
बागलुङ, ९ बैशाख ।
आनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले सोमबार बागलुङमा भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, नर्वेजियन दुतावासका राजनीतिक सल्लाहकार टोर्न सहितको टोलिले बागलुङ जिल्लाको मानवअधिकारको अवस्था र मानवअधिकार वर्ष पुस्तकको प्रभावको बारेमा छलफल गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले इन्सेकले प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तकले स्थानिय तहमा निती निर्माण गर्न र मानवअधिकारको अवस्था बारे जानकारी पाउँन सहयोग पुगेको बताएका थिए । उनिहरुले मानवअधिकार वर्ष पुस्तक हेर्दा समग्र देशको मानवअधिकार को अवस्था बुझन सकिने बताएका थिए । भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरिषले बागलुङ जिल्लामा जातिय भेदभावका घटनाहरु धेरै भएपनि कानुनी प्रक्रियामा भने जान नसकेको बताउँनुभएको थियो ।

उहाँले जातिय भेदभावका घटनाहरुको प्रकृति फेरिएको भन्दैं सदरमुकाममा सानो जात भएको कारणले डेरा नपाउँने र ग्रामिण भेगमा विहेमा जन्ति र मर्दा मलामी समेत नजाने अवस्था रहेको बताउँनुभएको थियो । उहाँले इन्सेकले प्रकाशन गर्दै आएको मानवअधिकार वर्ष पुस्तकले पीडित र पीडकको मनोविज्ञानमा समेत प्रभाव पार्ने हुँदा पीडितलाई पीडा खोल्न र पीडकलाई आगामी दिनमा गलत काम गर्नबाट रोक्न मद्धत्त पुगेको बताउँनुभएको थियो । उहाँले स–सना बालबालिका छोडेर आमा र बाबु विदेशिदा बालअधिकार हनन्का स्वरुपहरु फेरिन थालेको बताउँनुभएको थियो । त्यस्तै कार्यक्रममा इन्सेक पूर्व प्रतिनिधी रामबहादुर जिसी, बागलुङ नगरकार्यपालिका सदस्य लक्ष्मी बोहरा, महिला अधिकारकर्मी अन्जु जिसी, पत्रकार कोपिला कंडेल, द्वन्द्व पीडित साझा चौतारीका केन्द्रिय उपाध्यक्ष बद्रि बहादुर केसी, एडभोकेसी फोरमका धौलागिरी संयोजक राम शर्मा, पत्रकार प्रकाश बराल लगाएतले कार्यक्रममा बोल्नुभएको थियो ।
कार्यक्रममा नर्वेजियन एम्बेसीका राजनीतिक सल्लाहकार टोर्नले इन्सेक र वर्षपुस्तकको लागि नर्वेजियन एम्बेसिबाट निरन्तर सहयोग प्रद्धान हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।










