नेपाललाई हिन्दु राज्य बनाउनु पर्छः काग्रेस केन्द्रीय सदस्य भण्डारी

बागलुङ, २७ बैशाख .
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसको जागरण अभियानको क्रममा बागलुङ आएका केन्द्रीय सदस्य भण्डारीले शुक्रबार नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाललाई धर्म निरपेक्ष हटाएर हिन्दु राज्य नै बनाउनुपर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य भण्डारीले नेपाली कांग्रेसको जागरण अभियानको मुख्य उद्देश्य पार्टीको सुदृढीकरण र सरकारले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्ने रहेको बताउनुभयो ।
कांग्रेस जागरण अभियानका बागलुङ संयोजक समेत रहेका भण्डारीले नेपाली कांग्रेस लोकतन्त्रबादी भएको बताउदै सत्तालाई भन्दा देश र जनताको लागि भएको धारणा राख्नुभएको थियो । नेपाली काँग्रेसले २००७ र २०४६ सालको आन्दोलन र १० बर्षिय माओवादी जनयुद्धलाई शान्तिपूर्ण तरिकाले अवतरण गराउन सफल भएको उहाँको भनाई थियो ।
भण्डारीले मुलुकमा नेकपाको दुई तिहाइको सरकार छ भएपनि देश र जनताको लागि केही गर्न नसकेको आरोप लगाउनुभयो ।
एनसेल प्रकरणको बारेमा बोल्दै भण्डारीले भन्नुभयो–‘एनसेलले राजश्व छली गरेकै हो त्यसको बारेमा गम्भिर छानविन गरेर कर असुली गर्नुपर्छ ।’
नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा सम्पन्न भएको पत्रकार भेटघाट कार्यक्रमको स्वागत सहसचिव सुवास आचार्य र संचालन सचिव नारायण रिजालले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here