
बागलुङ, २२ चैत ।
पर्वतमा सडक खाना महोत्सव हुनेभएको छ ।
नयाँ वर्ष २०७६ को अवसरमा पर्वत जेसिजले चैत्र ३० गतेदेखि बैशाख २ गतेसम्म महोत्सवको आयोजना गरेको हो ।
पर्वतमा आन्तरिक तथा बाह्य पर्यटक भित्राएर आर्थिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्याका साथ महोत्सव आयोजना गरिएको पर्वत जेसिजका अध्यक्ष मोहन आचार्यले बताउनुभयो ।
महोत्सवमा पर्यटक भित्राउन नेपाल पर्यटन बोर्ड, नेपाल सरकार पर्यटन मन्त्रालय, प्रदेश सरकार , उद्योग बाणिज्य महासंघ र जिल्लाका स्थानीय तहसंगको सहकार्य गर्ने जेसीज पर्वतले जानकारी दिएको छ ।
सडकमा खाउँ र सडकमै रमाउँ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवमा २५ हजारसम्म पर्यटक भित्राउने लक्ष्य लिइएको छ ।
महोत्सव सम्पन्न गर्न २४ लाख ३० हजार खर्च हुने अनुमान गरिएको छ । नेपालकै अग्ला चार वटा पुल, एसियाकै नमूना बञ्जिजम्प, यान्त्रिक पुल, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, मोदीबेनीधाम र सहस्रधारा झरनाको अवलोकन पनि महोत्सवको आकर्षण हुने आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय जातजाति अनुसारको खाना उपलब्ध हुने बताइएको छ । अध्यक्ष आचार्यका अनुसार, सिस्नो, ढिडो, मकै, आठो, रोटी लप्सीको विभिन्न परिकार उपलब्ध हुने छ ।










