण गरिएको थापाले बताए । वडाको सांस्कृतिक पहिचान झल्काउने पञ्चेबाजा समूहलाई पोशाक पनि उक्त कार्यक्रममा वितरण गरिएको छ ।
विविध सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले निर्वाचनका बेला जनतासंग गरेका बाचा विस्तारै पूरा गर्दै जाने बताए । ‘आज मैले जे गरिरहेको छु त्यो तपाईहरुसंग चुनावको बेलामा गरेको बाचा अनुसार गर्दैछु,’ उनले भने,‘बाँकी रहेको तीन वर्षे कार्यकालमा पनि मैले आफ्ना बाचाहरु पूरा गर्दै जानेछु । यो त्यही कार्यको सुरुवात हो ।’ कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री हरिहर शर्माले जनप्रतिनिधिहरु बद्नाम भैरहेको अवस्थामा जनताका लागि उदाहरणीय काम गर्न सफल भएको भन्दै थापाको प्रसंशा गरे । ‘आज तपाईहरुले गरेको सहि मतदानले तपाईहरुलाई सही परिणाम दिने क्रम सुरु भएको छ,’ उनले भने,‘विभीन्न ठाउँमा जनप्रतिनिधिहरु गलत काम गरेर बदनाम भैरहेको सुनिन्छ । खडकजीले आज तपाईहरुलाई गर्व लायक काम गरिरहनुभएको छ । तपाईहरुको मत खेर गएको छैन ।’ शर्माले नेपाली काँग्रेसले थापा जस्तै सक्षम र युवा पुस्तालाई अगाडी सार्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा सुआहारा कार्यक्रममा एचएफपी मार्केटिङ अफिसर युधिस्थीर शर्माले स्वस्थ खानाले बालबालिको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए । ‘आज वडाध्यक्षज्यूले कुखुराको चल्ला वितरण गर्नुभयो, हेर्दा यो कार्यक्रम निकै सानो जस्तो लाग्छ,’ उनले भने,‘गर्भावस्था देखि जन्मेको दुई वर्ष भित्रमा बालबालिकाको अधिकाँस मानसिक विकास हुन्छ । यसले आमा र बच्चाको स्वास्थ्यमा निकै सहयोग पु¥याउने हामीलाई विश्वास छ ।’ कार्यक्रममा गाजा डेभलपमेन्ट फाउण्डेसनका प्रतिनिधि कृष्ण कँडेल, धिमि करिना माविका प्रअ बालचन्द्र भण्डारी पाला स्वास्थ्यचौकी प्रमुख लोकबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।
वडाध्यक्ष खडक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य गम्भीरा थापा र सञ्चालन गणेश नेपालीले गरेका थिए । आमाको दूधपछि बच्चाका लागि सबैभन्दा पोसिलो खानेकुरा कुखुराको अण्डा भएकोले गर्भवती महिलाका लागि चल्ला वितरण गर्न संस्थाले सुझाएको गाजा डेभलपमेन्ट फाउण्डेसनका कृष्ण कँडेलले बताए । ‘हामीले काठेखोलाका सबै जना वडाध्यक्षहरुसंग बसेर बच्चा र आमाको स्वास्थ्यबारेमा छलफल ग¥यौं,’ उनले भने,‘हामीले भोलिका लागि समक्ष नागरिक उत्पादन गर्ने हो भने आमा र बच्चाको स्वास्थ्यमा लगानी गर्नुपर्छ भनेपछि उहाँहरु कन्भिन्स हुनुभयो ।’










