
बागलुङ, २६ मंसिर
प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली काँग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ ।
प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ काँगेसले अन्य दलभन्दा बढी मत पाएको छ । काँगेसले प्रतिनिधिसभातर्फ ३५ हजार ६६८ र नेकपा(एमाले)ले ३० हजार ६३५ ल्याएका छन् ।
समानुपातिकमा तेस्रो स्थान ओगटेको राष्ट्रिय जनमोर्चाले १५ हजार ९३४ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले १४ हजार ४५० मत ल्याएर चौथो भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २१२ तथा जिल्लामा संगठन नै नभएरको विवेकशील साझा पार्टीले एक हजार १९६ मत प्राप्त गरेका छन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले ८४९, नयाँ शक्ति पार्टीले ४०५, नेकपा(माले)ले ३६४ संघीय समाजवादी फोरम नेपालले २१४ र नेपाली जनता दलले १०५ मत ल्याएका छन् । कुल एक लाख ६७ हजार २८२ मतदाता रहेको बागलुङमा एक लाख आठ हजार १५१ मत खसेको थियो ।
जिल्लाका दुई प्रतिनिधि र चार प्रदेशसभामा प्रत्यक्षतर्फ वाम गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमाले, माओवादी केन्द्र र राजमो गठबन्धन बनाएर चुनावी मैदानमा थिए भने काँग्रेसले एक्लै चुनाव लडेको थियो । विसं २०७० मा भएको चुनावमा जिल्लाका तीनै क्षेत्रमा जितेको काँग्रेसले यसपालि विरासत जोगाउन सकेन ।
यस्तै पर्वतको समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभाको समानुपातिक मतमध्ये एमालेले ३० हजार ९९९ र नेपाली काँग्रेसले २५ हजार १९० मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (माओवादी केन्द्र)ले छ हजार ४४९, विवेकशील साझा पार्टीले एक हजार ५७१, राप्रपाले ५२५, राप्रपा (प्रजातान्त्रिक)ले १५३ र संघीय समाजवादी फोरम नेपालले ४० मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा(माले)ले १७६, राष्ट्रिय जनमोर्चाले ४७५, राष्ट्रिय जनमुक्ति पार्टीले ३८६, नेपाली जनता दलले ११२ र नयाँ शक्ति पार्टी नेपालले २२७ मत प्राप्त गरेका छन् । यस्तै प्रदेशसभातर्फको मतगणनामा पनि एमाले नै अगाडि देखिएको छ । एमालेले २८ हजार २७४, काँग्रेसले २३ हजार ९७६ र माओवादी केन्द्रले ८३८ मत प्राप्त गरेका छन् ।
विवेकशील साझाले ९७९ र राप्रपाले ७२३ मत प्राप्त गरेका छन् । अन्य राजनीतिक दलले भने न्यून मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । समानुपातिकमा पाँच सयभन्दा बढी मत ल्याउनेमा अन्य पाँच दल छन् ।










