
बागलुङ, ९ बैशाख ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङको अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा ज्ञामनाथ गैरे (अनिल) चयन भएका छन् ।
नेकपाको आईतबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाको जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् ।
बागलुङमा एमालेका तत्कालीन अध्यक्ष इन्द्रलाल सापकोटा अध्यक्षमा र माओवादीका तत्कालीन जिल्ला संयोजक ज्ञामनाथ गैरे (अनिल) सचिवमा चयन भएका हुन् ।
यस्तै पर्वतको अध्यक्षमा तत्कालीन एमालेका पदम गिरी र सचिवमा तत्कालीन माओवादीका सुदिप कुँवर, म्याग्दीको अध्यक्षमा तत्कालीन माओवादीका गोविन्द पौडेल र सचिवमा तत्कालीन एमालेका हरिकृष्ण श्रेष्ठ, मुस्ताङको अध्यक्षमा तत्कालीन एमालेका चन्द्रमोहन गौचन र सचिवमा तत्कालीन माओवादीका सत्यनारायण शेरचन चयन भएका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतका नेताहरुको निरन्तर छलफलपछि जिल्ला तहको एकता टुंगो लागेको हो ।










