स्मृति

बाबा!
मलाई नै नसोधी
यो संसारमा मलाई भित्र्याइदिएपछी
आफ्नै परिचय कहाँ खोजु ?

आफ्नो भाग्य आफै लेख्छु है
भन्ने मेरा आखालाई नै छोपिदिएर
मलाई त जन्मेको एघारौं दिन मै
जुठो नाम दिएर चोख्याइएछ ।

जब खुशिका हाँगाबिगाहरु
जरै भुलेर दगुर्छन
तब दुखका असिनाहरु
दया भुलेर चुट्छन
लाग्छ कि , म त कसैको कथाको पात्र हु ।

जब खुला आखाले
आकशभन्दा माथी लक्ष्य खोज्छु
तब जिन्दगिको चौपायामा
कल्पनाको ध्रुवतारा भेटिन थाल्छ
लाग्छ कि , म त कसैको सपनाको अंश हु ।

जब मेरा आकाङ्क्षा
डराएर बादल पारी लुक्छन
तब वर्षाका थोपाहरु
गन्तव्यमा सल्बलाउन अतालिन्छन
लाग्छ कि , म त कसैको कविताको हरफ हु ।

बाबा !
म त फरकफरक मोडमा फरकफरक आफु भेट्छु
मेरो जिन्दगी त
मौसम भन्दा चाडो बद्लिदो रहेछ ।

मेरो नाङ्गो शरिरले
एक्लै जन्म अगाँल्यो
जिन्दगिले उसलाई साथी थपिदियो
नाम र शरिर एक भए
अनि जिन्दगी म्याराथनमा निस्कियो
उ भागिरह्यो , मृत्यु भने पछ्छाइरह्यो
शरीर त धोकेबाज ,
मृत्युुसँग विलिन भयो ।

अरे ! मेरो त नाम मात्र रह्यो
म त स्मृति भए ।
स्मृति रानाभाट
पोखरा