
६ मंसिर, काठमाडौं ।
शिक्षा विभागले कक्षा ८ को जिल्लास्तरीय परीक्षा अब स्थानीयस्तरबाटै सञ्चालन गर्न क्षेत्रीय निर्देशनालय र जिल्ला शिक्षा कार्यालयलाई पत्र पठाएको छ ।
विभागको उक्त पत्रपछि अब हुने शैक्षिक सत्रको परीक्षा स्थानीय तहले सञ्चालन गर्नेछन् । नयाँ संविधानपछि तीन प्रकारको सरकारको परिकल्पना गरिएको थियो । एक तहको सरकार स्थानीय निकाय हुने भनेर संविधानमा लेखिएको छ ।
स्थानीय तहलाई १२ कक्षासम्म सञ्चालन गर्ने र पाठ्यक्रम तय गर्ने अधिकार संविधानले दिएको छ । यसअघि जिल्लास्तरीय परीक्षाको रुपमा सञ्चालन गरी प्रमाणीकरणको कार्य जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएको थियो । विभागले सबै जिल्ला र ५ वटै क्षेत्रीय शिक्षा निर्देशनालयलाई निर्देशन दिँदै अब सञ्चालन हुने परीक्षा स्थानीय तहबाटै गर्न भनेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन ०६४ जारी भइसकेको र उक्त ऐनले कक्षा आठको अन्तिम परीक्षा सञ्चालन, व्यवस्थापन तथा प्रमाणीकरण स्थानीय तहबाटै हुनुपर्ने व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गर्न पत्र पठाएको हो । मंसिर ३ गते बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएपछि विभागले सबै जिल्लामा अनिवार्य लागू गर्न पत्र पठाएको हो ।









