
बागलुङ, २३ चैत ।
कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजनामा चैत्राष्टमी मेला–२०७५ सुरु भएको छ । शनिबारदेखि सुरु भएको मेला बैशाख २ गतेसम्म संचालन हुनेछ ।
मेलाको पहिलो दिन खुल्ला तारो खेल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बागलुङ जिल्ला पर्यटनका हिसावले निकै महत्वपूर्ण जिल्ला भएकाले चैत्राष्टमीको सन्दर्भमा यस्ता खालका प्रतियोगिता समावेश गरिदा आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य बृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले चैत्राष्टमी मेला बागलुङ जिल्लाको मात्र नभई देशकै सास्कृतिक पर्व भएकाले सबैको सहभागिता र सहयोगको अपेक्षा गर्नु भयो ।
बागलुङ सहित म्याग्दी, कास्की, मुस्ताङका १० टिमले सो प्रतियोगितामा भाग लिएका छन । प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार नगद पुरस्कार जिप्ने छ । आदीवासी जनजातीहरुका माझ बढी लोकप्रिय मानिने यो खेलमा स्थानिय सामाग्रीहरुबाट बनेका खेल सामाग्रीहरुको प्रयोग गरिने खेल संयोजक रेशम थापाले बताउनुभयो ।
हरेक बर्ष आयोजना गरिने चैत्राष्टमी मेलामा यस बर्ष तारो खेल सहित खुल्ला भजन प्रतियोगिता र खुल्ला नौमति बाजा थप गरिएको छ । मेलामा खुल्ला लोक दोहोरी, खुल्ला पुरुष भलिबल प्रतियोगीता, खुल्ला छेलो प्रतियोगिता समावेश गरिएको छ । मेलाको मुख्य समारोह चैत्र ३० गते चैत्राष्टमीका दिन जिल्लाका १० पालिकाहरुको सास्कृतिक झाकी प्रदर्शन गर्ने समेत कार्यक्रम रहेको मेलाका मूल संयोजक राजु खड्काले जानकारी दिनुभयो ।










