बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध

बागलुङ, ५ साउन
लगातारको अबिरल वर्षासँग बागलुङका अधिकांश ग्रामीण सडक अवरूद्ध बनेका छन् ।
वर्षाले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो जाँदा सडक अवरूद्ध बन्नुका साथै यात्रामा जोखिम बढेको छ । जिल्लामा खनिएका ग्रामीण सडक हिलाम्मे भएपछि यातायात सञ्चालनमा कठिनाई भइ जनजीवन प्रभावित भएको छ ।
ग्रामीण सडकमा यातायातका सवारीसाधन चलाउन समस्या भएको र सवारी साधन बिग्रिएर सडकमै रोकिने गरेकाले हैरान भएको यातायात व्यवसायीले बताएका छन् ।
जिल्लाका अधिकाश गाउँबाट सदरमुकाम जोड्ने सडक यतिखेर केही दिन देखिको लगातारको वर्षाले हिलाम्मे बन्नुका साथै यातायात सञ्चालनमा अत्यन्तै कठिन बनेको छ ।
मध्ये पहाडी लोकमार्ग अन्तर्गत भएर जोडिएक अधिकांश शाखा सडकहरुमा समस्या देखिएको छ । बाटो हिलो, ठाउँठाउँमा पहिरो र खाल्डाखुल्डी हुनले यात्रामा समस्या भएको अक्षते– धम्जा सडक खण्डमा जीप चलाउँदै आउनुभएका सवारी चालक जितबहादुर घर्तीले बताउनुभयो ।
आकाशबाट परेको पानी सडकमा जमेर सवारीसाधनको आवतजावतका कारण सडक हिलाम्मे हुने गरेको र बागलुङ बजारबाट सार्वजनिक सवारीसाधन पार गर्न र गाउँमा खाद्यान्न लैजानसमेत कठिन भएको यातायात व्यवसायीले बताएका छन ।