सूचनाको हक प्रयोग गर्ने संस्कारको कमी

बागलुङ, २४ असार
बागलुङका सार्वजनिक निकायमा सूचनाका हक प्रयोग गरी सुचना माग्ने संस्कारमा कमी भएको पाईएको छ ।
संविधानले सार्वजनिक चासोका विषयमा कुनै पनि नागरिकले थाहा पाउने अधिकार सुनिश्चित गरे पनि सूचनाको हक– २०६४ को प्रयोग गरी सूचना माग्ने संख्या अति न्युन भएको जिल्ला स्थित सरकारी निकायका सूचना अधिकारीले बताएका हुन ।
राष्ट्रिय सूचना आयोगको सहयोग र नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको ‘सूचनाको हक विषयक’ अन्तरक्रिया गोष्ठीमा सहभागी सरकारी निकायका सूचना अधिकारीले जिल्लामा नागरिक तहबाट न्युनमात्रमा सूचना माग्ने संस्कार रहेको बताएका हुन ।
वार्षिक एक/दुई बाहेक सूचना पाउने निवेदन पेश नहुने बागलुङ नगरपालिका कार्यालयका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले बताउनुभयो । सूचनाको हक सम्पूर्ण नागरिकको लागि हो भन्ने बुझाईमा कमी भएकै कारण सूचना माग्ने संस्कार विकास नभएको उहाँको भनाई छ ।
कार्यक्रममा सहभागीले जिल्लामा सूचनाको हक अनुसार सरकारी तथा गैरसरकारी कार्यालयहरुले त्रैमासिक रुपमा प्रतिवेदन सार्वजनिक नगर्ने, कार्यालयका वेवसाईडलाई अद्यवद्यी नगर्ने तथा आर्थिक चासोका विषयमा तत्काल सूचना पाउन समस्या भएको गुनासो गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद मिश्रले सूचनाको हकको प्रयोगले नागरिकलाई बलियो बनाएको बताउँदै सार्वजनिक चासोका विषयलाई नागरिक स्तरबाटै खबरदारी हुनुपर्ने बताउनुभएको थियो ।
सरकारी कार्यालयमा तोकिने सूचना अधिकारीसँग प्रर्याप्त सूचनाको पहुँच नहुँदा सूचना प्रर्वाहमा समस्या भएको उल्लेख गर्दै जिल्ला कृषि विकास कार्यालय बागलुङका सूचना अधिकारी विप्लव अधिकारीले सरकारी निकायमा सूचना अधिकृतकै व्यवस्था गर्नुपर्ने बताउनुभयो । सूचनाको पहुँच कार्यालय र लेखा प्रमुखसँग बढी हुने भएकाले हाल भएका सूचना अधिकारी निर्णय हुनु नसक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा करदाता सेवा कार्यालयका प्रमुख सूर्यप्रसाद चापागाई, जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापकोटा, बानपा–११ का वडाअध्यक्ष ज्ञानेन्द्र गौतम, पत्रकार महासंघका निवर्तमान अध्यक्ष मकेशचन्द्र राजभण्डारी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्मा लगायतले बोल्नुभएको थियो । सो अवसरमा पत्रकार गणेश पौडेल, किरण आचार्य, नविन शिशिर, सज्जन कुमार सिंह लगायतले जिज्ञासा तथा सुझाव राख्नुभएको थियो ।
कार्यक्रम पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र राम थापाको संचालनमा सम्पन्न भएको थियो ।