सम्बन्ध विच्छेद गर्न अदालत धाउँदै पुरुष

बागलुङ, ५ बैशाख ।
नयाँ मुलुकी संहिता जारी भएसँगै सम्बन्ध विच्छेदका लागि पुरुषसमेत अदालत धाउन थालेका छन् ।
भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सहज बनाइदिएपछि उनीहरु महिलासरह अदालत जान थालेका हुन् ।
नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा यसअघि महिलाका लागि भएका व्यवस्था पुरुषका लागि पनि राखिएका छन् ।
लगातार तीन वर्ष बेखबर बाहिर बसेमा, अङ्गभङ्ग हुने गरी कुटपिट गरेमा, शारीरिक र मानसिक हिंसा गरेमा पत्नीविरुद्ध पति अदालत जान सक्छन् । पत्नीले अरू कुनै परपुरुषसित यौन सम्बन्ध राखेको अवस्थामा पनि सम्बन्ध विच्छेद हुनसक्छ ।
‘पुरानो मुलकी ऐनलाई विस्थापित गर्दै आएको नयाँ कानुनले पुरुषलाई महिलासरह सम्बन्ध विच्छेदको अधिकार दिएको छ,’ बागलुङ जिल्ला अदालतका नायब सुब्बा गंगाराम गौतमले भने ‘यसअघि महिलाले चाहेमा मात्रै सम्बन्ध विच्छेद गर्न पाउने कानुनी प्रावधान थियो, संहिताले महिला र पुरुषलाई बराबरी अधिकार दिएपछि भने सम्बन्ध विच्छेद गर्ने पुरुषको समेत निवेदन आइरहेको छ ।’
केही घटनामा ‘मेरो जीवन मेरो अधिकार’ भन्दै स्वतन्त्र भएर बाँच्न चाहने पुरुष तथा श्रीमानले खान लाउन नदिने, हेरचाह नगर्ने, पारिवारिक बहिष्कारका कारण महिलाले पनि सम्बन्ध विच्छेद गर्ने गरेको उनको छ ।
बागलुङ जिल्ला अदालतमा चालू आवको चैत्र २९ गतेसम्म १३२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन । नयाँ संहितानुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्ध विच्छेदका मुद्दा ६० र महिलाबाट ७२ वटाा रहेका छन् ।
दर्ता मुद्दा पुरुष तर्फका ८ र महिला तर्फका ४० मुद्दा मिलापत्रका टुङ्गिएको नायब सुब्वा गौतमले बताउनुभयो । १३ वटा फैसला भएका छन भने ७१ वटा प्रक्रियामा रहेका छन् । आफूलाई बेवास्ता गरेको, खान लगाउन पनि नदिएको, अनावश्यक शंका गरेको जस्ता कारण देखाएर महिलाहरु पतिसँग सम्बन्ध विच्छेद गर्न चाहेको भन्दै मुद्दा दर्ता गर्न आउने गरेको नायब सुब्बा गौतमको भनाई छ ।
स्थानीय तहमा निवेदन दिएपछि मिलापत्र हुन नसकेमा त्यहाँको सिफारिश सहित अदालतमा मुद्दा दर्ता गर्न आउनुपर्ने व्यवस्था रहेको छ । पत्नीसँग सम्बन्ध बिच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोेक्ने व्यवस्था रहेको छ ।
सम्बन्ध बिच्छेदको लागि निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउने प्रयास गर्ने र एकवर्षसम्म पनि मिल्न नसके अदालतले सम्बन्ध विच्छेद भएको फैसला गरिदिन्छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here