पटक–पटक शिलान्यासको नाटक मञ्चन किन ?

लेखक राजेशचन्द्र राजभण्डारी

राजेशचन्द्र राजभण्डारी
काम पाइनस बुहारी खै केसको के कनाई भने झै यतिबेला नेपालमा भएको बिकास निर्माण एकपटक हैन पटक–पटक शिलान्यास हुन थालेपछि माथिको नेपाली पुरानो उखान लेख्न बाध्य भएको हो । केही महिना अगाडि कालीगण्डकी कोरिडोर सडकको स्तरउन्नति गर्न सरकारले निर्णय गरेपछि बागलुङ मालढुंगादेखि बलेवा एअरपोर्टसम्मको ८ मिटर सडक बिस्तार गरि १० मिटर चौडा बनाउने कामको फेरि शिलान्यास गरियो त्यो पनि सामान्य रूपमा हैन धुमधामसंग । शिलान्यास गर्न नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र अर्थमन्त्री युवराज खतिवडा लगायतका नेता तथा सांसदहरू आएर ठूलो उत्सव नै गरेका थिए । जुन सडक नेपाली सेनाले जिम्मेवारी लिएर आज भन्दा २ बर्ष अगाडि पूरा गरेको थियो । अहिले फेरि बागलुङ खण्डदेखि गुल्मी खण्डसम्म सडक चाक्लो बनाउने सरकारले नीति बनाएपछि पुन एकपटक शिलान्यास गरिएको हो । अर्को पक्ष के पनि हो भने अहिले फेरि शिलान्यास गर्दा नेपाल कम्युनिस्ट पार्टीको सरकारले अहिले गरेको कामको पुरै जिम्मेवारी लिन पाउने जस लिने अबसर पनि पाउने यो सडक हाम्रो सरकारले बनायो भनेर प्रचारप्रसार गर्न पनि यो नयाँ खालको नाटक मञ्चन गरिएको हो भन्दा फरक पर्दैन होला ।
यस्तै बागलुङ बसपार्कको आजभन्दा धेरै बर्ष पहिला शिलान्यास गरिएको थियोे अहिले फेरि गरियो अर्को बागलुङ नगरपालिका भित्रको सडक खण्डमा माननीय सांसद डाक्टर सुर्य पाठकले बजेट लगानी गरेसंगै पुनः सडकको शिलान्यास गरेपछि यो घटनाले चर्चा पाएको छ । नेपाल धर्म संस्कृति अनुसार पनि एउटा काममा पटक–पटक शिलान्यास गर्नु भनेर अवश्य पनि गर्नु भनेर भनेको छैन होला । कामलाई अगाडि बढाउने सकारात्मक पक्ष हो तर सोही कामको लागि पटक–पटक शिलान्यास गर्नु भने गाइजात्रा हो । हुनत नेपालमा यो चलन नयाँ हैन बागलुङ जिल्लामा मात्रै दुई पटकसम्म शिलान्यास भएको दृश्य देखिएको छ तर बाहिरी जिल्लामा एक दर्जन पटक शिलान्यास गरेको खबर अखबारमा पढ्न पाइन्छ । हामीले पनि त्यहीँ पटक–पटक भएको शिलान्यास कार्यक्रमको खबर लेख्छौ अनि तिनकै गुनगान गर्छौ त्यसको फाइदा अहिले तिनै महासयहरूले लिइरहेका छन् । अहिले पनि समाजमा गलतलाई गलत, सहीलाई सही भन्न सक्ने हिम्मत हामीसंग छैन । अहिले पनि हामी तीन कै दास बनेर हिडिरहेका छौ । देशमा ब्यबस्था धेरै चोटी परिवर्तन भयो तर नेपाली जनताको अबस्था भने अहिलेसम्म परिवर्तन भएको छैन ।
एकपटक भएको काम जुन सडकमा बर्षौ देखि गाडी गुडिरहेको छ । अहिले मात्रै सांसद कोषको बजेट प्रदेशको बजेट अनि स्थानीय तहको बजेट खर्च गरेर सडकको स्तरउन्नति गर्दासमेत फेरि शिलान्यास गरेको दृश्य हेरेपछि धेरैलाई हाँसो लागेको छ मजाक गर्नुको पनि हद हुन्छ नि साच्चै जसलाई जेजे मन लाग्यो त्यहीँ त्यहीँ गर्ने चलनले गर्दा अहिले गणतन्त्रको नै बेइज्जत भैसकेको छ । अहिले हामीलाई काम भन्दा धेरै नाटक गरेर देखाउने समय आएको छ । साच्चै अहिले जताततै बेथिति बढिरहेको छ काममा भन्दापनि नाममा नै हामी केन्द्रीत भइरहेका छौ । सरकारले बिकासको लागि भनेर छुट्टाएको बजेट खर्च नभएको भनेर भनिरहेको छ अर्कोतिर बिकास बजेट सक्ने नाममा बैशाखमा काम शुरू गरेर हतारमा काम गर्ने प्रवृत्ति नै गलत देखिन्छ । एकातिर भनेको समयमा काम नहुने अर्कोतिर अहिले खर्च भएको रकम त्यसै खेर जाने थाहा हुँदाहुदै पनि काम गराउन बाध्य छौ यसले नत जिल्लालाई केही फाइदा भएको छ नत उपलब्धि नै । कामको लागि मात्रै काम देखाउन पटकपटक शिलान्यास पटक–पटक उद्घाटन गर्ने चलनको अब सबै मिलेर अन्त्य गर्न जरुरी छ ।

२०७६ बैशाख २४ गते मंगलबार प्रकाशित ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here