
काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाध्यक्ष विद्यापति शर्मासँग वडावासीले विकास निर्माण, सुशासन र आर्थिक विकासका क्रियाकलप तिव्र रुपमा संचालन हुने अपेक्षा गरेका छन् । वडाध्यक्षको रुपमा निर्वाचित भए पछि वडाभित्र के कस्ता काम भैरहेका छन् वडाध्यक्ष विद्यापति शर्मासँग खबरवे अनलाईनको टिमले गरेको संक्षिप्त संवादः
दुई वर्षको कार्यअवधिलाई स्वमूल्याकन गर्दा कसरी लिनु हुन्छ ?
– सामाजिक सेवा भन्न र सुन्न जति सजिलो र प्रिय जनताबाट अनुमोदित हुन त्यति नै गाह्रो र जटिल पनि छ । जीवनभरी आसु पसिना र रगत बगाउँदा आफ्नै मनका इच्छा चाहना त पुरा गर्न सकिदैन । युगौंदेखिका जनताका इच्छा, चाहना र विकास प्रतिका आकांक्षाहरु छोटो समयमा पुरा गर्ने कुरा मेरो लागि ठूलो चुनौती थियो र छ । चुनौतीको विचबाटै नथाकीकन काम गरिरहेको छु सकारात्मक परिणाम प्राप्त गर्ने कुरामा लगनशिल छु । दुई वर्षको अवधी पुतलीको प्युपा खोलभीत्र हुर्के जस्तै अवधी भाको छ खोल तोडेर बाहिर आउन सकियो भने पुतली फूलवारीमा नाँचे जस्तै हुनेछ । रंगीचङ्गी पुतलीलाई देखे जस्तै हाम्रो कामको गतिलाई पनि देख्ने छन् ।
सेवा प्रवाहलाई छिटो छरितो बनाउन के के पहल गर्नुभएको छ ?
– जनताका कामहरु तत्काल पुरा गर्न घटना दर्ता (जन्म, मृत्यु, बसाईसराई) विधी र प्रकृयालाई स्थापित गर्न अनलाईन सिस्टम ९यलष्लिभ कथकतझ०बाट काम, सदस्यहरुको कार्यालयमा पालो बाडेर उपस्थिति गराउने ४ हप्तामा ४ जना सदस्यलाई, वार्डमा नागरिक वडापत्र राखेर, बेला–बेलामा एफएम, टिभीबाट सूचना प्रवाह गरेर, घोक हालेर, सरोकारवालाहरुसँग समन्वय सहकार्य गरेर गाउँपालिकाको बजेट बाहेक अन्य श्रोतहरु जुटाएर, स्वयंसेवकहरु परिचालन गरे, ल्न्इ, क्ष्ल्न्इ को सहयोग लिएर सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउने प्रयत्न गरिएको छ ।
तपाईले काम गर्दा भोग्नु परेको समस्याहरु कस्ता कस्ता छन् ?
– राजनैतिक दलहरुको अस्वस्थ खालको प्रतिस्पर्धा विकास निर्माणका कामहरु चाहेजति गतिमा लान नसकिने जसले गर्दा योजनाहरु समयभीत्रै सम्पन्न हुन गाह्रो । सामाजिक लाभको आधारमा भन्दा व्यक्तिगत लाभको आधारमा योजना माग गरिनु, कार्यान्वयन गर्दा पनि त्यसै सुत्रलाई प्रयोग गरिने, ठूला–ठूला योजनाहरुमा मात्र ध्यान दिदा जनताका दैनिक आवश्यकता परिपूर्ति गर्ने साना खालका योजनाहरु पुरा गर्न नसकिनु जसले गर्दा गुनासोहरु बढ्नु, जनताहरुको ध्यान समग्र वडाको विकासमा भन्दा आफु बसेको टोल, बस्तीका लागि बढि केन्द्रित हुनु जसका कारण सवैतिर एकैचोटी योजनाहरुले उनिहरुका चाहना अनुरुपका कामलाई सम्बोधन गर्न नसकिनु । प्रकृयामुखी योजना जनताले झन्झट मान्ने ।
जनताको गुनासोहरु कस्ता प्रकृतिका आउने गरेका छन् ?
– बाटोमा जाँदा बाटाघाटा राम्रा छैनन् पिच गर्न सकेनन् भन्ने, स्कुलमा जाँदा स्कुल राम्रा छैनन् विद्यार्थी छैनन्, गुणस्तरिय शिक्षा प्रदान गर्न सकेनन् भन्ने, खेतवारीमा जाँदा खेतवारी बाँझो हुँदैछन् सरकारले किसानलाई केहि गर्न सकेन भन्ने, पँधेरामा पानी लिन जाँदा १ घर १ धारा बनाउन नसक्नेहरु भन्ने, डाँडाकाँडा वनपाखामा जाँदा पर्यटनको विकास गर्न नसक्नेहरु भन्ने, बृद्धबद्धा वा आमाहरु जम्मा हुँदा वृद्ध भत्ता ५ हजार बनाइदिए त हुन्थ्योनी जत्तिको त्यति भयो भन्ने, टिभी हेर्न बस्यो नेट चलाउन थाल्यो काठका कुहेका पोल ढल्छन् लाइन जान्छ पोल फेर्न नसक्नेहरु भन्ने, शिक्षत बेरोजगार डिग्री पास गरेका भाईबैनीहरु विदेश जाने डकुमेन्ट बनाउँदा पनि राजस्वको नाममा यत्रो पैसा लिने भन्ने, विरामी लिएर स्वास्थ्यचौकी अस्पतालमा जाँदा पोखरा लैजाउ भन्ने, यसो तलब भत्ता बढाइदिए हुन्थ्यो २–३ वर्ष भैसक्यो भनेर शिक्षक, कर्मचारी, सुरक्षाकर्मीले भन्ने, महंगी बढेको बढ्यै छ के गरी बाच्ने होला श्रमिक गरिव विपन्नलाई सरकारले रासन कार्ड तथा अन्य राहतका काम जोडे हुन्थ्यो नी भन्ने, जस्ता जनताका गुनासा छन् । यति धेरै गुनासासँगका आशाहरु पुरा गर्न कति सकिएला निरास नभै लाग्नुपर्ने छ ।
गाउँपालिकाको सहयोग कति पाउनुभएको छ ?
– काठेखोला गाउँपालिकाबाट संचालित सम्पूर्ण योजना तथा सेवा प्रवाहका कामहरु अत्यन्तै पारदर्शी र सरल तरिकाबाट इमेल, इन्टरनेट, वेभसाइट, सामाजिक सञ्जालहरुको माध्यमबाट र पुस्तक पत्र पत्रिकाहरु प्रकाशन गरेर, बढी भन्दा बढी जनताहरुलाई जानकारी गराउँदै कार्यक्रमहरु संचालन गर्ने गरिएको छ । गाउँकार्यपालिकाको निर्णयका आधारमा विधिवत तरिकाबाट प्राप्त हुन सक्ने सहयोगहरु प्राप्त भै रहेका छन् । हामीले सोचे जतिका चाहना र आकांक्षाहरु पुरा हुन र सहयोग प्राप्त हुन गाउँपालिकामा प्रयाप्त श्रोत पनि हुनुपर्ने हुन्छ ।
बढी मात्रामा उपभोक्ता समिति गठनमा राजनीति भयो भन्ने गुनासो आउने गरेका छन् ?
– विकास निर्माणका कामहरु संचालन गर्ने सवालमा सर्वदलिय, सर्वपक्षिय भेलाहरु गरेर, टोल बस्तीस्तरबाट योजना छान्न लगाएर, वडास्तरमा प्राथमिकिकरण गरेर, योजना छानेर, उपभोक्ताहरुलाई नै योजना छान्न, उपभोक्ता समिति गठन गर्न, सम्झौता गर्न, कार्यान्वयन गर्न, फरफारक गरि भुक्तानी गर्न सवै स्टेपहरुमा संलग्न गराई उपनत्वको जिम्मेबारी दिइएको छ । जिम्मेबारी बहन गर्ने सवालमा जानेर वा नजानेर उपभोक्ता समितिहरुबाट हुने गरेका कमीकमजोरीहरु उपभोक्ता समितिले नै मनन् गर्ने कुरा रह्यो तर हामी जनप्रतिनिधिहरुलाई राजनीतिकरण गर्यो भन्नु हास्यास्पद र आरोपका लागि आरोप मात्र हो । यो गुनासोलाई न्यूनिकरण गर्न आफ्नो तर्फबाट हरपल प्रयत्नरत छु, सजग छु, समन्वयकारी भूमिकाका लागि सहयोगी छु ।
जनताको दवाव र कर्मचारी प्रशासनको प्रक्रियालाई कसरी झेल्नुभएको छ ?
– स्थानिय सरकारको अहिलेको काम गराइको तौरतरिका पहिलेको भन्दा अलि फरक खालको छ । उपभोक्ताहरुमा पनि पुरानै सोच छ । उपभोक्ताहरुले आगामी वर्षको काम पनि यसै वर्ष गर्न चाहन्छन् । प्रकृयाको कुरा, सरकारको नीति र विधीको कुरालाई गौण ठान्छन् त्यसै अनुरुप काम सम्पन्न भएको हुनुपर्छ भन्ने ठान्छन् र गर्ने पनि त्यहि हो । तर हामी जनप्रतिनिधीलाई यि दुईको कुराले कहिलेकाही असजिलोमा पारिदिन्छु । योजनाको डिजाइन इस्टिमेट अनुसारको काम र प्रकृया दुवै पुरा गर्न र उपभोक्तालाई पनि खुसी पार्न अलि बढी मेहनत गर्नुपरेको अवस्था हो ।
विपक्षीको साथ र सहयोग आलोनात्मक छ की रचनात्मक ?
– विपक्षीको भूमिका रचनात्मक खबरदारीको हुनुपर्ने हो । तर हाम्रो भीमापोखराको राजनैतिक संस्कार त्यस्तो छैन । विकास निर्माणका कामहरुदेखि हरेक सवालहरुमा राजनैतिक प्रतिशोधपूर्ण, दुरासय युक्त, पूर्वाग्रही भावनाले ग्रसित विचार र व्यवहारहरु बेला–बेलामा देखापर्ने गर्छन । विपक्षीको भूमिका सत्तापक्षलाई प्राप्त साधनश्रोतको दुरुपयोग गर्न नदिने, सहि ठाउँमा प्रयोग गर्न लगाउने, लापर्वाही गर्न लाग्दा खबरदारी गर्ने, निष्पक्ष, पारदर्शीरुपले काम गर्न सचेत बनाउने, विकासको मुल प्रवाहमा सबैलाई समाहित गर्ने वातावरण बनाउने, सार्वजनिक सुनुवाइ, सार्वजनिक लेखा परीक्षण गराइ जनताहरुलाई सुसुचीत गर्ने जस्ता काम गर्न लगाउने भूमिका गर्नु राम्रो कुरा हो त्यसलाई हामी जहिले पनि स्वीकार्नु पर्छ तर हुँदै नभएका झुठा लान्छना र आरोपहरु लगाइ निकृष्ट तल्लो स्तरमा झरेर झुठा मुद्धाहरु लगाउने, अख्तीयारमा पु¥याउने, उपभोक्ता समिति र जनप्रतिनिधीहरुलाई काम गर्ने नदिने जस्ता व्यवहारहरु गर्नु गलत प्रथाको सुरुवात गर्नु हो । यस्ता कार्यहरुले कसैको पनि हित रक्षा गर्दैन ।
भीमापोखरालाई पर्यटकीय क्षेत्र बनाउने काम के हुँदैछ ?
काठेखोलाको ८ वटा वडालाई १ वार्ड १ पहिचानको काम गरौं भनेर सोच बनाएको चाही हो । मेरो विचारमा कसैले घोषणा गर्दैमा त्यो ठाउँ पर्यटकीय बन्दैन त्यसका लागि निश्चित आधारहरु चाहिन्छ । भीमापोखराको ऐतिहासिक दरबारको एउटा आकर्षण, थाप्ले, गुनगुने र कान्छो धौलागिरीका मनोरम दृश्यहरु देखिने स्थानहरु हुनाले पर्यटकीय हिसावले सोचेर काम गर्न सकिने केहि आधारहरु छन् । यसर्थ हामीले यस तर्फ केहि पहलहरु गरेका छौं । पदमार्ग निर्माण गर्ने, सम्भावनाको अध्ययन गराउने, विचार गोष्ठीहरु चलाएर पर्यटन विकासका लागि पहल गर्ने जस्ता कामहरुको सुरुवात गरेका छौं । पर्यटन विकास हुनलाई समय लाग्छ, प्राकृतिक रुपले र मानव सिर्जीत काम दुवैले साथ दिनुपर्छ ।
यस पालिको बर्खामा भीमापोखराबासीले सामाजिक सञ्जालमा गाडी फसेको फोटो हाल्ने अवस्था हुन्छ की हुँदैन् ?
– यसपालिको वर्षामा सामाजिक सञ्जालमा गाडी फसेको फोटो हाल्ने रहर बोकेका साथीहरुलाई के भन्न चाहन्छु भने बाटाघाटा राम्रा र फराकिला बनाइदैछ । ६ देखि ८ मिटर चौडा बनाइदै छ । २–३ वर्षमा पिच गर्ने सोचका साथ काम भैरा छ । डोजरले हिउँदभरी बाटो खनी रहेको छ । स्वभाविक रुपले पानी ठूलो परेमा, वर्षादमा बाटो हिलो हुन सक्छ, गाडी फस्न सक्छ त्यसका लागि हामीले फस्ने बाटोमा ढुङ्गा, गिटी, बगर हालेर गाडी चल्ने बनाउनुपर्छ । सामाजिक सञ्जालमा गाडी फसेको फोटो हालेर फोटो हाल्नेको आत्मसन्तुष्टी त होला तर जनताको आत्मसन्तुष्टी हुनुपर्छ भन्ने ठान्नुहुन्छ भने बाटोमा ढुङ्गा, गिटी र बगर हालेर गाडी चलाउनुपर्छ भन्ने सोच बनाइ राख्नुस् । सामाजिक सञ्जालको फोटोले केहि गर्नेवाला छैन ।
वडाभित्रको केही विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक बढी छन् । केही विद्यालयमा शिक्षक नहुँदा विद्यालयलाई आर्थिक बोझ छ । यसको समाधान के होला ?
– वडाभीत्र केहि विद्यालयहरुको मात्र होइन समग्र काठेखोला गाउँपालिकाका विद्यालयहरुको अवस्थाको अध्ययन गरी शिक्षक विद्यार्थीहरुको अनुपातको समग्र विद्यालय व्यवस्थापन पक्षको, शैक्षिकस्तर बृद्धिको, परीक्षा प्रणाली सुधारको, भौतिक सुधारको, प्रविधी विकासको जस्ता विषयहरुमा गम्भीरतापूर्वक छलफल गरी निष्कर्ष निकालेका छौं । अब छिट्टै हामी लागु गछौं ।
गुठीको जग्गा व्यक्तिले मनोमानी प्रयोग तथा विक्री गरेको भन्ने सवाल उठेको छ । वडा कार्यालय यस विषयमा कत्तिको जानकार छ ।
– हामी जनप्रतिनिधीहरु निर्वाचित भएर आएपछि होइन धेरै वर्ष अगाडीदेखि चल्दै आइरहेको अवस्था हो । बरु गुठीको जग्गा क–कसले प्रयोग गरेको छ र कति छ त्यसको तथ्याङ्क वडा कार्यालयले अहिले लिनका लागि प्रारम्भीक कामको सुरुवात गरेकाले चर्चा चल्न थालेछ खुसी लाग्यो ।
अन्तमा हाम्रो धारणा सार्वजनिक गर्ने अवसरका लागि धेरै धेरै धन्यवाद ।
२०७६ बैशाख २२ गते प्रकाशित








