
राजेशचन्द्र राजभण्डारी
नेपालमा सबैभन्दा बढी लुटको धन्दा कहाँ चलेको छ ? भनेर नेपाली जनतालाई प्रश्न गर्ने हो भने सहजरूपमा यसको जवाफ आउछ निजी अस्पतालमा यो कुनै आरोप हैन तितो यर्थाथ नै हो । देशमा सबैभन्दा महंगो क्षेत्र भनेको अहिले स्वास्थ्य क्षेत्र भएको छ ।
देशमा सरकारले नेपाली जनतालाई सस्तोमा स्वास्थ सेवा दिने भनी गाउँ–गाउँमा स्वास्थ्य केन्द्र देखि जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल नखोलेको पनि हैन तर पनि नेपाली जनताले सहजै उपचार गर्न भने पाएका छैनन् ।
अहिले सानातिनो रोग लागि हाल्यो भने जिल्लामा सामान्य उपचार भन्दा हुन सक्दैन अहिले सरकारले नेपाली जनताको लागि स्वास्थ्य बिमा कार्यक्रम ल्याएको छ तर त्यो पनि नाममात्रको भन्दा फरक नपर्ला कतिपय सर्बसाधारणले त केही लाभ लिए पनि जिल्लामा उपचार र डाक्टर दुबै दुर्लभ हुँदा बिरामी भयो कि निजी अस्पतालको शरणमा नगै सुख नै छैन । साच्चिकै भन्ने हो भने यतिबेला नेपालको निजी अस्पताल जनताको स्वास्थ सेवा भन्दा पनि बिरामी उपचारको नाममा पैसा कमाउने धन्दा बन्न पुगेको छ ।
केही दिन अघि मात्रै पोखरामा बिजुलीको तारमा जलेको एक युबकको उपचार राजधानीको नाम चलेको निजी अस्पतालमा गरियो तर उपचार खर्चको नाममा १ करोड ११ लाख असुली गरेपनि बिरामीको भने मृत्यु भयो धन्दा गजबको छ । पैसा कमाउने पनि तरिका हुन्छ अहिले सडकमा गुण्डाले पेस्तोल तेर्साएर पैसा लुट्नुलाई मात्रै हामीले लुट भन्छौ तर यहाँ दिनदाहाडै अस्पतालमा भर्ना भएको बिरामीलाई खुलेआम लुटिरहेका छन् तर हामीले त्यसलाई लुट देख्दैनौ साच्चै गुण्डाले भन्दा सजिलोसँग लुट्ने धन्दा बनिसकेको छ । अहिले हामी कहाँ निजी अस्पताल र त्यहाँका संचालकको जसरी भएपनि दिन दुई गुणा रात चौगुणा पैसा कमाउनु परेको छ । यस्तो लुटको बारेमा बोल्ने कुनै निकाय छैन । भए पनि उसको नजर पर्दैन जिल्लामा केही सेवामूलक रूपमा काम गर्न कम्मर कसेर खुलेको अस्पताल नभएको हैन तर ती अस्पताल चलाउन हम्मेहम्मे पर्छ न त भने जस्तो डाक्टर पैसा दिएर राख्न सक्छ न त मनपरि पैसा असुली गर्न यस्तो अस्पतालमा बिरामीको बिश्वास पनि छैन ।
सरकारले जस्तोसुकै नीति बनाएपनि जिल्लामा दुर्गममा डाक्टर स्वास्थ्यकर्मी नै जान मान्दैनन् । केहीगरि सरकारले खटाइहाल्यो भने पनि राजनीति पावर लगाएर केन्द्र मै बस्छन् जनताको स्वास्थ्यसंग कसैलाई सरोकार छैन । सरकारले अस्पताल भबन निर्माण गर्न करोडौं बजेट छुट्टाए पनि ठेकेदारले समयमा काम गर्दैन तर पनि सरकारले केही गर्न सक्दैन ।
गरिब जनता बिरामी भए कि रोग पालेर मर्ने हो कि भएको जायजेथा सबै बेचेर सुकुम्बासी हुनुभन्दा अर्को बिकल्प पनि छैन । अहिले त गाउँ घरमा बरू शत्रु लागोस तर रोग आफ्नो शत्रुलाई पनि नलोस् भन्न थालेका छन् ।
अहिले जतिजति आधुनिक युग भन्छौ उतिउति नयाँ रोगले बजार लिएको छ । अहिले मुटुको रोग, मृगौलाको रोग त सामान्य जस्तो भैसकेको छ । जसलाई सोधेपनि एउटा न एउटा रोग नभएको मान्छे भेट्न गाह्रो छ । एकपटक डाक्टरको फेलापरेपछि बरू रोगले छोड्ला अस्पताल र डाक्टरले सजिलोसँग छोडदैनन् यो त तपाईं हामीले समाजमा देखेको भोगेको तितो सत्य हो ।
नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री, नेता, सरकारी कर्मचारी बिरामी भए नेपालमा उपचार गराउन चाहदैनन् बिदेश जान्छन् । नेपालीहरूले गाउँ घरमा एक चक्की सिटामोल, एक पाकेट जीवनजल पाउन पनि गाह्रो छ । अहिले सबैको लागि स्वास्थ्य भनेर हामी यहाँ चिच्याउनुको कुनै अर्थ देखिन अहिले सबै लुटको धन्दा गरिरहेकाले जनताको कुरा सुन्ने कसले ।
हुनपनि करोडौं रूपैयाँ खर्च गरेर निजी अस्पताल खोलेको यहाँ समाजसेवा गर्नको लागि अबश्य हैन । जसले पैसा लगानी गर्छ उसले आफ्नो फाइदा खोज्नु स्वभाबिक नै हो । तर अस्पतालमा उपचारका नाममा मनपरि तरिकाले बिरामीलाई सरोकार नभएको सबै टेष्ट गर्न लगाएर रोगको लागि खानै नपर्ने औषधी एक झोला भिराउने जुन गलत प्रबृत्ति छ यसलाई रोक्न पनि कसैले सकेको छैन ।
अस्पतालमा उपचार गर्दै बिरामीको मृत्यु भए पनि बिरामीलाई आइसियुमा राखेर बिरामी ठिक हुन्छ भन्दै एकहप्ता राखेर लाखौं रूपैयाँ असुली गरेको कुरा संचार माध्यममा आइरहन्छ तर पनि अस्पतालको धन्दामा न त कमि आएको छ न त सरोकारवाला निकाय पुगेर त्यसलाई सुधार गराउन नै सकेको छ । अहिले हेर्दा लाग्छ सबैको मिलेमतो छ कि भनेर भन्नुपर्ने बेला आएको छ ।
अहिले हामीले लोकतन्त्रको कुरा गर्छाै हामी अहिले गणतन्त्रमा प्रबेश गरिसकेका छौ । हामीले अहिले उदार अर्थतन्त्रको कुरा गर्छाैं जुनसुकै क्षेत्र पनि निजीकरण गर्दा हामी चुपचाप रमिते बनेर बस्छौ । आफ्नो पार्टीको सरकारले जे जस्तो सुकै नराम्रो गरेपनि हामी बिरोध गर्दैनौं अनि सबै कामकुरो बिगरिएपछि मात्रै ठूलो कुरा गर्छाै । अनि कसरी जनताको पक्षमा काम हुन्छ जसले पैसा खर्च गर्न सक्छ त्यसको उपचार सरकारी खर्चमा निशुल्क हुन्छ । जसको निशुल्क हुनुपर्ने हो त्यसले आफ्नो सम्पत्ति बेचेर उपचार गर्नुपर्छ ठिक उल्टो छ यहाँको नीति नियम । ठुलोलाई चैन खाली सानालाई मात्रै छ यहाँ बिडम्बना ।
हामीले जतिसुकै कुरा गरेपनि यहाँ सुधार छैन । डाक्टर गोबिन्द केसीले १७ पटक भन्दा बढी अनशन बसिसके तर पनि स्वास्थ्य नीतिमा सुधार छैन अहिले पनि सरकार देखि नीति निर्माणमा माफियाको हात छ, चलखेल छ अनि कसरी डाक्टर गोबिन्द केसीले उठाएको माग सम्बोधन हुन्छ, न पूरा नै यहाँ हामी नेपाली जनताले डाक्टर केसीलाई समर्थन गर्नुपर्नेमा उल्टो उनलाई गाली गलोज गर्छाै अनि उहीँ माफियालाई फाइदा पुग्ने काम गर्छाैं ।
सरकारले अहिले गरेको स्वास्थ्य बिमा नेपालको जुनसुकै स्वास्थ्य संस्थाबाट निःशुल्क पाउने ब्यबस्था गर्न जरुरी छ । ५ जनाको परिवारलाई ५० हजारको उपचार सुबिधा भनिएको छ तर सरकारी अस्पतालमा एक बर्षमा ५ हजारको पनि सेवा नपाउने भए पछि त्यो बिमा गरेको के काम लाग्यो । अनि अर्को बर्ष फेरि नबिकरण गर पैसा तिर यो पनि अर्को धन्दा हो कि भनेर भन्न बाध्य भएका छन् नेपाली जनता । अहिले निजी अस्पतालमा हुने गलत धन्दालाई रोक्ने काम तत्काल गर्न जरुरी छ । सरकारले जनताको लागि स्वास्थ्य बिमा ५ जना परिवारलाई ५० हजारको सुबिधा होभने त्यो बराबरको सेवा सुबिधा नेपालको जुनसुकै सरकारी र निजी अस्पतालमा भयो भने पनि केही राहत अबश्य हुनेछ हैन भने स्वास्थ बिमाको नाटक पनि बन्द गर्दा राम्रो हुने छ ।
२०७४ कार्तिक २८ गते प्रकाशित










