
बागलुङ, २२ चैत ।
चैत्राष्टमी मेला–२०७५ को सम्पूर्ण तयारी पुरा भएको छ ।
आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी भोली चैत २३ गतेदेखि बैशाख २ गतेसम्म हुने चैत्राष्टमी मेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
नेपालको १ सय १ पर्यटकीय स्थानको सुचिमा रहेको कालिका भगवती मन्दिरको क्षेत्रमा हरेक वर्ष हुँदै आएको मेलालाई निरन्तरता दिइएको कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष राजु खड्काले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन प्रबद्र्धन बर्षको रुपमा मनाउने घोषणा गरेकाले मेलाले सहयोग पु¥याउने उद्देश्य लिइएको अध्यक्ष खड्काले जानकारी दिए ।
मेला सम्पन्न गर्नको लागि करिव ३४ लाख खर्च हुने कालिका भगवती गुठीका अध्यक्ष खड्काले जानकारी दिए ।
मेलाका अवसरमा आन्तरिक पर्यटन वर्ष २०१९ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता, कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, भजन प्रतियोगिता, नौमति बाजा प्रतियोगिता, तारो खेल प्रतियोगिता, रथ यात्रा, जिल्ला भित्रका विविध सांस्कृतिक गतिविधी, सांगितिक प्रस्तुती लगायत जिल्लाको पर्यटकीय स्थलहरुको फोटो तथा डकुमेन्टी प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
मेलाको मुल समारोहको अवसरमा चैत्र ३० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उद्घाटन गर्ने अयोजकले जनाएको छ । मुल समारोहको दिन बागलुङ जिल्लाका १० स्थानिय तहको पहिचान बोकेका सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरिने गुठीका अध्यक्ष खड्काले जानकारी दिए । खड्काका अनुसार जिल्लाको पहिचानको प्रचारप्रसार गर्ने उद्देश्यले ४ नगरपालिका र ६ गाउँपालिकाको आ–आफ्नो पहिचान बोकेको सांस्कृतिक झाँकी प्रदर्शन गरिने जानकारी दिए ।
परापुर्वकालदेखि चैत्राष्टमी पर्वको अवसरमा मेला हेर्न र कालिका भगवती मन्दिरको दर्शन गर्नको लागि देशभरीबाट भक्तजनहरु कालिका भगवती मन्दिरमा आउने गर्दछन् । मेलाको अवसरमा बागलुङ र छिमेकी जिल्लामा उत्पादन हुने सामाग्रीहरुको ठूलो संख्यामा बिक्री वितरण गरिन्छ ।










