
बागलुङ, ५ असार
बागलुङमा सोमबार ‘डा.महावीर पुनलाई हाम्रो साथ अभियान’ शुरु गरिएको छ ।
राष्टिय आविष्कार केन्द्र निर्माणका लागि सामाजिक अभियन्ता पुनले शुरु गरेको महादान अभियानमा सहयोग पु¥याउने उद्धेश्यले अभियान शुरु गरिएको हो ।
अब तिन महिना जिल्लामा आर्थिक संकलन अभियान गरेर संकलित रकम केन्द्र स्थापनाका लागि प्रदान गरिने अभियानका संयोजक सोम शर्माले बताउनुभयो ।
अभियानको शुभारम्भ पछि बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहनुभएका पुनले समग्र देशको विकासका लागि आविष्कार केन्द्र स्थापना गर्न लागिएको बताउनुभयो । ‘मैले साना तिना कामहरु १ सय भन्दा गाउँहरुमा त गरे, तर त्यसले सेवा बाहेक ठुलो समृद्धि हासिल गर्न सक्दैन रहेछ,’ उहाँले भन्नुभयो, ‘देशको दिगो विकास र समृद्धिका लागि दक्ष जनशक्ति उत्पादन गर्न जरुरी छ, यही सोचका साथ आविष्कार केन्द्र स्थापनाका लागि महादान अभियान शुरु गरेका हौ ।’
हाम्रो जिम्मेवारी हाम्रो अभियान युवा समूहको आयोजना तथा बागलुङ उद्योग बाणिज्य सघं र नेपाल पत्रकार महासंघ बागलुङको सहकार्यमा भएको कार्यक्रममा एक घण्टा भन्दा बढी सम्वोधन गर्नुभएका पुनले आविष्कार केन्द्रका लागि पटक पटक दोहोराएर माग्न नआउने बताउनुभयो । ‘हामी पटक पटक अरु जस्तो माग्न आउदैनौ, यो चन्दा पनि होइन, उहाँले भन्नुभयो, यो महा अभियान हो, राष्ट्रका लागि महादान हो ।’
आविष्कार केन्द्रका लागि जनताले ३ वस्तुको दान दिन सक्ने उहाँको भनाई थियो । पहिलो बुद्धि दान, दोश्रो आर्थिक दान र तेश्रो समय दान गर्न सक्नुहुन्छ, सामाजिक अभियन्ता पुनले भन्नुभयो, ‘अहिले देश बिदेशमा अभियान चलेको छ, तपाईहरुले पनि साथ दिनुस् ।’ उहाँले अनुसन्धान र विकासको प्रतिफल लामो समयमा आउने भन्दै हरेक देशमा सरकारले कम्तिमा पनि कुल ग्राहस्थ उत्पादनको १ प्रतिशत रकम आविष्कार केन्द्रमा दिनु पर्ने बताउनुभयो । चार बर्ष पहिले देखि नेपाल सरकारका मन्त्री र कर्मचारीहरुले मिठो कुरा गरेर भुलाएको दावी गर्दै सरकारसँग मिलेर काम गर्ने र देशले यसको महत्व बुझेपछि राष्ट्रलाई हस्तान्तरण गर्ने प्रष्ट पार्नुभयो । जापान, अमेरिका, कोरिया लगायतका विभिन्न देशमा ५० बर्ष पहिले आविष्कार केन्द्र खोलेर देश बिकास तिव्र गतिमा गरेको उहाँको भनाई थियो ।
कार्यक्रमका अवसरमा समाजसेवी लक्ष्मण श्रीले मन्तव्य सहित ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।
कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषको स्वागत र हाम्रो जिम्मेवारी हाम्रो अभियान युवा समूहका संयोजक सोम शर्माको संचालनमा सम्पन्न भएको थियो ।
समहुले महाविर पुनलाई सहयोग गर्न चाहने महानुभावहरुले इमेज सहकारी संस्था लि. बागलुङको खाता नम्बर १०४०३०१०००४१८२ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने जनाएको छ ।










