
बागलुङ, २१ असार
स्थानीय तहमा दरबन्दी अनुसारको कर्मचारी नुहँदा जनप्रतिनिधिलाई कार्य सम्पादनमा समस्या भएको छ । बागलुङका स्थानीय निकायमा पर्याप्त कर्मचारी नखटाइँदा सेवाग्राही समस्यामा परेका छन् । कर्मचारी अभावले गर्दा स्थानीय तहको योजना तथा बजेट तर्जुमामा समेत समस्या भएको काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो । सरकारले असार २५ गतेभित्र स्थानीय तहको बजेत तर्जुमा तालिका सार्वजनिक गरेको छ ।
बागलुङमा ४ नगरपालिका र ६ गाउँपालिका गरि १० वटा स्थानीय तह रहेपनि अधिकांश स्थानीय तहका कार्यालयले कर्मचारी पाउन सकेका छैनन् । साविकको बागलुङ नगरपालिकामा मात्र पर्याप्त कर्मचारी रहेका कारण सेवा प्रवाहलाई निरन्तरता दिन सकेको छ । बाँकी स्थानीय तहका कार्यालयबाट कर्मचारी अभाव, स्थान अपुग, साधनश्रोतको कमीका कारण प्रभावकारीरुपमा सेवा सञ्चालनमा समस्या रहेको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । स्थानीय निकाय पुर्नसंरचनासंगै सरकारले निर्धारण गरेको बागलुङको ४ नगरपालिका र ६ वटा गाउँपालिकामा स्थानीयस्तरबाटै कामकाज सुरु भए पनि अझै करिव एक सय ५५ कर्मचारी अभाव भएको छ ।
जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यका अनुसार नयाँ संरचना अनुसार स्थानीय तहमा कार्यकारी अधिकृत र लेखा अधिकृत बाहेकका अन्य कर्मचारीको व्यवस्थापन गर्न सकिएको छैन । सरकारले कर्मचारी व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई प्रदान गरे पनि जिल्लामा कुन–कुन कार्यालय रहन÷नरहने तथा कर्मचारीको वास्तविक तथ्याङ्गक उपलब्ध नहुँदा कर्मचारी समायोजनमा समस्या भएको स्थानीय विकास अधिकार आचार्यको भनाई रहेको छ ।
कतिपय स्थानमा साविकका गाविस सचिवले दुई÷तीन वटा वडाको समेत कार्य गरेर स्थानीयस्तरबाट जनताको काम सञ्चालन गरिएको छ । सरकारले पछि लोकसेवा मार्फत उत्तिर्ण भएका कर्मचारी पठाउने आश्वासन दिए पनि अहिलेसम्म कार्यकारी अधिकृत र लेखा अधिकृत मात्र खटाएको उहाँको भनाइ छ ।
सरकारले पहिलो पटक नगरपालिका कायम भएकाको हकमा उपसचिवस्तरका कार्यकारी अधिकृत एक, सिभिल, कम्प्युटर ईन्जिनियर र नायव सुव्वा एक÷एक, सव इन्जिनियर र कार्यालय सहयोगी दुई÷दुई जना गरि नौ जना कर्मचारी रहनु पर्ने व्यवस्था गरेको छ ।
गाउँपालिकामा पनि उपसचिवस्तरका कार्यकारी अधिकृत एक, सिभिल, कम्प्युटर इन्जिनियर र नायव सुव्वा र लेखापाल एक÷एक जना तथा सिभिल सव इन्जिनियर र कार्यालय सहयोगी दुई÷दुई जना गरि नौ जना नै कर्मचारी हुनु पर्ने प्रावधान तय गरे पनि गाउँपालिकाको हकमा कार्य सम्पादनमा निकै समस्या परिरहेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले बताउनुभयो ।
नगरपालिकाको प्रत्येक वडामा एक÷एक जना वडा सचिव, प्रशासन तथा लेखा सहायक र कार्यालय सहयोगी रहनु पर्ने परिपत्र रहेको छ । बागलुङकोे हकमा हाल साविकको बागलुङ नगरपालिकामा साविककै कर्मचारीले काम चलाउने बाहेक अन्य तीन नगरपालिका र ६ वटा गाउँपालिकामा कर्मचारी नपुग्ने भएको स्थानीय विकास अधिकारी आचार्यको भनाई छ । जिल्लामा रहेका कर्मचारीको संख्या अद्यावधी, कार्यालयको अवस्था लगायतका विषयमा सुक्ष्म अध्ययन गरी साउन पहिलो सातादेखि कर्मचारी व्यवस्थापनको कामलाई तिव्रता दिने स्थानीय विकास अधिकारी आचार्यले बताउनुभयो ।










