
ढाका (एजेन्सी), २२ असोज ।
बंगलादेशमा क्रिकेट खेलको दौरान अम्पायरिङ गरिरहेका एक किशोरलाई छातीमा बल लागेपछि उनको निधन भएको छ ।
रफियुल इस्लामलाई शनिवार अम्पायरिङ गर्ने क्रममा बलले लागेको बताइएको छ । उनको उमेर १७ वर्ष थियो। बलुर मठ मैदानमा भइरहेको क्रिकेट खेलमा उनी अम्पायरिङ गरिरहेका थिए ।
बलले लागेर गम्भीर बनेका इस्लामलाई तत्कालै अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषित गरे ।
स्थानीय पुलिस अधिकारी इमानुअल हकले यसको जानकारी दिँदै भने, ‘केटाहरुको समूह क्रिकेट खेलिरहेका थिए । मृतक किशोर अम्पायरिङ गरिरहेका थिए । एउटा बल उनको छातीमा लागेपछि उनी मैदानमा ढल्न पुगेका थिए ।’
प्रहरीले उनको पहिचान गरिसकेका छ । र, उनी गरिव परिवारको सदस्य रहेको बताएको छ । मृतक किशोरका बुवा रिक्शाचालक हुन् भने आमा अरुको घरमा गएर काम गर्छिन् । तीन वर्ष अगाडि खेलकै दौरान बलले लागेर अस्ट्रेलियाका ब्याट्सम्यान फिलिप ह्युजको निधन भएको थियो ।










