
युवा अवस्थामै वडाध्यक्ष जस्तो गरिमायम पदमा निर्वाचित भई आफ्नो जिम्मेवारी सम्हाल्नुभएको काठेखोला गाउँपालिका–१ का वडाध्यक्ष खडक थापासँग वडावासीले विकास निर्माण, सुशासन र आर्थिक विकासका क्रियाकलप तिव्र रुपमा संचालन हुने अपेक्षा गरेका छन् । वडाध्यक्षको रुपमा निर्वाचित भए पछि वडाभित्र के कस्ता काम भैरहेका छन् वडाध्यक्ष खडक बहादुर थापासँग खबरवे अनलाईनको टिमले गरेको संक्षिप्त संवादः
दुई वर्षको कार्य अवधिलाई स्व मूल्यांकन गर्दा कसरी लिनु हुन्छ ?
– स्थानीय तहमा २० बर्ष पछाडि जनप्रतिनिधि आएकाले पनि नागरिकहरुको आकांक्षा बढी नै थियो । यिनै वढि भएका आकांक्षाहरुको केहि मात्रामा भए पनि संवोधन गर्ने हिसाबले यो दुई बर्ष बितेको छ ।
वडा भित्र यो काम गरे भनेर सम्झने काम के हो ?
– वडाभित्र रहेका सबै विद्यालयहरुमा इन्टरनेटको पहुँच पुगेको छ । त्यसैगरी सबै विद्यालयहरुमा ई–हाजिरीको व्यवस्था गरिएको छ । सुविधा सम्पन्न आधुनिक स्वास्थ्य चौकी भवनको निर्माणको काम सम्पन्न भएको छ । गाउँपालिका स्तरको काप्रे, धिमी, पाला मोटर बाटो स्तरवृद्धि अन्र्तगत १२० मिटर बाटो ढलान सहितको स्तर बृदिको काम भइ रहेको छ । मध्यपहाडी लोकमार्गको सदुपयोग गर्ने गरी वडाको अक्षेते बजारमा हाट बजार सञ्चालन तथा व्यवस्थापनको निमित्त काम अगाडी बढाइएको छ ।
त्यस्तै गरी देख्दा सानो देखिने तर अत्यावश्यक लाग्ने केहि कामहरु यस आर्थिक बर्षबाट प्रारम्भ गर्ने गरी काम अगाडी बढाइएको छ । जसअन्र्तगत माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रा विद्यार्थीहरुका लागि विद्यालयमै सेनेटरी प्याडको व्यवस्था, गर्भवती महिलाहरुले सेवा पाउने गरी बर्थिङ सेन्टर, केहि कुखुराका चल्ला, दाना र करेसावारी निर्माणका लागि सहयोग गर्ने कार्य अगाडी बढाइएको छ । त्यस्तै आधुनिक कृषि प्रणालीमा कृषकहरुलाई अभिप्रेरित गर्न कृषक पाठशालाको व्यवस्था गरिएको छ । जनसहभागितामा आधारित जनश्रमदानका कार्यहरु थालनी गरेबाट वार्डमा रहेका विभिन्न विकास निर्माणका आयोजनामा जनसहभागिता जुटेको छ ।
वडामा रहेका अति आवश्यक रहेका गोरेटो बाटोहरु नागरिकहरुको जनसहभागितामा बिना आर्थिक लगानीमा ४ वटा गोरेटो बाटो मर्मतकार्य सम्पन्न भएका छन । काठको पोलमुक्त वार्डको रुपमा विकास गर्न लागिएको छ । टोल टोलमा ट्यांकी घरघरमा धारा निर्माणको काम प्रारम्भ भएको छ । वडा नाममा १ रोपनी ४ आना जग्गा निःशुल्क पास गरिएको छ । यी र यस्ता धेरै खाले कामहरु जो पछिसम्म देखिनलायक काम गरिएको र गर्नेमा छौ ।
बजेट छर्ने काम भयो भन्ने गुनासो छ, अबका दिनमा कसरी सुधार गर्ने सोच बनाउनुभएको छ ।
– यो सन्दर्भ निकै सान्दर्भिक छ । वजेट नछर्दा सबै ठाँउ पुग्न नसकिने, एकै ठाँउ बजेट राख्दा बजेट केन्द्रिकृत भयो भन्ने खालका आरोपहरु सहनुपर्ने बाध्यता हामी सामु छ , तै पनि यस कुरालाई दृष्टीगत गरी गत आर्थिक बर्षमा भन्दा योजनाको संख्या घटाइएको छ भने देखिन लायक आयोजनाहरुमा बजेटको मात्रा बढाइएको छ ।
सेवा प्रवाहलाई छिटो छरितो बनाउन के–के पहल गर्नुभएको छ ?
– वडा कार्यालयमा अनलाईन मार्फत घटना दर्ता हुने गरेको छ । नागरिक बडापत्रको व्यवस्था गरिएको छ । नागरिकहरुले सेवा लिदा खेरी झन्झट नहुने गरी वडा कार्यालयवाट सेवा प्रदान गरिएको छ ।
तपाईले काम गर्दा भोग्नु परेको समस्याहरु कस्ता कस्ता छन् ?
– नागरिकहरुको असिमित आवश्यकताहरुको परिपूर्तिका लागि सिमित स्रोत साधन परिचालन गर्नु मुख्य समस्या हो ।
जनताको गुनासोहरु कस्ता प्रकृतिका आउने गरेका छन् ?
– खासमा नागरिकहरु छिटो गरी विकासका संरचना वनोस भन्ने चाहन्छन भने साना साना योजनाहरु पनि आउने गरेका छन जसलाई संवोधन गर्ने रकम हामीसंग नभएकाले संवोधन गर्न सकिएको छैन ।
गाउँपालिकाको सहयोग कति पाउनुभएको छ ?
– संघीय सरकारसंग प्रदेश सरकार, प्रदेश सरकारसंग स्थानिय तहको सरकार र पालिकासंग वडाहरुको सहयोग असहयोग एउटै प्रकृतिका छन भन्दा अतियुक्ति नहोला ।
बढी मात्रामा उपभोक्ता समिति गठनमा राजनीति भयो भन्ने गुनासो आउने गरेका छन्, तपाईले यो गुनासोलाई कसरी सम्बोधन गर्नुभएको छ ?
– त्यस्तो हाम्रो वडामा समस्या देखिएको छैन सबै राजनैतिक पार्टीहरुको सहभागितामा उपभोक्ता समितिहरु गठन हुने गरेका छन । समिति गठन गर्दा राजनैतिक हस्तक्षेप गरिएको छैन भने नेतृत्वमा समेत सबै दलका मानिसहरु आएकाले पनि यो कुराको पुष्टि गर्दछ ।
जनताको दवाव र कर्मचारी प्रशासनको प्रक्रियालाई कसरी झेल्नुभएको छ ?
– जनता र कर्मचारी प्रशासनको कुरा गर्दा जनता छिटो छरिटो काम खोज्छन भने कर्मचारी प्रक्रियाको कुरा गर्दछ । यीनैका बिचबाट एकाकार गरि छिटो छरिटो काम सम्पुर्ण प्रक्रिया पु¥याएर काम गर्ने परिपाटिको विकास गर्नुपर्दछ ।
विपक्षीको साथ र सहयोग आलोनात्मक छ की रचनात्मक ?
– विपक्षिको साथ र सहयोग सापेक्षित रुपमा विषयवस्तुमा आधारित रहेर दुवैखाले छ ।
मैले सोध्न भुलेका र हजुरको मनमा लागेका केहि कुरा छन् की ?
– मुलत धेरैकुराहरु आएका छन । यसै आर्थिक वर्षमा काठको पोल रहित वार्डको रुपमा लैजादै छौ , यो वार्ड द्घन्दको समयमा ठुलो चपेटावाट पिल्सिएको वार्ड हो यहाका ६ जनाले उक्त समयमा ज्यान गुमाएका छन । उहाहरुको सम्मान गर्ने गरि संरचना निर्माण गर्नुपर्ने छ ।
अन्तमा हाम्रो धारणा सार्वजनिक गर्ने अवसरका लागि धेरै धेरै धन्यवाद ।
२०७६ बैशाख १० गते प्रकाशित










