
बागलुङ, १५ बैशाख ।
बागलुङमा तीन जनाले इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङले अवैध हातहतियार ३५ दिनभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेपछि उनीहरुले हतियार बुझाएका हुन् ।
बागलुङ नगरपालिका ढोरपाटन क्षेत्रबाट हतियार संकलन भएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
दुई थान भरुवा र एक थान एकनले १२ बोर हतियार संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले चैत्र १ गते ३५ दिने सार्वजनिक सुचना जारी गर्दै हतियार बुझाउन आग्रह गरेको थियो ।
जिल्लामा ९६ जनाले १२१ थान हतियार लिने अनुमति लिएको भए पनि नियमितरूपमा हतियारको नवीकरण जम्मा ११० ले मात्रै गर्दै आएका छन् ११ थान हतियार अघिल्लो आर्थिक वर्षदेखि नवीनकरण नभएको जिल्ल प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
तोकिएको दिनसम्म हतियार नबुझाउनेलाई हातहतियार तथा खरखजना ऐन, २०१९ अनुसार कारवाही हुने सरकारले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अधिकांशसँग बाह्र बोर, नलकटुवा र भरुवा बन्दुक रहेको पाइएको छ ।










