
बागलुङ, ८ असार
बागलुङमा बिहिबारदेखि जननिगरानी साप्ताहिक पत्रिकाले प्रकाशन आरम्भ गरेको छ ।
गुहेली संचार सहकारी संस्थाद्वारा व्यवसायिक पत्रकारिता लोकतन्त्रको आधार, सम्वृद्ध र विकासको साझेदार’ भन्ने नाराका साथ प्रकाशनमा आएको पत्रिकाको विमोचन काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले गर्नुभएको थियो ।
विमोचन पछि बोल्दै अध्यक्ष थापाले संचार र विकास एक आपसको परिपुरक भएकाले स्थानीय तहबाट प्रकाशित हुने पत्रिकाले विकास निर्माणका गतिविधि र जनताका आवाजलाई निरन्तर उठान गर्नुपर्ने बताउनुभयो ।
स्थानीय सरकार गठन भए पश्चात जनताले अधिकतम चासोका साथ ग्रहण गरेको बताउँदै उहाँले जनताको भवना र स्थानीय प्रशासनबीचको समन्वय संचार संस्थाले गर्नुपर्नेमा जोडदिनुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले स्थानीय तहबाट प्रकाशित हुने पत्रपत्रिकाले स्थानीय गतिविधिलाई बढी प्रथामिकता र समाचारका विषय बनाउनुपर्नेमा जोड दिनुभयो । विगत केही समय यता अधिकास समाचारका विषयवस्तु व्यक्तिका भाषण केन्द्रीत र औपचारिकतामा सिमित हुने गरेको प्रति लक्षित गर्दै अध्यक्ष शिरीषले साप्ताहिक पत्रपत्रिकाले जीवन्त समाचार र खोज समाचालाई प्रथामिकता दिनुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले लोकतन्त्रलाई बलियो र जनताले महसुस गर्ने गरी स्थानीय तहलाई निरन्तर खबरदारी पत्रकारिता मार्फत हुनुपर्नेमा जोडदिएका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैकका संचालक समिति सदस्य रामबहादुर जिसी, काठेखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष खडक थापा, २ का अध्यक्ष विद्यापति शर्मा, ३ का अध्यक्ष याम श्रीस, ६ का अध्यक्ष युक्तप्रसाद कँडेल, काठेखोला गाउँ कार्यापालिका सदस्य टिका संगम विक, भीमापोखरा युवा क्वलका कार्यवहाक अध्यक्ष मनीभद्र शर्मा, प्रेस सेन्टरका केन्द्रीय सदस्य कोपिला कँडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष गोविन्द भण्डारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, सम्पादक नवीन शिशिरको स्वागत र कोषाध्यक्ष प्रसाद थापाको संचालनमा सम्पन्न भएको थियो ।
सहकारीले खबरले अनलाईन पनि संचालन गरिरहेको छ ।















