मनोरम मुल्ठाना

ईश्वर गौतम
भुमिथानको चिसो पानी, महारानी थान
ऐतिहासिक कोटदरवार, मुल्ठानाको शान
मठमन्दिर, हरियाली मनोरम दृश्य
स्वर्ग जस्तो मुल्ठानामा नछुटाउनु जान ।।
साबिक भीमापोखरा गाविस र हाल काठेखोला गाउँपालिका वडा नम्बर २ को मध्यम भाग, गुनगुने शिवधुरी र थाप्ले धुरी (स्वर्गकोट)को काखमा अवस्थित बाक्लो बस्तीको नाम मुल्ठाना हो । जस ठाउँमा चिसो पानीको मुल रहेको र तत्कालीन बाइसे चौबिसे राजाहरुको दरबार रहेको कारण र गाउँको केन्द्रभागमा रहेको र गाउँकै मुख्य ठाउँको रुपले चिनिने भएकोले पनि मुल्ठाना नाम रहेको आँकलन गर्न सकिन्छ । विभिन्न जातजाती, बर्ग र फरक फरक सम्प्रदायका मानिसहरुको बसोबाँस बाक्लो बस्ती रहेको मुल्ठाना प्राकृतिक बिबिधताले भरिपुर्ण छ । जसलाई महारानी थान, कोट दरवार, कोट मन्दिर र शिरमा सजिएको हरियाली जङ्गल र स्वर्गकोटले सुनमा सुगन्ध थपेको छ ।
गाउँको मध्य भाग र अलिकति समथर जग्गा बाक्लो बस्तिको बिचमा अग्लो ठाउँमा पर्खालको आकारमा रहेको ऐतिहासिक कोटदरवार, काखैमा भीमादरवार आधारभुत बिद्यालय, दरवारसँगै वडा कार्यालय र कार्यालयको आगनमा मेला महोत्सव गर्नका लागि बस्ने उपलब्ध सिडि सहितको मैदान, कोट मन्दिर, त्यही आपसमा रहेको स्वास्थ्य चौकीले गाउँको मुहारमा सुन्दरता थपेको छ । कोट मन्दिर, भीमादरवारको तलपट्टी रहेको रानीपोखरीमा श्रीकृष्णको मन्दिर र हरियाली बोटहरुका हल्लिएका पातसँगै कुँहुकुँहु गर्दै गुन्जायमान त्यो कोइलीको धुनले साँचै स्वर्गको अनुभुती गराउदछ । भीमादरवार र कोट्को काँखमा अवस्थित गैराथोक र डहरेको त्यो सुन्दर बस्तीसँगै फैलिएको त्यो विशाल फाँटमा देखिने हरियाली र पहेलपुर बालीनालीको दृश्यले मानिसका कति हर्सको उमंग पलाउला कति–कति रचना मनमा पलाउलान कल्पना गर्नै सकिँदैन ।
शिरमा रहेको हरियाली जङ्गल र हल्लियका रुखका पातहरुको दृश्य वसन्त ऋतुमा त झन ढकमक्क फुलेको रातो लालीगुराँस फुल अनि अटल रहेको थाप्लेको धुरी (स्वर्गकोट) कति आनन्दित अनि प्यास लाग्दा प्यास नमेटिने त्यो मुलको चिसो पानी आहा ! कहाँ होला र यस्तो ठाउँ । झुप्पा परेका सल्लाका हरियाली रुखहरुको तल रहेको त्यो सुन्दर बस्तीसँगै रहेको महारानीदेविको मन्दिर, त्यहाँ पुजा गर्न आउने भक्तजनलाई पनि त्यो ठाउँ पटक्कै नछोडौझै अवश्य लाग्छ, प्राकृतिको त्यो अनुपम उपहार त्यसमाथी रहेका यस्ता धार्मिक पर्यटकिय र ऐतिहासिक स्थलहरुको अवलोकन गर्न पाउँदा कसलाई पो आनन्द नआउँदो हो ।
जननि जन्मभुमिश्च स्वर्गादपी गरियसी ।
आफ्नो जन्मभूमि त जसलाई पनि प्यारो लाग्छ । नराम्रै भएपनि राम्रो लाग्छ । तर मैले जन्मभूमि भनेर मात्रै यी भावना रुपि शब्दहरु पोखेको अवश्य होइन । जसरी बर्णन गरिएको त्यो भन्दा बढि होला तर कम छैन त्यो गाउँ जहाँ पुगेपछी साच्चिकै स्वर्गानुभुती हुनेछ । अन्तस्मरण देखीनै एउटा छुट्टै अनुभूति हुनेछ । भीमादरवार परिसरमा बसेर त्यो मिठो हावासँगै चार भागबाट देखिने ती डाँडाकाँडा हरियाली पाखा पखेरा पुर्व पाला तितौरेको बस्ती पश्चिममा धम्जा र तंग्रामको त्यो सुन्दर दृश्य, अनि दक्षिणमा देखिने बिहँु, लेखानी, रेश, सिगाना अनि ती डाँडाकाँडा मध्येपहाडी लोकमार्गमा गुडिरहेका गाडिको लस्कर अनि उत्तर शिरक अटल स्वर्गकोट अनि काँखको समथर फाँट, त्यस्तै बर्सादमा झर्नाको सौन्दर्य दिने चिप्ले पहरोको दृश्यले स्वर्गानुभुती हुने मनोरम मुल्ठाना गाउँ स्वर्गकै टुक्रा भन्दा फरक पर्दैन जस्मा रहेका यी प्राकृतिक संरचनालाई ब्यबस्थित र आकर्षक बनाउन सके सुनमा सुगन्ध थपिन्छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here