
बागलुङ, २२ चैत ।
नेपाल नेत्रज्योती संघ बागलुङले संस्थामा कुनै पनि प्रकारको आर्थिक अनियमितता नभएको प्रष्ट पारेको छ ।
शुक्रवार पत्रकार सम्मेलन गरेर संघका सभापति धु्रर्वबहादुर केसीले संचार माध्यममा आएझै अनियमितता नभएको दावी समेत गर्नुभयो ।
महालेखा परिक्षकको डोर टोलीले बेरुजु देखाएर फिर्ता गर्न भनेको रकम स्वेच्छिक रुपमा फिर्ता गरेको दावी गर्दै उहाँले अनियमितता गरेको भन्ने समाचार सत्य नभएको बताउनुभयो ।
महालेखाले १३ लाख रुपैयाँको काम दोहोरो भुक्तानी दिएको भन्दै बेरुजु देखाए पछि गत सात केसीले रकम फिर्ता गर्नुभएको थियो । नेत्रज्योती संघको भवनमा आँखा अस्पताल संचालनमा रहेको र आवश्यक पूर्वाधार निर्माणको क्रम चलिरहेको छ ।
नगरपालिकाबाट लगिएको पैसाले काम भएको स्पष्ट भए पनि प्राविधिक त्रुटीले बेरुजु देखिएको उहाँले दावी गर्नुभयोे । हाल निर्माणाधिन भवनका लागि नगरपालिकाबाट गत बर्ष ५० लाख १५ हजार रुपैयाँ बिनियोजन भएकोमा ३७ लाख निकासा भइ १३ लाख संञ्चित कोषमा बसेको र उक्त रकम बेरुजु भएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष ०७३÷०७४ मा विनियोजित रकम मध्ये ३७ लाख रुपैयाँको काम सम्पन्न भएको र मेजरमेन्ट पुरा भए पनि प्राविधिकहरुको एक रुपता नहुँदा बाँकी रकम खर्च हुन नसकेको उहाँले बताउनुभयो ।
निर्वाचित जनप्रतिनिधि आए पछि आर्थिक ०७४ चैत्र २ गते नगर कार्यकापालिकाको अधुरा योजनाहरुलाई पुनः संचालनमा ल्याउने गरी पन्ध्र लाख विनियोजन भएको उहाँले बताउनुभयो ।
नेपाल सरकारबाट प्राप्त हुने कार्यालय संचालन बापतको १५ लाख रुपैयाँबाट रकम फिर्ता गरेको अध्यक्ष केसीले बताउनुभयो । कार्यालय संचालन र कर्मचारीको तलब भत्ता स्थानीय स्रोतबाट व्यवस्थापन गर्ने उहाँको भनाई छ ।










