
बागलुङ, २० साउन
बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोका कारण दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर चार जना वेपत्ता भएका छन् । ढोरपाटन नगरपालिकाको अधिकारीचौर पाखापानीमा पहिरोमा पुरिएर ५४ वर्षीय ओमप्रकाश बिक र निसीखोला गाउँपालिका वडा नं। १ हुल्दीका एक बृद्धको मृत्यु भएको स्थानीयले जनाएका छन् । अधिकारीचौरमा घरमाथिबाट आएको पहिरोले बिक सहित पाँच जनालाई पुरेको थियो । बिकका तीन छोरी र श्रीमतीलाई स्थानीयले उद्धार गरेपनि बिकलाई बचाउन नसकिएको स्थानीयले बताएका छन् ।
यस्तै पहिरोमा पुरिएर निसीखोला गाउँपालिकाको देविस्थान स्थित बाहुनगाउँका मनिराज छन्त्यालको घर पुर्दा चार जना वेपत्ता भएको स्थानीय कविर विश्वकर्माले जानकारी दिनुभयो । दुई दिनदेखि परेको अवरल वर्षाका कारण निसीखोला र ढोरपाटन क्षेत्रका ठाउँ ठाउँमा पहिरो खसेको बिकले जानकारी दिनुभयो ।
बिकका अनुसार पहिरोले निसीखोलाको देविस्थानमा बढी क्षती पुराएको छ, बिहान मात्र देविस्थानका गोगलाल मल्लको घर खोलाले बगाएको छ भने देविस्थान स्वास्थ्यचौकी सहित दर्जनौं घर बाढी पहिरोको उच्च जोखिममा परेको बिकले जानकारी दिनुभयो । पहिरोका कारण सडक अवरुद्ध भएपछि घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । पहिरो प्रभावित क्षेत्रमा प्रहरी पठाइएको बागलुङका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो ।










