
बागलुङ, १५ असार
१४औं धान दिवश बागलुङमा पनि मनाइएको छ । जिल्ला कृषि विकास कार्यालय र मिर्मिरे कृषि सहकारी संस्थाको आयोजनामा बानपा ३ स्थित पावरहाउस नजिकै धुमधामका साथ दिवश मनाइएको हो ।
जिल्लाको ५ हजार ९ सय ९५ हेक्टर जमिनमा गरिने धानखेतीबाट बार्षिक १९ हजार ४ सय ८४ मेट्रिक टन धान उत्पादन हुने गरेको बरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बताउनुभयो । जिल्लामा प्रति हेक्टर ३ दशमलब २५ मेट्रिकटन धान उत्पादन हुने गरेको तथ्यांक समेत उहाँले जानकारी दिनुभयो । कृषि विकास कार्यालयले साविकको बानपा खहरे क्षेत्र सहित हटिया, हरिचौर, ग्वालीचौर, कुश्मिसेरा, नारायणस्थान लगायतलाई धानको पकेट क्षेत्रको रुपमा लिएको छ । ती स्थानमा धान बालीका सबै पक्षलाई उजागर गर्दै उत्पादन बढाउने अभियान थालिएको पनि उनले जानकारी दिनुभयो ।
दुईबाली धानको बिस्तार, आर्थिक समृद्धिको आधार भन्ने नारा सहति मनाइएको दिवशको अवसरमा सरोकारवाला, राजनीतिक दल समेतले सहभागि भएर उत्पादन बढाउने अभियानमा सहकार्य गर्ने प्रतिवद्धता पनि जनाए ।
एशियामा बस्ने मानिसको आडिलो खानाको रुपमा धानबाली प्रख्यात छ । खाद्य तथा पोषण सुरक्षाको दृष्टिले पनि धान आवस्यक पर्ने बालीको रुपमा चिनिन्छ । मानिसलाई आवस्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलबाट पाइएको समेत आचार्यले जानकारी गराउनुभयो । संसारको १६ करोड ३२ लाख हेक्टर क्षेत्रफलमा लगाइने धानबाट ७४ करोड ९ लाख मेट्रिकटन उत्पादन भैरहेको छ । त्यो मध्ये ९० प्रतिशत उत्पादन र खपत पनि एशियामै हुने गरेको हो ।
नेपालको कुल ग्राहस्थ उत्पादनको २९ दशमलब ४ प्रतिशत हिस्सा पनि कृषि क्षेत्रले ओगटेको पाईन्छ । धानबाटै नेपालको ६० प्रतिशत बढी जनसंख्या आश्रित छन् । तसर्थ धानखेतीलाई दुई बालीको रुपमा विकास गर्न सकेमा आर्थिक रुपमा पनि सबल हुने तथा खाने अन्नको पनि पर्याप्तता हुने बताइएको छ । नेपालले हरेक बर्ष १ दशमलब ५ अर्व रुपैयाँको धान आयात गरिरहेकोले उक्त रकम बचाउन पनि उत्पादन बढाउनुपर्नेमा सरोकारवालाको आग्रह थियो ।
धान दिवशको अवसरमा आयोजित कार्यक्रममा बागलुङका सहायक प्रजिअ धु्रव गिरीले उत्पादकत्व बढाएर नेपालीको आर्थिक अवस्था सुधार गर्न सकिने बताउनुभयो । स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यको अध्यक्षता, कृषि प्रसार अधिकृत विप्लबप्रसाद अधिकारीको संचालन र बरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा कृषि विकास मन्त्रालयका बरिष्ठ कृषि प्रसार अधिकृत रविन्द्र सुवेदी, राजनीतिक दलको तर्फबाट माओवादी केन्द्रका कुमार विक्रम क्षेत्री, मिर्मिरे सहकारीका कोषाध्यक्ष थानेश्वर सुवेदी लगायतले बोल्नुभएको थियो । उक्त स्थानमा किसान, कर्मचारी र अन्य सामाजिक क्षेत्रका अगुवाले हिलो खेल्ने तथा धान रोप्ने गरेर दिवश मनाएका थिए ।











