बागलुङ, १९ असार
स्थानीय तह निर्वाचन सम्पन्न भएको महिना दिन बढी वितिसक्दा पनि बागलुङका आधिकाशं उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाएका छैनन ।
मतपरिणाम घोषण भएको ३५ दिन भित्र चुनावी खर्च निर्वाचन कार्यालयमा बुझाउने पर्ने व्यवस्था भए पनि बागलुङका अधिकांस उमेदवारले खर्च विवरण नदिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बागलुङमा बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा एक हजार ४ सय ७० जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये बिहीबारसम्म ५ सय ८६ जना उम्मदेवारले मात्र जिल्ला निर्वाचन कार्यालयमा आफ्नो खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकृत श्याम कुमार थापाले जानकारी दिनुभयो । गाउँ तथा नगरपालिकाका उम्मेदवारहरुको खर्च विवरण बुझाउने समयसिमा सकिएपनि गाउँ तथा नगरकार्यपालिकाका उम्मेदवारहरुको समय रहेकोले अरु उम्मेदवारहरुले पनि खर्च विवरण बुझाउन सक्ने जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख बाबुराम आचार्यले बताउनुभयो ।
निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार अथवा तिनका प्रतिनिधिले निर्वाचन परिणाम सार्वजनिक भएको मितिले ३५ दिन भित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था निर्वाचन आयोग ऐन २०७३ को दफा २५ मा स्थानीयतह निर्वाचन ऐन २०७३ को दफा ६४ मा उल्लेख भएता पनि अहिलेसम्म पाँच सय ८६ उम्मेदवारले मात्र बुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जानकारी दिएको छ ।
निमित्त जिल्ला निर्वाचन अधिकारी आचार्यले भन्नुभयो–‘स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आएको एक महिना भइसक्दा पनि स्थानीय तहमा प्रतिनिधि हुन उम्मेदवारी दिएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु धेरैले निर्वाचन कार्यालयमा खर्च विवरण नै पेश नगरेको तथा चासो राख्न समेत आएका छैनन् ।
आयोगले तोकेको ढाँचामा निर्वाचन परिणाम सार्वजनिक भएको ३५ दिन भित्र खर्चको विवरण बिल भपाई सहित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने भएपनि अहिलेसम्म खर्च विवरण बुझाउने केहीले खर्च रकम बुझाएपनि त्यसको बिल समेत पेश गरेका छैनन् । विहीबारसम्म जिल्लाभरबाट माले र संघिय समाजवादी फोरमले कुनै खर्च विवरण बुझाएको छैन ।
‘हामीले पटक–पटक फोन गरेर खर्च विवरण बुझाउनको लागि आग्रह गरेका छौं’ निमित प्रमुख आचार्यले भन्नुभयो–‘उम्मेदवारहरु टाढा भएकोले ढिलो हुन पुगेको होला ।’ हालसम्म खर्च विवरण बुझाएका मध्ये सबै भन्दा धेरै खर्च विवरण बुझाउने ढोरपाटन नगरपालिकामा एमालेका तर्फदेखि मेयर पदका उम्मेदवार देवकुमार नेपाली रहनुभएको छ । उहाँले ४ लाखको चुनावी खर्च विवरण बुझाउनुभएको छ । सबै भन्दा कम खर्च तमानखोला गाउँपालिकामा काँग्रेसबाट उपाध्यक्षमा उम्मेदवारी मानसरी शेरचनले ५ हजार खर्च गरेको विवरण पेश गर्नुभएको छ ।
यस्तै बागलुङ नगरपालिकामा एमालेका तर्फदेखि मेयरका उम्मेदवार बन्नुभएका जनराज पौडेलले एक लाख एक हजार १ सय ५७ रुपैयाँ र नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार बन्नुभएका बसन्त कुमार श्रेष्ठले ३ लाख ८४ हजार ५५ रुपैयाँको खर्च विवरण पेश गर्नुभएको । यस्तै उपमेयरमा राप्रपाका सुरेन्द्र खड्काले १ लाख ५० हजार १७ रुपैयाँ र काँग्रेसकी सकुन्तला शर्माले १ लाख ४० हजार रुपैयाँको खर्च विवरण पेश गर्नुभएको छ ।
यस्तै काँठेखोला गाउँपालिकामा अध्यक्षमा उमेदवार एमालेका अमर बहादुर थापाले १ लाख ७१ हजार र काँग्रेसका होम बहादुर हमालले १ लाख ४३ हजार ४ सय रुपैयाँको खर्च विवरण पेश गर्नुभएको छ । यस्तै उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका अर्जुन केसीले ३ लाख ५० हजार र काँग्रेसकी ज्ञानकुमारी श्रीसले १ लाख ६७ हजार ९ सय ५६ रुपैयाँको खर्च विवरण पेश गर्नुभएको छ ।
तोकिएको समयभित्र नबुझाउनेलाई निर्वाचन आयोगबाट कालो सूचीमा राखिने भएकाले उम्मेदवारहरुलाई त्यसतर्फ सचेत हुन निर्वाचन कार्यालय बागलुङले बताएको छ ।
३ सय ३४ को जमानत जफत
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका ३ सय ३४ जनाको जमानत नै जफत भएको छ । काँठेखोला गाउँपालिकामा २३, गल्कोट नगरपालिकामा २०, जैमिनी नगरपालिकामा ५५, ढोरपाटन नगरपालिकामा ४७, बागलुङ नगरपालिकामा ४६, तमानखोला गाउँपालिकामा ८, ताराखोला गाउँपालिकामा ३३, निसीखोला गाउँपालिकामा ६३ र बरेङ गाउँपालिकामा २ जनाको जमानत जफत भएको हो ।










