
बागलुङ, १४ चैत ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला संयन्त्र बागलुङले दश स्थानीय तहमा बराबरी नेतृत्व हुने गरी पार्टी एकता गर्ने निर्णय गरेको छ ।
जिल्ला संयन्त्रको बैठकले बागलुङमा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगार्ड गाउँपालिका, ढोरपाटन नगरपालिका र जैमिनी नगरपालिकामा तत्कालिन एमाले र बरेङ्ग गाउँपालिका, ताराखोला गाउँपालिका, गल्कोट नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा तत्कालीन माओवादी केन्द्रको नेतृत्व रहने निर्णय भएको हो ।
एउटा पार्टी नेतृत्व रहने स्थानीय तहमा अर्का पार्टी सचिव बनाउने निर्णय भएको छ । बैठकले स्थानीय तह र जनसंगठन एकीकरण गर्न विभिन्न कार्यदल गठन गरेको छ । दुई दिनसम्म संचालन भएको बैठकले पार्टीका स्थानीय कमिटीहरुलाई एकिकरण गर्न चैत्र २५ गते भित्र नगर, गाउँ संयन्त्रको बैठकबाट निर्णय गरी नगर, गाउँ कमिटीको नेतृत्व र कमिटीको नामावली जिल्लामा पठाउने निर्णय गरेको छ ।
पार्टी सदस्यताको विवरण आ–आफ्नै पुर्व पार्टीको अभिलेखमा मात्रै भएकोले चैत १८ गते भित्र एउटै अभिलेखमा एकिकृत गर्ने निर्णय भएको जिल्ला संयन्त्र सदस्य लालबहादुर थापाले जानकारी दिनुभयो । सदस्यता एकिकृत गर्न संयन्त्रका सदस्य ज्ञामनाथ गैरे र विष्णु भूषाललाई जिम्मेवारी दिइएको छ ।
साथै भौतिक सम्पत्ति एकिकरणको लागि संयन्त्र सदस्य फमलाल निउरे र कृष्ण पाठकलाई जिम्मेवारी दिने निर्णय भएको छ । गाउँ, नगर कमिटीको अन्तिम टुंगो जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले लगाउनेछ भने वडा कमिटीको अन्तिम टुंगो गाउँ तथा नगर संयन्त्रको सिफारिसमा जिल्लाले लगाउने छ ।
दश वटै गाउँ तथा नगर संयन्त्रको बैठक, जिम्मेवारी र नेतृत्वको विषयमा केन्द्रीय कमिटीका सदस्य मना केसी, प्रदेश सदस्य इनद्रलाल सापकोटा, जिल्ला संयन्त्र सदस्य ज्ञामनाथ गैरे, कृष्ण पाठक, लालबहादुर थापा, फमलाल निउेरे, चन्द्रबहादुर बुढा, विष्णु भुषाल, राजिव घिमिरे लगायतका नेतृत्वलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।
गाउँ, नगर संयन्त्रको बैठकमा सम्बन्धीत भूगोलका पार्टी प्रदेश कमिटीका सदस्य अतिथिको रुपमा सहभागी हुने बताइएको छ । प्रस्तावित जिल्ला कमिटीका सदस्यहरु आमन्त्रित अतिथीको रुपमा रहने र वडा संयन्त्रको बैठकमा सम्बन्धीत वडाको पूर्व दुवै पार्टीका इन्चार्ज अतिथिको रुपमा रहने निर्णय भएको छ ।
जिल्ला तहका जनसंगठनलाई एकिकरण गर्ने जनसंगठन एकता कार्यदल गठन गरिएको छ । कार्यदलले जनसंगठनका कामहरुलाई संयोजन, समन्वय र व्यवस्थापन गर्दै एकिकरणका लागि आवश्यक मापदण्ड र निर्णय गर्नेछ ।










