
राजेशचन्द्र राजभण्डारी
यतिबेला देशमा शक्ति र पहुँच हुनेहरूले आफ्नो शक्ति देखाउन मजाले भ्याएका छन् ।अहिले गाउँ घरमा बनेको स्कुल, स्वास्थ चौकी देखि मेला महोत्सव सम्मको उद्घाटन गराउन यतिबेला राष्ट्रपति ल्याउने चलन ह्वात्तै बढेको छ ।
देशको गरिमामय पदमा आशिन ब्यक्तित्व अहिले जताततै जादै प्रमुख अतिथि बन्दै उद्घाटन गर्नुलाई धेरैले निको मानेका छैनन् । साच्चै अहिले देशमा गणतन्त्र छ कि राजतन्त्र छ छुट्टाउन गार्रुहो परेको छ । पहिला पहिला राजा महाराजाहरूले गर्ने काम यतिबेला नेपाली जनताको छोरा छोरी भनेर भनिने राष्ट्रपति महोदयबाट हुन थालेको छ । अहिले देशमा पहुँच हुनेहरूले सिधै कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री ल्याउने भएपछि देशमा पहुँच नहुने मान्छेले सामान्य कार्यक्रम गर्न समेत हम्मेहम्मे पर्ने गरेको छ ।

अहिले समाजमा ठूलो मान्छे देखिन मेरो सिधै राष्ट्रपतिसंग पहुँच छ । प्रधानमन्त्रीसंग सम्बन्ध छ भनेर देखाउन पनि यतिबेला चाकडी बाज खुराफाती गर्ने नेताको कुनै कमि छैन भनेर भन्दा धेरै जना सहमत हुन्छन् । अहिले नबुझेको कुरा के हो भने गाउँ घरमा सकिनसकि चन्दा सहयोग उठाएर बिद्यालय भवन लगायतका संरचना तयार गर्ने अनि भवनको उद्घाटन भने चाकरी चाप्लुसी बजाउन ठूला बडाबाट गराउने जुन गलत खालको संस्कृति बढी रहेको छ यसलाई सबैले मिलेर बेलैमा रोक्न जरुरी देखिन्छ ।
आज समाज दिनप्रतिदिन भ्रष्टिकरण तर्फ उन्मुख भइरहेको छ । साच्चै जिल्लामा हुने गाउँमा हुने सानोतिनो कार्यक्रममा पनि देशको सर्वोच्च पदमा आशिन महोदय प्रमुख अतिथि बनेर आउदा अहिले जनताले टिप्पणी गर्न थालेका छन् । साच्चै यसरी तिखो टिप्पणी हुदै गर्दा समेत नत आउने मान्छेले यसलाई मतलब राखेका छन् नत बोलाउने आयोजकले नै यसलाई मतलब राखेको देखिन्छ । अहिले अतिथि बोलाउन सजिलो छ तर त्यसलाई ल्याउन निकै गाह्रो मात्रै हैन महंगो पनि छ । अहिले हिजो अस्ति जस्तो बसमा आउने चलन छैन एसि बस, चाहियो कित हवाई जहाजको टिकट काटेर बोलाउनु पर्ने त्यहीँ अनुसार पठाउनु पर्ने बाध्यता आयोजकलाई छ ।
अलि ठूलो भिआइपीलाई त हेलिकप्टर नै रिजब नगरिकन नहुने नत्र भने भिआइपी पाहुना नआउने समस्या कै कारणले धनीमानी मान्छेलाई खोज्नु पर्ने अर्को बाध्यता छ । बागलुङ जिल्लामा पनि पुर्वप्रधानमन्त्री प्रचण्डलाई पनि बागलुङको एक बिद्यालयको बार्षिकोत्सवमा ल्याउने काम भयो त्यसको हेलिकप्टर खर्च बेहोर्ने दाता भने छुट्टै थियो । यो त अहिले देखिएको उदाहरण मात्रै हो यहाँ खोज्दै जाने हो भने हजारौं उदाहरण भेटिन्छ । यसरी जबर्जस्ती रूपमा नेता पुर्व प्रधानमन्त्री लगायतका ब्यक्तिलाई ल्याउदा त्यसले सकारात्मक भन्दा पनि नकारात्मक प्रभाव भने पार्ने निश्चित छ । अहिले केही मान्छेको खेती भनेको नै यहीँ भएको छ गाउँ ठाउँमा ठुलो मान्छे ल्याएपछि गाउँमा बिकास कै ठूलो मुल फुट्ने आशा जुन गरिन्छ त्यो केही पनि हुने वाला छैन ।
एकातिर हामीले पुरानो नराम्रो गलत परम्परा र संस्कृति अन्त्य गर्ने नयाँ नेपाल निर्माण गर्ने भनेर लागि परिरहेका छौ अर्काेतिर फेरि त्यहीँ काम कुरालाई निरन्तरता दिन भने छोडेका छैनौं ।
अहिले गाउँ गाउँमा सिंहदरबार पुगेको भनेर सरकारले प्रचारप्रसार गरिरहेको छ भने अर्कोतिर साच्चिकै सिंहदरबार कै मान्छे देश दौडाहमा लागेर शिलान्यास गर्न भ्याइनभ्याई छ । अर्कोतिर उद्घाटन गर्न भ्याइनभ्याई छ । कहाँ जाने, कता जाने, कता नजाने केही थाहा छैन नेपालका स्वर सम्राट नारायण गोपालले गाउनु भएको एउटा गीत यतिबेला याद आयो मलाई भोली उठि कहाँ जाने केही थाहा छैन भन्ने साच्चै सान्दर्भिक देखिन्छ । अहिले पनि हाम्रो अबस्थामा परिवर्तन आएको छैन मात्रै ब्यबस्थामा परिवर्तन आएर केही हुने वाला छैन ।
गाउँ–गाउँमा जिल्लामा नयाँ संरचना बनाउनेहरूले चाकडी चाप्लुसी गर्ने काम बन्द गरेर गाउँ घरकै समाजसेवी जनप्रतिनिधिसंग भब्य र सभ्य रूपमा उद्घाटन गराउन सकिन्छ यो कुरामा सबैले हेक्का राख्दा धेरै राम्रो हुने देखिन्छ । एकत देशको राष्ट्रपति जिल्लामा ल्याउने बेलामा सरकारले पनि ठूलो जनशक्ति प्रयोग गर्नुपर्ने शान्ति सुरक्षाको कुरादेखी धेरै प्रपन्च मिलाउनुपर्ने जनतालाई भित्री पस्न समेत पुरै डिजिटल चेकजाँच गरेर पठाउनु पर्ने सबै केन्द्र कै हुकुम बमोजिम चल्नुपर्ने बाध्यताले पनि यो स्वभनीय देखिदैन । पुरै सुरक्षा घेरा भित्र कार्यक्रम गरेर अनि केको गौरव गर्ने सब बकबास मात्रै नाटक मञ्चन भन्दा अर्को केही हुनसक्दैन अबदेखि यस्तो खालको नाटक बन्द गर्दा धेरै राम्रो हुनेछ ।
२०७६ बैशाख ३० गते प्रकाशित










