बानपा ३ बोक्सेमा पहिरोले पाईप बगाएसंगै बजार क्षेत्रमा १५ दिन पानी नआउने 

खवर वे सम्वाददाता
बागलुङ, २९ असार ।
बाग्लुङ नगरपालिका ३ बोक्सेमा गएको पहिरोले पाइप बगाएपछि बजार क्षेत्रमा करिव १५ दिन पानी नआउने सम्भावन देखिएको छ ।
बर्खा लाग्दा समेत पर्याप्त पानी वितरण नभएको भनेर उपभोक्ताको गुनासो आईरहँदा अहिले पानीको पुरै आपुर्ति बन्द भएपछि समस्या झन बल्झिएको छ ।

बाग्लुङ नगरपालिका—३ बोक्से गैरामा मध्येपहाडी लोकमार्ग छेउबाट खसेको पहिरोले डिआई पाईप बगाएपछि बाग्लुङ बजारमा खानेपानीको आपुर्ति बन्द भएको बाग्लुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बाग्लुङ प्रवन्धक हिमाल शर्माले बताउनुभयो । बोक्से गैरामा लोकमार्गबाट खसेको पहिरोले लेखानीको भुँदीखोला र रेशखोलाबाट ल्याएको दुई वटै पानीको पाईप बगाएको छ । पहिरो गएको ठाउँ अप्ठ्यारो भएकोले पाईप जोड्न समस्या देखिएको छ शर्माले बताउनुभयो ।

भुँदीखोला अन्तर्गत पानी आउने पाईप बगाएको एक हप्तादेखि त्यसको मर्मतका लागि लागिपरेका र बुधबार पुनः पाईप पहिरोले बगाएपछि बाग्लुङ बजारमा पानीको आपुर्ति ठप्प छ । बाग्लुङ बजारमा खानेपानीको सहज आपुर्ति हुन अझै १५ दिनसम्म लाग्न सक्ने शर्माले बताउनुभयो ।
पहिरो थामिएपछि रेशखोलाबाट पानी आउने पाईप जोड्न सके आँशिक वितरण गर्न सकिने र अर्को भने करिब चार सय मिटर लामो नयाँ पाईप बिच्छ्याएर लोकमार्गको कुनाबाट ल्याउने योजना बनाएको खानेपानी कार्यालले जनाएको छ । मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा माटो पाइपमाथि फाल्दिएकाले पाईप बगाएको स्थानमा निरन्तर पहिरो बगिरहेको भन्दै पाईप जडान गर्न नसकिएको खानेपानी तथा सरसफाई डिभीजन कार्यालयका सुपरभाईजर हरिप्रसाद पौडेलले बताउनुभयो ।

बाग्लुङ बजारमा खानेपानी वितरणको जिम्मा लिएको नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बाग्लुङले पहिरोले खानेपानीको पाईप बगाएपछि बिहीबार बिहानदेखि बाग्लुङ बजारमा पानीको आपुर्ति ठप्प भएको जनाएको छ । ३५ सय धारो भएको बागलुङ बजारमा ६० हजार जनसंख्या खानेपानीको अभावमा छन । त्यस ठाउँमा निरन्तर पहिरो खसिरहने भएकाले बैकल्पिक व्यवस्था नगरेसम्म बाग्लुङ बजारमा खानेपानीको समस्या बल्झिरहने देखिएको छ ।