मगर संघ गण्डकी प्रदेशको प्रथम अधिवेसन सुरु

बागलुङ, २७ पुस ।
नेपाल मगर संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन बागलुङमा सुरु भएको छ । अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले मगर संघ कुनै जातजातिको विरुछमा स्थाना नभएको बताउनुभएको छ । उहाँले मगर संघ सबै उत्पीडित समुदायको अधिकारका लागि लड्ने बताउनुभयो । अध्यक्ष रोका मगरले सरकारले कसैलाई बढि काखी च्याप्ने र कसैलाई हेप्ने गरेका कारण नै अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो ।


यस्तै कार्यक्रममा नेपाल मगर संघका पूर्व अध्यक्ष एवं संरक्षक झकबहादुर थापाले नाम मात्रको संघियताले नेपालको मगर तथा आदिवासी जनजातिलाई झन् पीडित बनाएको बताउनुभयो । उहाँले प्रदेशको नामाकरणको सवालमा ३४ प्रतिशत मतलाई लत्याएर बहुमतको आधारमा गण्डकी प्रदेश नामाकरण गरिएको बताउँदै यहाँको ऐतिहाँसिक पृष्ठभूमिलाई समेत जोडेर तमुवान मगराँत पनि संगै जोडौं भन्दा सरकार पक्ष नमानेर पलेर लगेकाले बताउनुभयो । उहाँले आफुहरुको कुरा नसुनेमा निरन्तर संघर्ष गर्ने बताउनुभयो ।
बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठकले राजनीतिक परिवर्तनको लागि मगर समुदायले खेलेको ईमान्दार भूमिका प्रशंसनीय भएको बताउनुभयो । उहाँले राजनीतिक अधिकारको आन्दोलन सकिएकाले आर्थिक अधिकारका लागि समाजवादमा जानुपर्ने बताउनुभयो ।


कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगर, नेकपाका नेता लिलबहादुर थपा, नेपाल मगरसंघ केन्द्रीय उपाध्यक्षद्वय दलबहादर विरकट्टा मगर, गंगा खासु मगर, नेकपा बागलुङका जिल्ला संयन्त्र सदस्य लालबहादुर थापा, नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य यामबहादुर घर्ती, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले राज्यले सबै जातजाति र भाषाभाषीलाई समान दृष्टिले हेर्नुपर्नेमा जोड दिएका थिए ।
शुक्रबार सुरु भएको अधिवेसनले ५५ सदस्यीय प्रदेश समिति गठन गर्ने नेपाल मगर संघ गण्डकी प्रदेश अध्यक्ष खेमबहादुर पुनले बताउनुभयो । अधिवेसनमा १० जिल्ला र ७४ स्थानीय तहबाट करिब तीन सय प्रतिनिधि सहभागी भएको र सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिने नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापाले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन मगर संघ प्रदेश सचिव पूर्णबहादुर रानाले गरेका छन् । अधिवेसन शनिबार सकिनेछ ।