
हिम विक्रम
काठमाडौं, २६ मंसिर ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा छ । अहिलेसम्म प्राप्त नतिजाले केन्द्रीय संसदमा दलहरुले प्राप्त गर्ने हैसियतको मोटामोटी आकार बनिसकेको छ ।
समानुपातिकतर्फ दलहरुले प्राप्त गर्ने सिटले केन्द्रीय संसदमा संख्यात्मक हिसाबले दलिय उपस्तिथिको टुंगो लगाउनेछ । एउटा संख्या तय छ, त्यो हो- निर्वाचनमार्फत १ सय ६५ जना र समानुपातिकतर्फ १ सय १० जना सांसदले केन्द्रीय सदनमा प्रवेश पाउनेछन् ।
सुरुमा टिकट पाउनै गाह्रो, टिकट पाए जित्न । निर्वाचनको महासंग्रामबाट चुनाव जितेर संसदमा आएका सांसदको पारिश्रमिक कति होला ? सबैमा चासो छ । तपाईंले जिताएका संघीय संसदका प्रतिनिधिले कति सेवासुविधा पाउलान् ?
तपाईंले चुनेर पठाएका प्रतिनिधिसभा सदस्यले मासिक ५५ हजार २ सय ३० रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । विशेष भत्ताबापत सांसदलाई मासिक एक हजार, बैठक भत्ता ५ सय र टेलिफोन सुविधामार्फत ३ हजार रुपैयाँ राज्यले प्रदान गर्नेछ ।
सांसदलाई आवासको सुविधासमेत छ । त्यसबापत उनीहरुले मासिक १८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सांसदहरुले एकमुष्ट पाउनेगरी फर्निचर खर्च १५ हजार रुपैयाँ उलपब्ध गराइनेछ ।
यातायात सुविधामार्फत १ हजार, बिजुली र पानीको २ हजार, दैनिक भत्ता २५ सय र पैदल भ्रमण भत्ताबापत प्रतिकोस २५ रुपैयाँको व्यवस्था गरिएको छ । सांसदको यात्रा बिमा १० लाख रुपैयाँ रहनेछ भने अशक्त भएका सांसदलाई आर्थिक सहायताबापत ५० हजार एकमुष्ट दिने व्यवस्था गरिएको छ ।
सांसदहरुलाई निजी सचिवालयको समेत व्यवस्था गरिएको छ । सांसदहरुले एक जना तृतीय श्रेणीको स्वकीय सचिव निजी सचिवालयमा राख्न पाउनेछन्। स्वकीय सचिवालयले सरकारी स्केलअनुसारको तलबमात्र पाउनेछन् । सो पारिश्रमिक उनीहरुको बैंक खातमा उपलब्ध गराइनेछ ।
स्वकीय सचिवको तलब र संसद भत्ता, पैदल भत्ता लगायतका सुविधा छोडेर एक सांसदले पारिश्रमिक सुविधावापत एक महिनाको करिब लाख रुपैयाँ प्राप्त गर्नेछन् ।









