
बागलुङ, १४ असार
यातायात व्यवस्था कार्यालय धौलागिरि बागलुङले ‘स्मार्ट ड्राईभिङ लाईसेन्स’ वितरण कार्य सुरु गरेको छ ।
कार्यालयले पहिलो चरणमा २० जनालाई सवारी चालक अनुमती पत्र प्रदान गर्दै स्मार्ट लाइसेन्सको सुरुवात गरेको हो ।
झण्डै ४ बर्षदेखि रोकिएको सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण प्रक्रियालाई यातायत व्यवस्था विभागले नयाँ मापदण्डका आधारमा गत पुष महिनामा सुरु गरेको थियो । अहिले वितरण सुरु गरेको स्मार्ट लाइसेन्स विदेश गएर पनि सहज रुपमा प्रयोग गरी सवारी चलाउन सकिने भएकाले राख्दा सुरक्षित रुपमा राख्न कार्यालयले आग्रह समेत गरेको छ ।
उक्त लाइसेन्सको चिपबाट लाइसेन्स सक्कली भए नभएको पत्ता लगाउन सकिने व्यवस्था मिलाइएको छ । चिप हेर्ने मेसिन ट्राफिक कार्यालय र अञ्चल प्रहरी कार्यालयलाई वितरण गरिसकेकाले बताइएको छ । सर्वप्रथम गण्डकी र धौलागिरि अञ्चलबाट सुरुवात गरेर अन्य स्थानमा पनि सुरु गर्ने लक्ष्य राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो ।
यसैगरी लाइसेन्स वितरणमा प्राविधिक समस्या नआएमा घरघरबाटै निवेदन दिन सक्ने गरी व्यवस्था मिलाउने कार्यालयले जनाएको छ । पुषमा सुरु भएर बैशाख ५ गतेसम्म लाइसेन्स वितरण गरेको कार्यालयले स्थानीय तहको निर्वाचन पछि पुनः स्थगित गरेको थियो । अब प्रत्येक महिना लाइसेन्स वितरण गर्ने गरी तालिका निर्माण गर्ने कार्यालयका लाइसेन्स वितरण फाँटका प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
स्मार्ट लाइसेन्सको निवेदन दिएर ट्रयाल लिएपछि विभागले नै कार्ड बनाएर पठाउने भएकाले लाइसेन्स लिनका लागि कम्तिमा २ महिना लाग्ने बताइन्छ । विभागका महानिर्देशक रुपनारायण भट्टराईले चार पांग्रे सवारी चालक अनुमति पत्र वितरणका लागि जग्गा खरिदको प्रक्रिया अगाडी बढाउन कार्यालयलाई निर्देशन दिनुभएको छ ।
साँघुरो सडक, यातायातको चाप बढि भएकाले जिल्लामा दुर्घटना न्युनिकरणका लागि अनुगमनको पाटो प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाले कर्मचारीको क्षमता विकासका लागि तालिम आवश्यक रहेको भन्दै सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न आग्रह गर्नुभयो । यस्तै गरी कार्यक्रमका सहभागीहरुले बागलुङमा ई–रिक्साको लाइसेन्स खुलाउन समेत माग गरेका छन् ।
स्मार्ट लाइसेन्स वितरण कार्यक्रममा विभागका प्राविधिक डाइरेक्टर प्रेमकुमार सिंहले ग्रामिण सडक, यात्रुको चाप, यातायातका साधनको संख्यालाई मध्यनजर गर्दै काम गर्नुपर्ने बताउनुभयो । सो अवसरमा नायव सुव्वा रामप्रसाद उपाध्यायले कार्यालयको समस्याका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन बाबुराम सुवेदीले गर्नुभएको थियो ।










