बागलुङका बुढाले विश्व च्याम्पियनमा खेल्ने

बागलुङ, १६ साउन
२० औं विश्व च्याम्पियनशिप आइटीएफ तेक्वान्दोमा बागलुङका निदेश बुढाले नेपालको तर्फबाट प्रतिष्पर्धा गर्ने भएका छन् ।
इन्टरनेशनल तेक्वान्दो महासंघको आयोजनामा २०१७ को सेप्टेम्बर १५ देखि २० सम्म कोरियामा हुने प्रतियोगितामा दिनेशले स्पायरिङ र प्याटन दुवै विधामा सहभागिता जनाउने भएका हुन् । ५६ देखि ६० केजी तौल समूहको स्पायरिङमा प्रतिष्पर्धा गर्दै उनले कोरियामा ५७ देखि ६३ केजीको स्मायरिङमा प्रतिष्पर्धा गर्ने भएको आइटिएफका केन्द्रीय सचिव राजु खड्काले जानकारी दिनुभयो ।
उनी व्ल्याकबेल्ट दोश्रो डान प्राप्त खेलाडी हुन् । ढोरपाटन नगरपालिका २ मा बाबु रामबहादुर र आमा देउकुमारीका ६ छोरा मध्ये साईला छोरा बुढा १६ बर्षको उमेरदेखिनै तेक्वान्दोको अभ्यासमा लागेका थिए । अहिले उनी २४ बर्षका भए । उत्तरगंगा उमाविबाट १२ कक्षा उत्तिर्ण भएका दिनेश खेललाई जीवनको लक्ष बनाएका छन् । यस अघि उनले दर्जन प्रतियोगिताहरुमा सहभागि जनाएर सफलता पनि पाएका छन् । साथै उनले २ वटा राष्ट्रिय प्रतिष्पर्धामा स्वर्ण पदक ल्याईसकेका छन् । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुँद प्रतियोगितामा पनि उनले स्वर्ण पदक जितेका थिए ।
सन् २०१५को थाईल्याण्डमा सम्पन्न पहिलो विश्व मार्शल आर्टस खेलमा उनले कास्य पदक जितेका थिए । ‘मैले यो प्रतियोगितामा नेपालको नाम उच्च बनाउने लक्ष राखेको छु’ उहाँले भन्नुभयो, ‘देशलाई चिनाउने अवसर पाएको छु, यो अवसरलाई सदुपयोग पनि गर्नेछु ।’ सन् १९९७ मा नेपालमा औपचारिक रुपमा आइटिएफ तेक्वान्दोको प्रशिक्षण शुरु भएदेखि अधिकांस खेलमा नेपालले राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिष्पर्धामा सहभागिता जनाउँदै आएको छ । साथै नेपालले विभिन्न पदक पनि जित्दै आएको छ । हरेक २ बर्षमा हुने यस्तो प्रतियोगितामा नेपालका ओमकार थापा र घम थापाले सन् २०११ मा पनि प्रतिष्पर्धा गरेका थिए ।