उद्यमी व्यवसायी ढकालद्वारा पिताको स्मृतिमा विद्यालय भवन निर्माण, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

तस्विरः विष्णु भुषालको फेसबुकबाट ।

बागलुङ, २३ बैशाख ।
नेपालका सफल उद्यमी व्यवसायी चन्द ढकाल र उनका भाई हेमराज ढकालले आफ्नो पिताको स्मृतिमा जन्मस्थलको विद्यालयमा निर्माण गरेको १४ कोठे भवनको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नुभएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरमा जन्मेका उद्यमी ढकालले आफ्ना पिता हिरण्य प्रसाद ढकाललको स्मृतिमा अमलाचौरको पृथ्वी माविमा ५ करोड २८ लाख रुपैयाँ लगानीमा १४ कोठे दुईतले भवन निर्माण गरेका छन् ।
व्यवसायी ढकालले शिक्षा हरेक समृद्धिको आधारशिला भएको र शिक्षा प्राप्तीको लागि आधारभूत संरचना पहिलो आवश्यकता महशुस गरेर भवन निर्माण गरी आफ्नो जन्मभूमि प्रति आफ्नो कर्तव्यको सुरुवात गरेको बताउनुभयो । उहाँले आफ्नो स्वर्गीय पिताको सम्झनामा आफुले अक्षरचिनेको विद्यालयमा भवन निर्माण गर्दा साथै पिताको शालिक अनावरण गर्दा आफुहरु भावुक भएको बताउनुभयो ।


विद्यालय भवनको उद्घाटन पछि बोल्दै राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाललाई २ वर्षभित्र साक्षर देश घोषणा गर्ने बताउनुभयो । उहाँले सरकारले भौतिक र आर्थिक लगानी बढाएर उक्त लक्ष्य पूरा गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले राज्यका विभिन्न निकाय र सामाजिक क्षेत्रबाट प्राप्त सहयोगको सदुपयोग गर्दै विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा स्थानिय तह, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन कटिबद्ध रहनुपर्ने बताउनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तरवृद्धिको लागि शिक्षक, शिक्षिकाहरुलाई तालिम दिइरहनुपर्ने उहाँले बताउनुभयो । उहाँले शैक्षिक संस्थाको भौतिक तथा शैक्षिक पूर्वाधार विकासमा उद्यमी, व्यवसायी र समाजसेवीहरुको योगदान पुग्दै आउनु सकरात्मक विषय रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले आफुले विद्याआर्जन गरेको विद्यलायमा पिताको सम्झनामा काम गर्नु अरु विद्यार्थीहरुलाई आफ्ना अभिभावकको सम्मान कसरी गर्न सकिन्छ भन्ने जानकारी लिने ठाउँ बनेको बताउनुभयो ।


उक्त कार्यक्रममा राष्ट्रियसभा सदस्य दीनानाथ शर्मा, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल, मनकुमारी के.सी., डा. सुर्य पाठक, विद्यालयका पूर्वविद्यार्थी तथा अमलाचौर स्कुल अल्मुनाई एसोसियसनका अध्यक्ष डा. हेमराज शर्माले बोल्नुभएको थियो ।
२०१४ सालदेखि पठनपाठन गर्न थालिएको विद्यालयको औपचारिक रुपमा २०१७ सालदेखि पृथ्वी माध्यमिक विद्यालयको रुपमा पठन पाठन सुरु गरिएको जनाइएको छ । उक्त विद्यालयमा २०३३ सालमा नि.मा.वि., २०४० सालमा मा.वि. र २०५६ सालदेखि उच्च माध्यमिकको रुपमा स्तरोन्नति भई शिक्षा, मानविकी र व्यवस्थापन विषयको पठन पाठन हुँदै आएको विद्यालयका प्रधानाध्यापक प्रेम प्रसाद चापागाईले बताए । यस्तै पूर्वविद्यार्थीहरुले विद्यालयमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला ल्याव, मल्टिमिडिया सेन्टरको स्थापना गरेका छन् ।
चारवर्ष अघि भूकम्पले चिरा परेको पृथ्वी माविमा ढकाल परिवारले ५ करोड २८ लाख लगानी गरेर भवन बनाएपछि विद्यालयको नाम पृथ्वी हिरण्य मावि राखिएको हो । उक्त भवनसँगै ढकालका पिता हिरण्यको अर्धकदको मूर्ति समेत राष्ट्रपति भण्डारीले अनावरण गरिन । विद्यालयमा हाल ३ सय ७८ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक प्रेमप्रसाद चापागाईँले बताउनुभयो ।
पृथ्वी हिरण्य माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिला वि.क.को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल र संचालन राष्ट्रिय समाचार समितिका सम्पादक एकराज पाठकले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here