भैलीहरुको देशमा

बगरहरुको बिचै बिच भट्याउँदै आउँछन
सुस्स्याउने खोलाहरु ! ” आहै !! भैली भन!! ”

फुलबुट्टे चोलिमा पखेरामाथि
टुक्रुस्स बसेका गुराँसहरुबिचबाट
“देउसिरे !”भन्छ्न झ्याँउकिरी हरु साँझ साँझ ।

शिरैमा मखमली सिउरिएर
नृत्य देखाउँछ मयुर
र झुल्ने गर्छन भाग्यहरु खेतमा!

आकाश समाएर बगिरहने बादलहरु
चिहाउने गर्दछ्न
ताली बजाईरहने चुचुरा माथिबाट ।

शीत बनेर आउँछ्न इन्द्रेनीहरु र
पातहरुमाथी बाट चिहाउँछन,
दियो बालेर आउँछन जुनकीरी
र बनाउँछन झिलिमिली,
र खेल्छ्न भैलो!
“आहै भैली भन!!”

ओ प्रिय फूल !
प्रिय भैली !
यो पटक आशिष संगै मुस्कान पनि लिएर छरिदिनु
यहाँ बर्सौं भैसक्यो त्रिपाल उघारेर
मुस्कुराउँदै भैली हेर्न नपाएको ,
यो पाली मलाई दक्षिणा दिनु मन छ एकथोपा आँसु
भैलि आउँदा!

बन्धु