
सीताराम कोइराला
काठमाडौं, २८ कात्तिक ।
अनिल गुरुङले सन् २००७ को अक्टोबरमा ओमान विरुद्ध पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाउने अवसर पाएका थिए । राष्ट्रिय टिममा ‘डेब्यू’ गरेपछि अनिलले लगातार १० वर्ष नेपाली फुटबल टिमको अग्रपंक्ति सम्हाले ।
१० वर्षमा १० अन्तर्राष्ट्रिय गोल गरेका अनिलले मंगलबार नेपालका लागि अन्तिम खेल खेल्दै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा एसिया कप छनोटअन्तर्गत फिलिपिन्स विरुद्ध खेलेपछि उनले १० नम्बर जर्सी थन्क्याउने निर्णय गरेका हुन् ।
नेपाली जर्सीमा अन्तिम खेल खेल्न लागेका अनिल मंगलबार नै ५०औं अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पार गर्दै छन् । दुई साताअघि नै संन्यासको घोषणा गरेका अनिलले १० नम्बरको जर्सी र नेपाली फुटबल फ्यानलाई मिस गर्ने भावुक अभिव्यक्ति दिएका छन् ।
‘फुटबलमा लागेर धेरै सफलता हात पारेँ। मलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिन्छु । दर्शकको माया र १० नम्बरको जर्सी मिस गर्नेछु’, अनिलले नेपाल लाइभसँग भने ।
उनले नयाँ पुस्ताका खेलाडीलाई स्थान दिन आफूले अन्तर्राष्ट्रिय खेलबाट संन्यासको घोषणा गरेको स्पष्ट पारे ।
‘फिलिपिन्स विरुद्ध मैदान उत्रिँदा मेरो ५० अन्तर्राष्ट्रिय खेल पूरा हुन्छ । नेपाली टिमबाट ५० खेल पूरा गर्नु गर्वको कुरा हो’, अनिलले भने ।
अनिलले गत जेठमा राष्ट्रिय टिमबाट खेलेका थिए । यमन विरुद्ध उनी अन्तिम समय मैदानमा उत्रिएका थिए । त्यो अनिलको राष्ट्रिय टोलीबाट कप्तानीको रुपमा अन्तिम खेल पनि थियो ।
पछिल्लो पाँच महिना नेपालले दुई अन्तर्राष्ट्रिय खेल खेल्दा अनिल टिममा अटाउन सकेनन् । अनिल राष्ट्रिय टिममा पर्न नसकेपछि विराज महर्जनले नेपालको कप्तानी गर्दै आएका छन् ।
०७२ मंसिरमा अनिलले पहिलो पटक कप्तानको जिम्मेवारी पाएका थिए । साफ च्याम्पियनसिपका लागि घोषणा गरिएको टिममा तत्कालीन प्रशिक्षक प्याट्रिक ओसेम्सले उनलाई कप्तानको जिम्मेवारी दिएका थिए ।
नियमित कप्तान सागर थापा विरुद्ध ‘म्याच फिक्सिङ’को अभियोग लागेपछि अनिललाई जिम्मेवारी सुम्पिएको थियो । सन् २००९ मा कप्तान बनेका सागरसहितका पाँच फुटबल खेलाडीमाथि एसियाली फुटबल महासंघ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएको थियो ।

सागरको स्थानमा कप्तान बने पनि अनिलले नेपाली टिममा नियमित स्थान बनाउन सकेका थिएनन् । गत वर्ष मलेसियामा भएको सोलिडारिटी कपमा जिम्मेवारी पाए पनि अनिल पहिलो रोजाइको टिममा परेनन् । अधिकांश खेलमा बेन्चमा रहेपछि उनको स्थानमा विराजले कप्तानी गरेका थिए । अनिल गत चैतमा घोषणा गरिएको राष्ट्रिय टिममा ८ वर्षमा पहिलो पटक पर्न असफल भएका थिए ।
२००८ मा उनले पाकिस्तान विरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । उनले सोही वर्ष अफगानिस्तान विरुद्ध पनि गोल गरे । पछिल्लो पटक सन् २०१३ मा उनले साफ च्याम्पियनसिपमा गोल गरेका थिए । दशरथ रंगशालामा भएको खेलमा अनिलले भारत विरुद्ध गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए ।
अनिल सन् २०१२ देखि मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । ब्रिगेड ब्वाइज क्लबबाट पहिलो पटक ए डिभिजन लिग खेलेका उनी थ्रीस्टार हुँदै न्युरोड टिममा पनि आबद्ध भएका थिए ।
अनिलको फुटबल करिअर १३ वर्षको उमेरमा पोखराको सहारा क्लबबाट सुरु भएको थियो ।
बेलायतको चेल्सी रिजर्ब र वोकिङ क्लबमा ट्रायल समेत दिएका अनिल भारतको आइ लिग क्लबमा पनि आबद्ध थिए । उनी बेलायतमा ट्रायल दिने पहिलो नेपाली फुटबलर हुन् । अनिल सन् २००९ मा आइ लिग क्लब सिलोङ लाजोङमा ६३ लाख रुपैयाँमा ३ वर्षका लागि अनुबन्धित भएका थिए ।
nepallive.com










