शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण

सन्दीप खत्री बागलुङ, १ बैशाख / धौलागिरि कला तथा साहित्य मञ्चको आयोजनामा नव वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । मञ्चले बागलुङमा कार्यक्रममा विश्व व्यापी अनलाईन नेपाली गजल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राज्ञ बूँद रानाले मञ्चले नयाँ प्रयोग गरेको बताए । उनले परम्परागत मूल्याङ्कन पद्धतीलाई बदल्दै नयाँ प्रयोग गरि गजल मूल्याङ्कन थालनी गरेकोमा समेत निर्णायक मण्डललाई धन्यवाद दिए । छोटो समयमा मञ्चले पाएको सफलता प्रशंसनीय भएको भन्दै उनले आगामी दिनमा समेत नयाँ नयाँ कार्यक्रम गर्दै जानका लागि शुभकामना दिए ।
अनलाईन मार्फत रचनाहरु संकलन गरिएको थियो । संकलन भएका दुई सय गजल मध्येबाट उत्कृष्ठ १० मा पर्नेलाई प्रमाणपत्रले सम्मान गरिएको थियो उत्कृष्ट पाँच पर्न सफल भएका स्रष्टाहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा प्रथम भएका अविनाश सापकोटा, द्वितीय विजय योजित, तेस्रो प्रमोद थापा र सान्त्वना हुन सफल प्रदीप रोदन र लक्ष्मण संगमलाई क्रमशः ७ हजार ५ हजार, ३ हजार र एक हजार पाँच सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
मञ्चका पूर्व उपाअध्यक्ष कार्यक्रम संयोजक जयन्ती सरगमको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दी, बागलुङ र पर्वतका साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा साहित्यकार प्रेम छोटा, निर्णायक मण्डल सदस्य आवाज शर्मा, काजि रोशन, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस लगायत २ दर्जन साहित्यकारहरुले शुभकामना मन्तव्य तथा रचना बाचन गरेका थिए । मञ्चका पूर्व महासचिव ऋदमा श्रीको स्वागत मगर प्रेमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।