
अर्जुन कार्की
बागलुङ, २१ चैत ।
जापानमा भएको कोपा पुमा टोरेरस कप फुटबलमा नेपाली टोली क्वाटरफाइनलबाट बाहिरिदै नेपाल फर्केको छ ।
नेपालको यू–१२ टोलीले प्रतिस्पर्धा गरेको ९ खेलमा ४ मा बराबरी ३ मा जित र २ मा हार बेहोर्दै क्वाटरफाइनलबाट बाहिरिदै नेपाली टोली घर फर्के हो ।

अखिल नेपाल फुटबल संघ कास्कीले नेपालको १८ जिल्लाबाट १२ वर्षमुनीका १२ जना खेलाडीहरु छनोट गर्ने क्रममा ९ जिल्लाका मात्र खेलाडीहरु छनोट भएका थिए । उक्त प्रतियोगितामा भाग लिनको लागि बागलुङबाट पहिलो पटक टिममा स्थान बनाएका बागलुङका १२ वर्षिय खेलाडी विविध थापाले प्रतियोगिताभर उत्कृष्ट खेल प्रस्तुत गरेका थिए ।
नेपालले खेलेका सबै खेलमा सहभागी राईड हेनसाईडर डिफेन्डर थापाले खेलभर उत्कृष्ट खेल प्रस्तुत गर्दै ३ गोल समेत गरे । उनले ९ खेलमा ३ गोल गरेका हुन् । उनले तीन पटक नै कर्नर बललाई जालि चुमाउँदै आफ्नो नाममा गोल दर्ता गरेका थिए । बागलुङका थापाले नुमाजु, ग्रिन टाउन र ओमियासँगको खेलमा गोल गरेको बताइएको छ ।
कास्की जिल्ला फुटबल संघको संयोजन र जापानको फन रुट्स एकेडेमीको सहकार्यमा नेपालबाट १२ वर्षसम्मका बालबालिकाहरुले प्रतियोगितामा सहभागिता जनाउँदै छ ।

डिफेन्डर पोजिसनमा खेल्ने थापाले मिडफिल्डमा समेत उत्कृष्ट खेल प्रस्तुत गर्न सक्छन् । नेपालको टिमबाट जापानको पुमा टोरेरस कप फुटबल खेलेका थापा जिल्लाकै पहिलो खेलाडी हुन् । जापानमा उत्कृष्ट खेल प्रस्तुत गरेपछि उनलाई जिल्लाको उदाउँदो खेलाडीको रुपमा हेरिएको छ ।
प्रतियोगितामा नेपाली टिमलाई सहभागिता गराउनको लागि मुख्य भुमिका खेलेका नेपालका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले नेपाली खेलाडीहरुको प्रदर्शनले आफुलाई खुसी लागेको बताएका थिए । टिमलाई प्रशिक्षण समेत दिएका गौचनले नेपाली खेलाडीहरुले राम्रो प्रशिक्षणको मौका पाएमा अझै राम्रो गर्न सक्ने बताए ।

बागलुङका खेलाडीहरुले नेपालको उमेर समुहको राष्ट्रिय टिममा स्थान बनाउँदै खेल प्रस्तुत गरेपनि अहिलेसम्म अन्र्तराष्ट्रिय टिममा स्थान बनाउन सकेका छैनन् । थापाले आफुले पछि नेपालको जर्सि लगाएर देशको लागि खेल्ने सपना बनाएको प्रतिक्रिया दिएका छन् ।
थापा जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष विकास थापाका जेठा छोरा हुन् । उपाध्यक्ष थापा पनि पहिले जिल्लाबाट खेल्दा डिफेन्डरको भुमिकामा खेल्ने गरेका थिए । छोराले आफ्नो पाइला पछाएकोमा खुसी लागेको उपाध्यक्ष थापाले बताए ।
आफुले नेपालको जर्सि लगाएर देशकोलागि खेल्ने सोच बनाएपनि उक्त सपना पुरा नभएको दुःख लाग्ने गरेपनि अहिले छोराको प्रगतिले आफ्नो सपना छोराले पुरा गर्न सक्ने थापाले बताए । ‘छोराले राम्रो खेल प्रस्तुत गरेको छ त्यसमा धेरै खुसी लागेको छ,’ थापाले भने–‘आफ्नो सपना पुरा नभएपनि छोराको सपना पुरा गर्नको लागि उसलाई खेल प्रति लाग्न आफुले सधै साथ दिनेछु ।’










