लागु औषध नियन्त्रण गर्नः प्रहरी सक्रियता र सचेतना मुलक कार्यक्रम

बागलुङ, १६ फागुन
जिल्ला प्रहरी कार्यालय बागलुङमा नवआगन्तुक प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरी शर्माले आगु औषधको कारोवार र सेवनलाई निरुत्साहत गर्न विशेष कदम चाल्ने बताउनुभएको छ ।
जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै एपी शर्माले छिमेकी जिल्लाको सहकार्यमा चेकजाँचलाई कडाई गर्नुका साथै अभिभावक सचेतनामुलक कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
‘लागुऔषध सेवन नियन्त्रणको मुख्य भूमिका अभिभावकको हुन्छ’ उहाँले भन्नुभयो– ‘अभिभावक सचेत भए कानुनी बाटो अप्नाउनु पर्दैन । धेरै अभिभावकले दुव्र्यसनमा लागेका छोराछोरीलाई संरक्षण गर्ने सँस्कृतिको कारण लागुऔषध प्रयोगकर्तालाई प्रोत्साहन मिलेको उहाँको भनाई छ ।


समाज, नाम, इज्जत र प्रतिष्ठानको डरले अभिभावक खुल्न चाहँदैनन’ उहाँले भन्नुभयो– ‘सन्तानप्रतिको लालजीपनले सर्वस्व गुमाउनु दुर्भाग्य हो ।’ नियमीत सरुवाका क्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट आउनुभएका शर्माले ट्राफिक व्यवस्थापनमा रहेका कमि कमजोरीको सुधार गर्दै दुर्घटना कम गर्न यात्रुलाई सचेत हुन आग्रह गर्नुभएको थियो ।
पहाडी क्षेत्रमा यातायातको उपलब्धता कम हुँदा अनेक समस्या रहेको उल्लेख गर्दै उहाँले यात्रु स्वयम सचेत बनी असुरक्षित यात्रालाई अस्विकार गरे दुर्घटना न्यूनिकरण हुने बताउनुभयो ।
प्रहरी प्रशासन र पत्रकारहरुको सहकार्य गरी बागलुङलाई शान्त, सुरक्षित र समृद्ध सहर बनाउन दुवैको सहकार्य हुनुपर्ने उहाँको तर्क थियो । प्रहरीले कार्य सम्पादनको शिलशिलमा गरेका कमीकमजोरीलाई जिम्मेवारीपूर्वक खबरदारी गर्न उहाँको आग्रह थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले जिल्लाका पत्रकार संचारकर्मीले पेसागत मर्यादालाई आत्मसाथ गर्दै सामाजिक कार्यमा प्रहरीसँग सहकार्य गर्ने बताउनुभयो ।