बागलुङमा पनि मनाइयो पृथ्वी जयन्ती

बागलुङ, २७ पुस ।
बागलुङ जिल्लामा पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ती बिबिध कार्यक्रम गरि मनाइएको छ । बागलुङमा नागरिक स्तरमा समिति गठन गरेर पृथ्वी जयन्ती मनाइएको हो ।
नेपालको छरिएर रहेको बाइसे चौबिसे राज्यलाई एकीकृत गरि एउटा सिंगो राष्ट्र निर्माण गर्न पृथ्वीनारायण शाहले खेलेको भुमिकालाई बिर्सदै गएको हुनाले अहिले नागरिक स्तरमा पृथ्वी जयन्ती मनाउनु सकारात्मक पक्ष भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।
कार्यक्रममा नागरिक समाज बागलुङका संयोजक अधिबक्ता काजी गाउँले श्रेष्ठले नेपालीको एकिकरणको सवालमा पृथ्वीनारायण शाहले खेलेको भुमिकालाई सबै नेपालीले स्मरण गर्न जरुरी भएको धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता पृथ्वी जयन्ती नागरिक समारोह समितिका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, स्वागत धौलागरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गोबिन्द गौतम र संचालन समितिका सचिव कृष्णराज शर्माले गरेका थिए ।